अबको दुई हप्ताभित्र जनवरी १ मा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ हुँदै छ । एक वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य सरकारको भए पनि नेपालमा रहेका होटल व्यवसायीहरूले २५ लाख पर्यटक राख्न सक्ने क्षमता आफूहरूसँग रहेको जनाउ दिनुभएको छ । नेपालको कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटिरहेका बेला त्यसमा वृद्धि गरी कम्तीमा १० प्रतिशत पु¥याउने सरकारी लक्ष्य देखिन्छ । यो लक्ष्य प्राप्तिका लागि महŒवपूर्ण आधार सिर्जना गर्न सक्ने भ्रमण वर्षको तयारी के–कस्तो रूपमा चलेको छ, व्यवस्थापनका चुनौती र समस्या के छन् ? आजको गोरखापत्र संवादमा नेपाल पर्यटन बोर्डका प्रमुख निर्देशक दीपकराज जोशी, होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी हुनुहुन्छ :
नेपाल भ्रमण वर्ष २०२० को तयारी के–कस्तो भइरहेको छ ?
जोशी : हामी पर्यटनका मुख्य स्रोतसम्म पुग्न खोजेका छौँ । नेपाल हिमालले भरिएको, पर्यटनका लागि गन्तव्य देश हो तर एडभेन्चर एक्टिभिटी (साहसिक पर्यटन गतिविधि) मात्र हुन्छन् भन्ने जडधारणा छ । खासमा, त्यतिमात्र होइन नेपाल । लुकेका धेरै स्रोत सम्पदा छन् । साँस्कृतिक सम्पदा, वन्यजन्तु, चाडपर्व, तरेली परेको भौगोलिक विधितता, जीवनशैली– यी सबैमा अझ बढी सम्भावना छ । यी सबै स्रोत सम्पदाको प्रचार–प्रसार नगर्दासम्म नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिन सकिँदैन । भ्रमण वर्षको मुख्य उद्देश्य नेपाललाई ‘लाइफ टाइम्स एक्सपेरियन्स’ का रूपमा स्थापित गर्न खोज्दै छौँ । अन्य उद्देश्य पनि सँगसँगै छन् । तयारीका हिसाबले चारवटा मुख्य क्षेत्रमा केन्द्रित छौँ । भ्रमण वर्ष र त्यसपछिको स्थितिलाई पनि स्थापित गर्नेगरी काम गरिरहेका छौँ । पहिलो– पूर्वाधार निर्माण, दोस्रो– नीतिगत र त्यसका प्याकेज, तेस्रो– आन्तरिक पर्यटन प्रवद्र्धन र जनचेतना वृद्धि र चौथो– अन्तर्राष्ट्रिय प्रवद्र्धन । संसारका मुख्य बजारमा ‘प्रि–लन्चिङ’को काम सकेका छौँ । प्रवद्र्धनमा पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र सरकार छन् । निजी क्षेत्रको सहकार्य चलिरहेको छ । उपभोक्ताकेन्द्रित पनि काम अघि बढेका छन् । डिजिटल प्लेटफर्ममा पनि प्रचारको काम अघि बढाएका छौँ । गैरआवासीय नेपाली सङ्घ, राजदूतावासमार्फत पनि त्यो काम भइरहेको छ । चीनका राष्ट्रपति नेपाल आउँदा अनि दक्षिण एसियाली खेलकुदमा पनि भ्रमण वर्षलाई प्राथमिकतामा राख्यौँ । तालिम र सामाजिक सञ्जालको प्रचारलाई अघि बढाएका छौँ । गुणस्तरीय पर्यटन विकासका लागि गतसाल १० हजार जनशक्तिलाई तालिम दियौँ । यो वर्ष २० हजारलाई तालिम दिइरहेका छौँ । पर्यटनसँग सम्बन्धित नेपालस्थित सङ्घ संस्थाहरूसँग पनि सहकार्य गरेर काम गरिरहेका छौँ । सरकारको तर्फबाट पर्यटनलाई दिन सकिने छुट र सुविधाबारेमा तयारी भएको छ । सङ्घीय प्रणालीका सन्दर्भमा विभिन्न ठाउँमा शुल्क उठाउने समस्याका विषयमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यको काम भइरहेको छ ।
पूर्वाधार सबैभन्दा ठूलो चुनौती हो । कनेक्टिभिटी र सडकको पूर्वाधार विकासमा बढी ध्यान दिएका छौँ । काठमाडौँमा थप दुईवटा हवाई सेवा डिसेम्बरमै थपिँदै छ । बाँकी पछि थपिँदै जानेछन् । लुम्बिनी विमानस्थल ५ अप्रिलमा काम सकिएर सुचारु हुने भनिएको छ । यसले पर्यटक बढाउन थप सुविधा हुन्छ । हामीलाई दैनिक १६ देखि १८ वटा जहाज उडान थप्नुपर्नेछ । मुख्य गन्तव्य जोड्ने सडकहरूको अवस्था त्यति राम्रो छैन, भौतिक पूर्वाधार तथा पर्यटन मन्त्रालय मिलेर सुधारको काम भइरहेको छ ।
शाह : हामी पनि पर्यटन बोर्डसँग नजिक रहेर, पब्लिक प्राइभेट पार्टनरसिपका आधारमा काम गरिरहेका छौँ । नेपालले २० लाख पर्यटक ल्याउने लक्ष्य लिएर काम गरिरहेको छ । यो ठूलो समस्या होइन । हामीसँग २५ लाख पर्यटक राख्ने क्षमता छ तर अहिले ५० प्रतिशत ‘अकुपेन्सी’ खेर गइरहेको अवस्था छ । कनेक्टिभिटी समस्या हो । २० लाख पर्यटकको वर्ष दिनको हिसाब गर्दा पाँच हजार ४८० जना पर्यटक एक होटलले राख्नुपर्ने देखिन्छ । यो सामान्य विषय हो । नेपाल भ्रमण गर्न आउने पर्यटकलाई खुसी पार्न यहाँको सरसफाइ चुनौती छ । एयरपोर्टमा ओर्लेपछि त्यहाँबाट होटलसम्म २० देखि ३० मिनेटमा पु¥याउनेगरी व्यवस्थापन गर्न सक्छौँ कि सक्दैनौँ ? आकाशमै जहाज होल्ड गर्नुपर्ने अनि सडक जामले दुई घण्टासम्म बाटोमै अल्झाउने हो भने समस्या पर्छ । प्लेनबाट झरेपछि एक डेढ घण्टा त ‘लगेज’कै लागि कुर्नुपर्ने समस्या विद्यमान छ । भिसा प्रक्रिया लामो छ । अरू देशले चार घण्टामा त्यो काम गर्छ भने हामीले चार÷पाँच दिन लगाइरहेका छौँ । चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा जसरी सरसफाइ र व्यवस्थापनको काम भएको थियो, के वर्ष दिनसम्म त्यसैगरी सरसफाइ र व्यवस्थापनको काम गर्न
सक्छौँ ? भ्रमण वर्ष सफल बनाउन त गर्नैपर्छ । लाइफ टाइम्स एक्सपिरियन्सको नारा एकदम राम्रो हो । त्यसका लागि हामीले के दिने ? पर्यटक वर्षमा एकपटक आउलान् या तीन वर्षमा आउला तर हाम्रो यहाँ त विविध चाडपर्व छन् । त्यसबारे पर्यटकलाई जानकारी गराउनुपर्छ । त्यसो गर्न सक्दा वर्षको १२ पटक नेपाल आउने वातावरण बन्न सक्छ । यो समय डिजिटल मार्केटिङको हो, विश्वका विभिन्न भाषामा हाम्रा स्रोतको प्रचार ग¥यौँ भने धेरै पर्यटक ल्याउन सक्छौँ ।
हामीसँग जे कनेक्टिभिटी छ, त्यसमा सुधार गरौँ । मेडिकल, खेलकुद, सिनेमा, सम्मेलन पर्यटनको पनि सम्भावना छ । त्यसको व्यवस्थापनमा ध्यान दिऊँ । सरकार, निजी क्षेत्र र नागरिक मिलेर होस्टेमा हैँसे गर्नुपर्छ । २० लाख पर्यटक त हवाइमार्गबाट मात्र आउने कुरा गरेका छौँ, सडकबाट पनि आउँछन् धेरै पर्यटक । आन्तरिक पर्यटक बढाउने प्याकेज पनि बनाउनुपर्छ । भ्रमणवर्ष आयो, गयो बनाउने होइन, प्रभावकारी बनाउनुपर्छ ।
लाइफ टाइम्स एक्सपिरियन्सेसका तयारी के–के छन् ? पर्यटक सङ्ख्या बढाउनेमा बढी केन्द्रित हौँ कि गुणस्तरीय पर्यटक ल्याउने तयारी पनि छ ? भ्रमण वर्षमा पर्यटकका मुख्य गन्तव्य कुन–कुन हुन सक्छन्, सरकारले सूची सार्वजनिक गरेको देखिएन नि ?
जोशी : लाइफ टाइम्स एक्सपिरियन्सेस (जीवनपर्यन्तका अनुभव) प्रवद्र्धनमा हामीले लोन्ली प्लानसँग मिलेर काम गरिरहेका छौँ । सजिलै जीवनमा गर्न नसक्ने अनुभवहरू गराउनु नै लाइफ टाइम्स एक्सपिरियन्सेस हो । यो अवसर मुस्किलले आउने गर्छ । कालीगण्डकी गहिरो खोँच हुनेमा साइक्लिङ, धार्मिक यात्राका विषय यसमा समेटिएका छन् । यसमा दुई हिसाबले काम गरिरहेका छौँ । भएका स्थानबारे प्रचार र बिकाउ गर्नेगरी काम भइरहेको छ । सन् १९९८ मा पनि हामीले त्यो प्रयास गरेका थियौँ तर हाम्रो छवि पदयात्राकै छ, अहिलेसम्म । अफ सिजनमा पनि पर्यटक बढून् भनेर पदयात्राबाहेकका अन्य पक्षमा जोड दिइरहेका छौँ । हाम्रो मौसमलाई पनि केन्द्रित गर्छौं, जस्तो कि चीनका लागि ‘विन्टर इज वार्म’ थिमलाई बढी प्राथमिकता दिएका छौँ । उनीहरूको नयाँ वर्ष फेब्रुअरीतिर पर्ने रहेछ । सबैभन्दा ठूलो समस्या कनेक्टिभिटीकै हो । भारतीय, युरोपियन र पाकिस्तान कम्पनीहरूमार्फत त्यहाँका विभिन्न समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर प्रचार गर्ने रणनीति छ । २० लाखको लक्ष्य छ तर त्योभन्दा बढी पर्यटक आऊन् भन्ने हाम्रो रणनीति छ । जुन क्षेत्रमा बढी खर्च गर्छन्, त्यही क्षेत्र प्रवद्र्धन गर्ने हो । जो घुम्न निस्क्यो र खर्च ग¥यो त्यसलाई पर्यटक भन्ने हाम्रो सामान्य बुझाइ छ । आएको पर्यटकले खर्च कम गरेको होइन, हाम्रा राजस्वमा चुहावट भइरहेको छ । राजस्व चुहावट नियन्त्रणका लागि डिजिटल रेकर्ड प्रणाली विकासमा राज्यको ध्यान जानुपर्छ । चीनमा ‘वी च्याट’बाट पैसा तिर्ने गरिन्छ तर हामीकहाँ अनलाइनमार्फत पैसा तिर्ने सेवामा चुनौती छ । हाम्रो सरकारको डिजिटल स्मार्ट डेस्कको क्षमता बढाउनुपर्छ । पहिले पर्यटकहरू पन्ध्र दिनसम्म होटलमै बस्थे, अहिले होमस्टेलगायतका ठाउँमा जाने वातावरण बनेको छ । नेपालको अर्थतन्त्रमा पर्यटकको योगदान कति छ भन्ने कुरा जान्नका लागि टीएसए (टुरिजम स्याटलाइट एकाउन्टिङ) को प्रावधान सुरु भएको छ । त्यो भयो भने पर्यटकले नेपालमा कति खर्च गर्छन्, त्यसको जानकारी हुन्छ । आउने जुनसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।
शाह : हाम्रा मिडियालाई नै पर्यटन प्याकेजका बारेमा यथेष्ट जानकारी छैन । लाइफ टाइम्स एक्सपिरियन्सेस के हो भन्नेबारे मिडियालाई बढीभन्दा बढी जानकारी गराऊँ । मिडियाले पब्लिकलाई जानकारी गराउला । विदेशी पर्यटक नेपाल आउनलाई पाँच÷सात महिनाअघि प्याकेज बनाउँछन् । त्यसका लागि प्रचार र भ्रमण वर्षको प्याकेजबारे अग्रिम जानकारी गराउनुपर्छ । आजको भोलि त कोही पर्यटक आउँदैनन् । हाम्रो पर्यटन क्षेत्रको योगदान जीडीपीमा ३ प्रतिशतमात्र छ । यो एकदम न्यून हो । कम्तीमा १० प्रतिशत त बनाउनैपर्छ । जीवनकालमा एकपटक नेपालमा जानैपर्ने देश हो र सस्तो पनि हो भन्ने सन्देश दिन सक्नुपर्छ । होटल व्यवसायीमा हामीले लगानी गरिसकेका छौँ । स्तरीय होटल, रेस्टुरेन्ट बनिरहेका छन् । ठाउँ–ठाउँमा तीन÷चारतारे होटल बनेका छन् । त्यसलाई कसरी टिकाउने भन्ने समस्या छ ।
पर्यटन वर्षले त्यसमा टेवा दिन्छ भन्ने हाम्रो आशा छ । लगानी त भइसक्यो तर पर्यटक ल्याउन सकेनौँ भने त समस्या आइपर्छ । हिजो द्वन्द्वकालमा चलेका केही होटलहरू बन्द भए । फेरि त्यस्तो नहोला भन्ने आशा छ । पर्यटन वर्ष २०२० सफल बनाउनमा हामी निजी क्षेत्रबाट जस्तोसुकै सहयोग गर्न तयारीमै छौँ । सरकारको प्रस्ट नीति होस् अनि काम हुन्छ ।
सुवेदी : सरकारले भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रूपमा मनाउने तयारी गरेको छ । त्यसमा हामीले होस्टेमा हैँसे गर्ने हो । जुन रूपमा हामीले भ्रमण वर्षको घोषणापछि माइलेज पाउने अपेक्षा छ, त्यसका लागि प्रचार प्रसार नै मुख्य काम हो । नेपालमा पर्यटक आइसकेपछि सेवा सुविधा कस्तो दिन्छौँ ? त्यो महŒवपूर्ण काम हो । आएका पर्यटकलाई टिकाउने र गुणस्तरीय पर्यटक नेपाल ल्याउनेतर्फ जोड दिऊँ । भ्रमण वर्ष २०२० सरकारको मात्र होइन, सरकार, निजी क्षेत्र र जनता सबैको हो । त्यसैले सबैको आवाज एउटै हिसाबले जानुपर्छ । पर्यटकका लागि विश्वमा अनलाइन भिसा प्रणाली छ, तर हामीकहाँ छैन । त्यो व्यवस्था गर्न सक्नुपर्छ । पार्किङ चुस्त, प्रदूषण न्यूनीकरण गर्न फोहोरमैलाको व्यवस्थापन पनि गर्नुपर्नेछ । स्वागत गर्दा फूलमालासँगै मास्क पनि दिनुपर्ने अवस्थामा पर्यटक कसरी टिक्लान् ? विदेशीले समस्या देखाउँछन्, त्यसको व्यवस्थापन गर्ने काम हाम्रो हो । होटल हाम्रो पर्याप्त छ । २० लाख पर्यटक ल्याउन हामीसँग हवाई सिटको अभाव छ । आन्तरिक रूपमा भ्रमण गर्न हामी टिकटका लागि लडाइँ लडिरहेका छौँ । बाहिरबाट आउने पर्यटकको व्यवस्थापन गर्न चुनौती छैन भन्ने होइन । काठमाडौँबाट सिधै लुक्ला लैजाने वातावरण बनाउनुपर्नेछ । मौसम खराबीका कारण हाम्रो अनुकूल वातावरणमा विदेशी पर्यटक समायोजन हुने वातावरण बनाउन सक्छौँ कि सक्दैनौँ ? हामीसँग हेलिकप्टरको पनि अभाव छ । भाषागत गाइड (पथप्रदर्शक) को कमी छ । चिनियाँ भाषाका गाइड त पर्याप्त छन् तर अन्य भाषामा कमी छ । भएको स्रोत र साधनको प्रयोग गरेर हामीले भ्रमण वर्ष २०२० सम्पन्न गर्नुपर्नेछ । थप पूर्वाधारको विकास त वर्षभरि हुँदै जाला ।
ट्रेकिङ एजेन्सीले एक्लै आठ लाख पर्यटक ल्याउने घोषणा गरेको थियो, बढी उत्साहित हुनुभयो कि आधार पनि छ ? २० लाख पर्यटक त भन्यौँ, हामी सन्तुष्ट हुने सङ्ख्या खासमा कति हो ?
सुवेदी : आइसकेको पाहुनालाई व्यवस्थापन त हामीले गर्नैपर्छ । त्यसको तयारी भएको छ । यसअघि वार्षिक चार लाख पर्यटक एजेन्सीमार्फत आएको तथ्याङ्क छ । यस आधारमा भ्रमण वर्षमा आठ लाख ल्याउने लक्ष्य लिएका हौँ । सरकारले २०२० को जात्रा घोषणा गरेको छ, त्यसमा हामी उत्साहत त हुनैप¥यो । २० लाख पनि हुन सक्छ, त्योभन्दा बढी पर्यटक आउने वातावरण पनि बन्न सक्छ ।
अहिले ट्रेकिङ (पदयात्रा) को मात्र पर्यटक आउँदैनन्, होमस्टेमा रमाउन, धार्मिक, साँस्कृतिक क्षेत्रमा रमाउने पर्यटक पनि आउँछन् । नेपाल पर्यटन बोर्डले प्रचार–प्रसारको माध्यम राम्रो बनाउन आवश्यक छ । सबैले टेलिभिजन हेर्दैनन् । अहिले इन्टरनेटको समय छ, तथापि सबैले इन्टरनेट चलाउँदैनन् । सबैले बीबीसी, सीएनएन पनि सुन्दैनन् । यी सबै पक्षलाई ध्यान दिएर काम गर्नुपर्ने हुन्छ । त्यसो गर्दा पर्यटक बढी ल्याउन सकिन्छ । हाम्रो प्रचार–प्रसार ठूला ट्राभल्समा मात्र सीमित भयो । ग्रामीण र स्थानीय तहमा भएको छैन । पैसा पठाउने समस्या पनि छ । राष्ट्र बैङ्कले तत्काल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइदिनुपर्छ । नेपालमै बसेर पनि प्रचार–प्रसार गर्ने राम्रो प्याकेज बनाऊँ ।
जोशी : डिजिटल प्लेटफर्ममा दह्रो उपस्थिति त देखाउनैपर्छ । अहिले गुगलमा नेपालमात्र टाइप गर्नुभयो भने नेपालबारे पर्याप्त जानकारी आउँछ । परम्परागत र नयाँ दुवै प्रचारशैली अपनाउने तयारी छ । २० लाख पर्यटक ल्याउने लक्ष्य घटाउने कुरा त हुँदैन, बढाएर जाने लक्ष्य हो । सरकारले त्यसरी काम गरिरहेको छ ।
शाह : भ्रमण वर्ष २०२० नेपालीका लागि एउटा महोत्सव नै हो । पर्यटकको महŒव के हो भन्ने अहिले बुुझाउन सफल भएका छौँ । पहिले त्यस्तो थिएन । सरकारको लक्ष्य २० लाख पर्यटक भए पनि यो क्रमशः बढ्नेक्रममा छ । हवाई मैदानहरू थपिँदै गएको र खुला सीमाक्षेत्रबाट पनि भारतीय पर्यटकको सूची राख्ने प्रावधान राख्यौँ भने लक्ष्यभन्दा बढी पर्यटक आउने निश्चित देखिन्छ ।
गुणस्तरीय पर्यटक ल्याउन के–के गरिरहेका छौँ ? पूर्वाधार विकासको तयारी एक वर्षलाई मात्र लक्षित हो कि सधैँका लागि हो ? पर्यटकको सुरक्षाको विषय र भारतबाट मोटरबाटो हुँदै आउने पर्यटकको लगतबारे के काम भइरहेको छ ?
सुवेदी : नेपाल आएका पर्यटकको सुरक्षाको विषय महŒवपूर्ण नै हो । यसमा सरकारले तयारी गरेकै होला । पर्यटकहरू स्वतन्त्र हिसाबले हिँडिरहेको अवस्था छ । केही समयअघि लाङटाङको जङ्गलमा दुई विदेशी पर्यटक बाटो बिर्सेर हराउनुभयो, बित्नुभयो । सहयोगी साथमा लिएर नगएकै कारण उहाँहरूको ज्यान गयो । यसमा सरकारले ध्यान दिनुपर्छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या बढ्दोक्रममा छ । त्यसैले नेपालमा चिनियाँ बैङ्कको शाखा खोल्न सक्दा राम्रो हुन्छ । हामीले अहिले सुदूरपश्चिममा पर्यटक लग्ने तयारी गरिरहेका छौँ । नयाँ–नयाँ ट्रेकिङ स्थान बनाइरहेका छौँ । प्रदेश र स्थानीय तहको सरकारसँग समन्वय गरेर क्षेत्र विस्तारको काम भइरहेको छ । गुणस्तरीय पर्यटक ल्याउने कुरामा त सरकारले ध्यान दिनुपर्छ ।
शाह : गुणस्तरीय पर्यटक ल्याउनका लागि त्यहीअनुसारको सुविधा र पूर्वाधारको विकास चाहिन्छ । नेपाल आउने पर्यटकलाई बढीभन्दा बढी समय टिकाइराख्न नयाँ–नयाँ क्षेत्रको विकास गर्नुपर्छ । अहिले गाउँ–गाउँमा होमस्टे बनेका छन् । साँस्कृतिक पक्ष सबल भएको छ । होटलहरू सुविधासम्पन्न बनेका छन् । त्यसैले टिकाउन सहज भएको छ । भारतबाट सपरिवार आफ्नै गाडी लिएर नेपाल भ्रमणमा आउने ठूलो सङ्ख्या छ । तर, सीमा भन्सारमा फाराम भर्ने सहज व्यवस्था छैन । यसमा सच्चिनुपर्छ, सरकारको ध्यान जानुपर्छ । साना–साना त्रुटि सच्याउन सक्यौँ भने हामी सफल हुन्छौँ । पैसाको भन्दा हाम्रो इच्छाशक्ति राम्रो हुनुपर्छ । भ्रमण वर्ष सफल बनाउन हामी सबैको साथ र समर्थनको खाँचो छ ।
जोशी : पर्यटनबारे हाम्रो सोचाइ राम्रो भइसकेको छ । पर्यटन क्षेत्रको विकासका लागि अन्य क्षेत्रले पनि त्यत्तिकै योगदान दिनुपर्छ । पर्यटन क्षेत्रले मात्र एक्लै गरेर हुँदैन । अरूको तर्फबाट पनि यसबारे शिक्षा दिने, प्रचार गर्ने, पूर्वाधार निर्माणमा साथ सहयोग गर्नुपर्छ । अहिले राजनीतिक र सामाजिक एजेन्डाभन्दा आर्थिक एजेन्डा प्राथमिकतामा छ । त्यसैले सुध्रिँदै जाने देखिन्छ । गुणस्तरीय पर्यटक ल्याउने कुरा पूर्वाधार निर्माणसँगै जोडिएको विषय हो । जति धेरै एयरलाइन्स बढ्यो त्यति नै टिकटमा शुल्क घट्दै जाने हो । त्यो अनुसार अझै भएको छैन । तथापि नयाँ गन्तव्यको विकास भएको छ । हवाई मैदान विस्तार तथा गुणस्तरको काम भएको छ । गत वर्ष सरकारले मुख्य १०० वटा मुख्य गन्तव्यको कुरा गरेको थियो तर सूचीकृत गरी अन्तिम रूप दिने गृहकार्य भइरहेकै छ । डिजिटल मार्केटिङ र डिजिटल प्रोमोसनको काम भइरहेको छ । गत वर्ष १५ लाख पर्यटक गाडीमार्फत जमिनको बाटो आएको तथ्याङ्क छ ।
भ्रमण वर्षको प्रारम्भ कसरी हुन्छ ?
जोशी : जनवरी १ मा दशरथ रङ्गशालामा भ्रमण वर्षको औपचारिक शुभारम्भ राष्ट्रपतिबाट हुन्छ, प्रधानमन्त्रीबाट सम्बोधन हुने कार्यक्रम छ । सातवटै प्रदेशमा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम गरिनेछन् । विदेशमा नयाँ वर्षको बिदा हुने कारणले गर्दा जनवरी ७ मा विदेशस्थित नेपाली राजदूतावासमार्फत कार्यक्रमहरू हुनेछन् । खासमा यो सन् २०२० लाई मात्र लक्षित गरिएको होइन, पर्यटकलाई यसपछि निरन्तर ल्याउनेगरी सरकारले योजना बनाएको छ । जहाँसम्म गुणस्तरीय सेवा र जनशक्तिको प्रश्न छ, गतवर्ष १० हजार र यस वर्ष २० हजार जनशक्तिलाई पर्यटनसम्बन्धी तालिम प्रशिक्षणको कुरा गरेका छौँ । त्यसमा पर्यटन क्षेत्रसँग सम्बन्धित काम गर्ने सङ्घ–संस्थाका प्रतिनिधिलाई बढी प्राथमिकता दिन्छौँ । होटल, होमस्टे, नेचर गाइड, ट्याक्सी चालकहरू, अन्य गाडी चालकहरू, पर्यटनमा काम गर्ने सरकारी कर्मचारीलाई लक्षित गरेर तालिम भइरहेको छ ।
प्रस्तुति : लक्की चौधरी
तस्बिर : सुजन गुरुङ
संयोजन : विश्वास रेग्मी