महिलामाथि हुने हिंसामा के पुरुष दृष्टिकोण नै दोषी हो कि अन्य कारण पनि छन् ? यहाँहरूलाई के लाग्छ ?
साह ः खासमा नेपाली समाज र राज्य पितृसत्तात्मक संरचना र सोचमा आधारित छ । माथिदेखि तलैसम्म यसको प्रभाव छ । यो सोचले एउटा अवधारणा निर्माण गरेको छ । महिला कमजोर हुन्छन्, भोग्नका लागि प्रयोग गर्ने वस्तु ठानिन्छ । यो सोच नै गलत छ । नीति निर्माण तहमा, अन्य सबै पहुँचमा महिलामाथि नियन्त्रण छ । साधन–स्रोतमा बाधा गरिएको छ । सबभन्दा त विचारधारात्मक दोष छ । महिलालाई हेर्ने दृष्टिकोण निर्माणमा पनि समाज र पितृसत्तावादी सोचको हाबी छ ।
तामाङ ः अहिले १६ दिने अभियान चलिरहेको छ । महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक छ । महिलामा ठूलो परिवर्तन त भएको छ, महिलाको चेतनास्तरमा वृद्धि भएको छ । हिजो मतदातामात्र थिए महिला, अहिले उम्मेदवार भएका छन् । हिजो पुरुषलाई मात्र पछ्याउँथे, अहिले नेतृत्व गर्ने तहमा छन् । तर महिलालाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ, जुन अहिले पनि हुन सकेको छैन । महिला हिजो घरसत्ता चलाउँथे, अब राज्यसत्ता चलाउने भएका छन् । अब उनीहरू नेतृत्वकर्ता पनि हुन् भन्ने बुझ्नुपर्छ । हिजो उनीहरू पीडित थिए, अब परिवर्तनका शक्ति बनेका छन् । महिलाले अधिकारमात्र खोजेको छैन, जिम्मेवारी पनि खोजिरहेको छ । यसरी बुझ्दा राम्रो होला ।
अन्सारी ः दुवैको भनाइमा मेरो सहमति छ । दृष्टिकोण निर्माणमा मिडियाको भूमिका हुनुपर्छ । समाजमा जनमत निर्माण गर्ने, एजेन्डा स्थापित गर्ने काम पनि मिडियाले नै गर्छ । त्यसैले सकारात्मक दृष्टिकोण निर्माणमा पनि मिडियाले भूमिका खेलिदिनुपर्छ । उदाहरणका लागि सफा छाला र सिमेन्टको विज्ञापन हेरौँ, जहाँ महिलालाई मात्रै प्रयोग गरिएको छ । महिलाप्रति हेराइको कुरा अरू पनि छन् । जब दृष्टिकोणको कुरा आउँछ, तब संस्थाको कुरा आउँछ । समाजमा महिलामाथि सामूहिक बलात्कार हुन्छ तर सँगसँगै बलात्कार गर्नेलाई सामाजिक बचावटको बहस सुरु हुन्छ । उदाहरणका लागि पाँच वर्ष अगाडिको एउटा सामूहिक बलात्कारको घटनामा पीडक शक्तिशाली व्यक्ति थिए, अदालतमा होइन भन्ने बयान दिए । उनको सामाजिक प्रतिष्ठा जोडियो, पीडितको प्रतिष्ठा होइन । भर्खर धनगढी अदालतमा रहेको मुद्दामा बयान फेरेकोमा महिलालाई सजाय तोकियो । यो हो दृष्टिकोणको पक्ष । जहाँसम्म परिवर्तनका शक्ति, फाइटरको कुरा छ, महिला नेतृत्वमा कति आउनुभएको छ ? हाम्रो अवस्थालाई गहिरिएर हेरौँ, सतही रूपमा हैन । रौतहटको एउटा गाउँमा ३५ जना किशोरीहरू इँटाभट्टामा काम गरेको मैले देखेकी छु । लामाबगरमा विद्यालयमा शिक्षक नै छैनन्, बालिकाले पढ्न पाएका छैनन् । गाउँघरको जनसङ्ख्यालाई हामीले उपेक्षा गरेर सहरी जनसङ्ख्यालाई मात्र मूल्याङ्कन गर्दा अन्याय हुन्छ । हामीले आधा जनसङ्ख्या, परिवर्तनका संवाहकलाई बेवास्ता गरेर अगाडि बढ्न खोज्दा पछाडि पर्छौं ।
महिला हिंसामा पुरुषको मात्र भूमिका छ कि महिला स्वयम्को पनि छ ? महिला र पुरुषबीच सन्तुलित भूमिका कसरी हुन सक्छ ?
साह ः महिला र पुरुषको भूमिका र जिम्मेवारी समाजले तय गरिदिएको छ । परिवारले तय गरिदिएको छ । त्यसको छायाँ देशमा परेको छ । महिलाले मात्र किन खाना पकाउँछन् ? यो समाजले निर्माण गरिदिएको हो । बच्चाको स्याहार गर्ने, खाना पकाउने, घरको सरसफाइ गर्ने धारणा समाज र परिवारले नै निर्माण गरिदिएको हो । यो एकैचोटि परिवर्तन सम्भव छैन । बिस्तारै परिवर्तन हुँदै गएको छ । अझ ७० प्रतिशत महिला गाउँमा बस्नुहुन्छ, त्यसैले परिवर्तन अकस्मात् हुँदैन । गाउँघरमा अझै महिलालाई नोकरीमा लगाउने प्रचलन छैन । उसको कमाइ खानुहुन्न भन्ने सोच छ । महिलाको लवाइ–खवाइको अवधारणा पनि समाजले निर्माण गरिदिएको छ । धर्मले पनि महिलाप्रतिको धारणा बनाइदिएको छ । श्रीमान्, सन्तानको दीर्घायुका लागि महिलाले नै व्रत बस्नुपर्ने किन ? पुरुषले किन
नगर्ने ? यी यावत् प्रवृत्ति यथावत् छ । अर्को परम्परा, संस्कार, संस्कृतिले पनि महिलाको भूमिका र जिम्मेवारी तय गरिदिएको छ ।
तामाङ ः कतिपय ठाउँमा बोल्छौँ काम गर्दैनौँ । कतिपय ठाउँमा काम गर्छौं तर बोल्दैनौँ । युवा पुस्तालाई हेर्दा अहिले केही फरक देखिन्छ । हिजो कक्षाकोठामा छात्र एकातिर, छात्रा अर्कोतिर बस्ने चलन थियो । अहिले छात्र र छात्रा मिलेर, मिश्रित भएर बसेको देखिन्छ । त्यसैले परिवर्तन आइरहेको छ । गाउँघरमा अझै त्यसो नहोला तर सहर–बजारमा त्यस्तो भइसकेको छ । पुरुष भनेका लडाकु, जित्नैपर्ने, रवाफ रहने हिजोको बुझाइ थियो तर अहिले त्यस्तो छैन । बिस्तारै परिवर्तन आएको छ । सासुले पनि छोरीलाई माया गर्ने, बुहारीलाई दुःख दिने प्रवृत्ति थियो, त्यसमा पनि बिस्तारै परिवर्तन आइरहेको छ । पुरुष भन्नेबित्तिकै सबै खराब पनि भन्न सक्दैनौँ । अब महिला अलिकति पुरुषजस्तो हुनुपर्ने र पुरुषहरू अलिकति महिलाजस्तो हुनुपर्ने देखिन्छ । सन्तुलनका लागि त्यो आवश्यक छ ।
अन्सारी ः भूमिकाको कुरा गर्दा महिला र पुरुषलाई जोड्ने भूमिका पनि मिडियाकै हो । पुरुषले खाना पकाउनुहुँदैन, बच्चा स्याहार्नुहुँदैन भन्ने आमबुझाइ त हो तर बिस्तारै परिवर्तन भइरहेको छ । केटाहरू समूहमा कुरा गर्दा महिलाकै विषयमा गफ गरेको देखिन्छ । तर, महिलाहरू सामूहिक रूपमा बस्दा पुरुषबारे हैन, लुगा, गहना, घरपरिवार व्यवहारको विषयमा कुरा हुन्छ । यही फरक छ, महिला र पुरुषमा । सबै कुरा राम्रो देखाउने होड छ । खराब कुरा कोही देखाउन चाहँदैन । सकारात्मक कुरा देखाउन जरुरी छ । गलत कुरालाई ढाक्नेभन्दा पनि खत्तम गर्नेतर्फ जानुपर्छ । महिला हिंसाको मात्र कुरा कति गर्ने, नकारात्मक कुरामात्र कति गर्ने ? सामाजिक सञ्जालमा हेर्दा पनि नकारात्मक कुरा बढी देखिन्छ । हाम्रो समाज (मुस्लिम) मा महिनावारी बारिँदैन । अरू समाजमा किन बारिन्छ ? बार्नुपर्छ भन्ने कुरा कहाँबाट आयो ? सरसफाइबारे किन सिकाएनौँ ? किन बार्नुपर्ने प्रचलन चल्यो ? मैले छाउपडीको कुरा गलत हो भन्नेबित्तिकै मुस्लिममा तलाक र चारवटा विवाह गर्ने प्रचलन छ भनेर टिप्पणी गर्ने गरिन्छ । तर तलाक गर्दा, चारवटा विवाह गर्दा मान्छे मर्दैन, छाउपडीका कारण मानिस मर्नुपरेको छ । दाइजोका कारण मानिस मर्नुपरेको छ । हो, यी कुरा फरक छन् । कार्यालयबाट कुनै विषयमा अध्ययन गर्न मिसन (अभियान) खट्यो भने पनि पुरुषमात्र जाने प्रचलन छ । महिलालाई होटलमा बस्न समस्या पर्छ भनेर पनि त्यसो गरेको भन्नुहुन्छ । के यो समाधान हो ?
कसैले ‘आईमाई भन्छ, कसैले नारी भन्छ, महिला, स्वास्नीमान्छे, फुच्ची, चेली’ पनि भनेको सुनिन्छ, खासमा के भन्दा उपयुक्त र सन्तुलन मिल्छ ? महिला आर्थिक सशक्तीकरणको विषय के हो ?
साह ः हाम्रो समाजमा पहिलादेखि महिलालाई होच्याएर बोल्ने प्रवृत्ति छ । केही दिनअघि शिवानीसिंह थारूले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभएको थियो । ‘चेली किन भन्ने, केटालाई चेला किन नभन्ने’ विषय उठाउनुभएको थियो । त्यसपछि यसमा बहस सुरु भएको हो । यद्यपि, सम्मानित शब्दको प्रयोग गर्दा नै राम्रो हुन्छ । परम्परागत थेगो, उखान टुक्कामा पनि महिलालाई होच्याउने गरिन्छ । हाम्रा परम्परागत उखान टुका र थेगो पनि होच्याउनेखालकै छन् । परिवार, समाज, काम गर्ने ठाउँमा पनि होच्याउनेखालको शब्द प्रयोग नगर्दा नै राम्रो हुन्छ । महिला भन्दा सबैभन्दा उत्तम हुन्छ । महिलालाई ‘मैला’ भनेर पनि उडाउने गरिन्छ, त्यसरी गर्न पाइन्न । युवकयुवती पनि सम्मानित शब्दावली नै हो । अङ्ग्रेजमा युथ भन्दा पुग्छ तर नेपालीमा भन्दा दुवै शब्द उच्चारण गर्ने प्रचलन हाम्रो छ । अहिले अपाङ्गता भएकाहरूलाई सम्बोधन गर्दा पनि सम्मानित शब्दावली प्रयोग गर्ने गरिन्छ । यो विषय मानवअधिकारसँग जोडिएको विषय पनि हो । महिलालाई मात्र होइन, सम्बोधन गर्दा पुरुषलाई पनि त सम्मान चाहिँदो रहेछ ।
महिला भन्नेबित्तिकै कमजोर हुन्छ भन्ने बुझाइ छ तर त्यो होइन । अहिलेको सागमा हेरौँ महिलाले नै धेरै स्वर्णपदक जित्नुभएको छ । कमजोर भए कसरी जित्नुहुन्थ्यो ? आर्थिक कुरा गर्दा उसको नाममा जग्गा जमिन छ कि छैन ? साक्षरता दर के छ ? उसको स्वास्थ्य अवस्था कस्तो छ ? राजनीतिक नेतृत्व कस्तो छ ? यी पक्षलाई मूल्याङ्कन गर्दा महिला सशक्तीकरणको मापन गर्न सकिन्छ । समग्रतामा महिलाको साक्षरता दर बढी देखिन्छ तर समुदायगत जाँदा मधेसी, मुस्लिम र पहाडमा दलित महिलाको साक्षर दर एकदम कमजोर छ । त्यसैले आर्थिक सशक्तीकरण हुन नसकेको सत्य हो । यसमा बहस पनि धेरै हुन सकिरहेको छैन । राज्यले राजस्व छुट दिएकै कारण अहिले महिलाको नाममा घर–जग्गा राख्ने प्रचलन छ तर निर्णय प्रक्रियामा सहभागिता गराइएको छैन ।
तामाङ ः पुरुष–पुरुष बस्दा कुरा गर्न सहज हुन्छ होला । बीचमा महिला आउँदा कुरा गर्न समस्या हुन्छ भन्ने बुझाइ हाम्रो छ । मलाई पनि पहिले पुरुष देख्दा रिस उठ्ने गथ्र्यो तर महिला–पुरुष त एक–अर्काका अभिन्न अङ्ग हुन् । समाजमा सँगै नबसी धरै छैन । छोरी मान्छेले दाँत देखाएर हाँस्दासमेत होच्याउने गरिन्छ । अरूको अगाडिबाट बाटो काट्दा निहुरेर जानुपर्ने प्रवृत्ति छ, जुन गलत छ । के शब्द उच्चारण गर्दा महिलालाई पोल्दैन, के भन्दा पुरुषलाई घोच्दैन, त्यसमा ध्यान दिनुपर्छ ।
जहाँसम्म महिलाको आर्थिक सशक्तीकरणको कुरा छ, अधिकारबाट वञ्चित गरेर महिलाले आर्थिक विकास गर्नै सक्दैनन् । अधिकार र सशक्तीकरण दुवै विषयसँगै लैजानुपर्ने विषय हो । सहरतिर महिलाले सिमाना तोड्दै छन् । हिजो ठूला गाडी चलाउने पुरुषमात्रै थिए । अहिले महिलाले पनि चलाउँछन् । अहिले महिला चालक, कन्डक्टर, हलो जोत्ने काम पनि महिलाले गर्न सुरु गरेका छन् । निर्णय प्रक्रियामा पनि अहिले महिला छन् । केही कुरा प्रकृतिले नै महिला पुरुषको फरकपन गरिदिएको छ । त्यसविरुद्धमा हामी जान सक्दैनौँ । पुरुष सबै कठोर छन् भन्ने होइन तर समाजले पुरुषलाई बलियो बनाइदिएको छ । यसलाई सन्तुलन कायम गर्नुपर्छ ।
अन्सारी ः के भन्दा ठीक हुन्छ, यो बुझाइको कुरा हो । भाषा भनेको ‘परसेप्सन’ हो । अरू केही पनि होइन । म सानो छँदा खेतमा काम गर्न जान्थेँ । खेतमा जाँदा मुस्लिम महिलाले घुँडामाथि नै लुगा लगाउने गर्छन् । गाउँको परिवेशमा आर्थिक सशक्तीकरण छ । खेत रोप्ने, जोत्ने, कटाइ सबै काम महिलाले गर्छन् । यो पनि आर्थिक सशक्तीकरणकै कुरा हो । खेतबारीमा उत्पादन महिलाले गर्ने, बजार जाँदा पुरुष जानुपर्ने प्रवृत्ति समाजमा छ । महिलाको सभ्यता बजारले निर्धारण गर्न थालेको छ । जुन ठीक होइन । हामी पछिको पुस्ताले अब यसमा अझ गम्भीर बन्नुपर्छ ।
महिला अधिकारका अभियान चलेको करिब छ दशक भयो, तथ्याङ्कले घटना घटाएको देखिएन किन होला ? महिला हिंसा महिलाबाट पनि भएको देखिन्छ, यसलाई कसरी लिनुहुन्छ ? समाधानको उपाय के होला ?
अन्सारी ः महिला हिंसाविरुद्धको अभियान चलाएको छ दशक हैन, तीन दशकजति भयो । खासमा सन् २०१० देखि नै यो विरुद्धको अभियान सडकमा आएको हो । आन्दोलन सुरु भएको छ दशक पुगेको होला तर ‘रियालाइजेसन’ (अनुभूति) को पाटो कमजोर छ । गर्भ बसेपछि नाता कायमको मुद्दा जसरी अदालतमा जान्छ, त्यसमा गम्भीर बनौँ । निर्मला पन्तको बलात्कारको घटनाले त्यत्रो इस्यु उठायो तर त्यसको सम्बोधन भयो त ? यो त एउटा घटनामात्र हो । भीआईपीले महिला हिंसा गर्दैनन् भन्ने होइन, धेरैले गर्छन् । कतिपय घटना बाहिर आउँछ, धेरै घटना बाहिर आउँदैन । सेक्स र रेप (बलात्कार) फरक विषय हुन्, एउटैमा मिसाएर हेर्न मिल्दैन । यो कुरालाई बुझाउनुपर्छ । महिलाले अझ बढी बुझ्नुपर्नेछ । बलात्कार घटनाको मुद्दा चलाउने सीमा तोकिएको छैन अरू मुलुकमा । मुद्दा चलाउन ३५ दिन, ६० दिन, वर्ष दिन विश्वमा कहीँ छैन । तर, हाम्रो यहाँ ३५ दिने सीमा निर्धारण गरिदिएको छ । यो पनि एककिसिमको विभेद हो । महिला आन्दोलन सहरकेन्द्रित छ, उच्च तहमा सीमित छ । गाउँघरका महिलालाई यसबारे जानकारी नै छैन । महिलाले ठेक्कापट्टा गर्न जान्दैनन् । दलको सिट किन्न सक्दैनन् । महिलाले भोट किन्न सक्दैनन्, पार्टीको उम्मेदवार महिला नहुने तर महिला उम्मेदवारमात्र महिला बनाउने गरिएको छ । त्यसैले कमजोर पद (उप) मा मात्र सीमित भए । मेयरमा किन आएनन्, उपमेयरमा किन सीमित भए ? यही हो कारण जस्तो लाग्छ मलाई । समाधानको कुरा गर्दा महिला आन्दोलनलाई तल्लो तहसम्म लैजान सक्नुपर्छ । सबैको आवाज सुनिनुपर्छ । यसमा सबैले ध्यान दिनुपर्छ ।
तामाङ ः हामी अहिले जे समस्याबाट गुज्रिरहेका छौँ, त्यो रातारात समाधान हुने देखिँदैन । १६ दिने अभियानको सिद्धान्त–तरिका हेर्दा यसरी समाधान हुने देखिँदैन । अभियान मनायो, बिर्सियोमात्र भइरहेको छ । हाम्रो समस्या भनेको सामूहिक अधिकारको हो । व्यक्तिगत अधिकारले समाधान हुँदैन । जनजाति समुदायमा अझ बढी महिला हिंसाका घटना भएको देखिन्छ, कारण जनचेतनाको अभाव नै हो । एकसे एक लेख रचना लेख्न सक्ने, अधिकारको कुरा गर्ने महिला घरमा चुप लागेर बस्न भएन नि । क्षमता भएका महिला नेतृत्वमा आउने साहस गर्नुपर्छ । महिलाको आधारभूत आवश्यकता पनि घरपरिवार र राज्यबाट पूरा हुँदैन भने महिला समस्यामा पर्ने त निश्चितै भयो । महिला देह–व्यापारमा लाग्ने, सर्कसमा लाग्ने, विदेश जानु कारण आधारभूत आवश्यकता पूरा नभएकै कारण हो । शक्तिमा पहुँच छैन महिलाको । आर्थिक अवस्थामा पहुँच छैन । नेतृत्वमा पहुँच छैन । यसमा मिडिया गम्भीर हुनुपर्छ । मिडियाले सकारात्मक भूमिका खेल्दा महिला नेतृत्वमा पनि आउँछन् र आर्थिक सशक्तीकरण पनि हुन्छ । तर, १६ दिने अभियान महिलाको मात्र होइन, पुरुषको पनि अभियान हो । बुझाइ महिलाको मात्र हो भन्नेजस्तो भयो । महिला हिंसा अन्त्य महिलाको भूमिकाले मात्र सम्भव छैन, त्यसमा पुरुषको सहभागिता पनि चाहिन्छ ।
साह ः १६ दिने अभियानले सबै महिलाको समस्या समाधान हुँदैन । यो उत्सवमात्र हो । यसको विडम्बना के छ भने यो अभियान केन्द्रमा सीमित छ । सबै तह र तप्कामा पुगेको छैन । समाधानका लागि नीति निर्माण तहमा महिला हिंसासम्बन्धी ऐन कानुन बन्नुपर्छ, भएको कानुनमा संशोधन हुनुपर्छ । कानुनबारे तल्लो तहमा सचेतना बढाउनुपर्छ । राज्य र मिडियाको भूमिका यसमा हुनुपर्छ । अर्को, महिला हिंसाको घटना ठाउँ र परिस्थितिअनुसार फरक छ । जात, क्षेत्र र ठाउँ परिवेशअनुसार फरक छ । मधेसमा दाइजो, छोरी भ्रुण हत्या, एसिड आक्रमण धेरै छ । अछामतिर छाउपडी प्रथा छ । काठमाडौँ उपत्यकामा चेलीबेटी बेचविखन समस्या विद्यमान छ । महिला हिंसासम्बन्धी चेतनामूलक जानकारी तल्लो तहसम्म पु¥याउनुपर्छ । यसबारे घरपरिवारबाट सिकाउनुपर्छ । शिक्षाका लागि पाठ्यक्रममा व्यवस्था गर्नुपर्छ । धेरै राम्रा कुरा पनि छन् । थारू आदिवासीमा महिलाप्रधान समाज छ । त्यो राम्रो पक्ष छ । त्यस्ता सकारात्मक पक्षलाई मिडियामा ल्याउनुपर्छ । त्यो अर्को समाजका लागि उदाहरण बन्न सक्छ । ऐन कानुनमात्र भएर पनि हुँदोरहेनछ, चेतनास्तर पनि बढाउनुपर्दोरहेछ । त्यसमा सबैले ध्यान दिऊँ ।
प्रस्तुति ः लक्की चौधरी
संयोजन ः सीता शर्मा÷शिवा तामाङ
तस्बिर ः शेखर चौलागाई