logo
२०८१ बैशाख ५ बुधवार



अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानमा संसद् विघटनको सिफारिस

अन्तर्राष्ट्रिय |


अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानमा संसद् विघटनको सिफारिस
तस्बिर बीबीसी


इस्लामावाद, चैत २० गते। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गर्नुभएको छ। उहाँले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केहीबेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो।

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उहाँले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिनुभयो। उहाँले संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्न सिफारिस गरिएको बताउनुभयो।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नुभयो। पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नुभएको छ। उहाँले यसअघि शनिबार राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन आग्रह गर्नुभएको थियो।

विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिनुभएको थियो। उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ। खानमाथिको अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा छलफल हुने कार्यक्रम तय भएको थियो।

उहाँले आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीले चरित्र हत्या गरिरहेको आरोप पनि लगाउनुभयो। ‘म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभएको छ। रासस/एएफपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?