भ्रमण वर्षको प्रवद्र्धनका लागि स्थापित भ्रमण वर्ष सचिवालयले यसबीचमा विभिन्न देशमा प्रवद्र्धनका कार्यक्रम गरेको छ । २० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा गर्न सचिवालयको प्रवद्र्धनको कार्यक्रमले मुख्य रुपमा प्रभाव पार्छ । यसबाहेक वर्षभर भ्रमण वर्ष लक्षित कार्यक्रमको योजना बनाउनेदेखि कार्यान्वयनसम्मका तालिका सचिवालयले तयार गरेको छ । कतिपय कार्यक्रमका सन्दर्भमा अझै पनि काम हुँदैछ । भ्रमण वर्षको तयारीका सन्दर्भमा अहिलेसम्म भएका सबै काम र वर्षभरका कार्यक्रमका विषयमा गोरखापत्रका विश्वास रेग्मीले भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यसँग गरेको कुराकानी :
आजबाट भ्रमण वर्षको औपचारिक सुरुवात हुँदैछ । अहिलेसम्मको तयारीबाट सन्तुष्ट हुनुहुन्छ ?
भ्रमण वर्ष कुनै एउटा वर्षमा मात्र रोकिने अभियान होइन । यो निरन्तर जाने कार्यक्रम हो । नेपालको पहिचान विदेशमा फैलाउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना भएको हो । अहिलेसम्म धेरै तयारी भइसकेको छ । केही काम बाँकी पनि छ तर बाँकीमा कमै छ । दशरथ रङ्गशालाबाट यसको औपचारिक सुरुवात गर्दैछौँ ।
भ्रमण वर्षलाई हामीले विभिन्न तरिकाबाट हेरिरहेका छौँ । पहिलो त २० लाख पर्यटक कसरी पुर्याउने भन्नेमा हामी लागिरहेका छौँ । दोस्रो नेपालमा गुणस्तरीय पर्यटक कसरी ल्याउने भन्ने छ, त्यसका लागि निजीक्षेत्रसँग बसेर पर्यटकीय पूर्वाधार सुधारमा हामी काम गर्दैछौँ । तेस्रो महत्वपूर्ण भनेको नेपालमा जसरी युवा कामका लागि देश छोडिरहेका छन् उनीहरुलाई यहीँ नै रोजगारी दिने भन्ने आधारमा काम भइरहेको छ । यो सम्पूर्ण तयारीका लागि काठमाडौँमा मात्र सीमित भएर हामी काम गरिरहेका छैनौँ । सातै प्रदेशमा त्यहाँका मुख्यमन्त्रीदेखि निजीक्षेत्रसँग पनि हामीले सहकार्य गरिरहेका छौँ । भ्रमण वर्ष सबै नेपालीको हो भन्ने सन्देश दिने तरिकाले हाम्रो काम अगाडि बढेको छ ।
उद्घाटनका मुख्य आकर्षण के हुन्छन् ?
भर्खरै हाम्रो साग सकिएको छ । त्यहाँ धेरै राम्रो काम भयो पनि । नेपालको सन्दर्भमा उहाँहरुले नयाँ ‘बेञ्चमार्क’ पनि बनाउनुभएको छ । भ्रमण वर्षको उद्घाटन त्यसको २० दिनपछि हुँदैछ । हामी त्यो बेञ्चमार्कभन्दा माथि जानुपर्छ भन्ने हिसाबले तयारी गरिरहेका छौँ । उद्घाटनमा खासगरी नेपालको सांस्कृतिक, सम्पदा, सङ्गीतको प्रस्तुतिसहित पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तिको सम्मान, सबै राजनीतिक दलको प्रतिबद्धता लिने प्रयास गर्नेछौँ ।
मन्त्रालयमार्फत विभिन्न ४० देशका पर्यटन मन्त्रीलाई उद्घाटनमा आमन्त्रण गरिएको छ । तर यो समय खासगरी पश्चिमा मुलुकका लागि ठूलो चाडवाडको समय पनि हो । मैले बुझे अनुसार सार्क मुलुकका पर्यटनमन्त्री आउनुहुन्छ । त्यसको तयारी पनि मन्त्रालयले गर्दैछ । भ्रमण वर्षका लागि तोकिएका सद्भावना दूत, ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया, सामाजिक सञ्जालका ‘इन्फ्लुयन्सर’ पनि बोलाएका छौँ । सातै प्रदेशका मुख्यमन्त्री, प्रदेशका संयोजक र पर्यटन व्यवसायी साथीको पनि उद्घाटनमा उपस्थिति हुनेछ ।
भ्रमण वर्षमा भित्रिने पर्यटकलाई ‘सरप्राइज’ दिन्छौँ भनेका छौँ । त्यो कस्तो हो ?
एउटा चाहिँ विमानस्थलमा भित्रिने पर्यटकलाई हामी नेपाली उत्पादन उपहारस्वरुप दिन्छौँ । त्योबाहेक नेपाल प्रिभिलेज कार्ड भनेर निकाल्दैछौँ । त्यसको सदस्यता छ भने पर्यटकले किनमेल, एयरलाइन्स र होटलमा छुट दिने भन्ने योजना हो । एक दुईवटा टिकट पनि हामी चिठ्ठाका रुपमा बाँड्छौँ ।
‘लाइफटाइम एक्सपेरियन्स’ भनेर भ्रमण वर्षको नारा हामीले दिएका छौँ । खासमा पर्यटकले भ्रमण वर्षमा त्यस्तो विशेष के अनुभव गर्न पाउँछन् ?
खासमा नेपालमा वर्षका हरेक दिन नै प्रस्तुत गर्न सक्ने ‘प्रडक्ट’ छन् तर हाम्रो पर्यटनको आकार सगरमाथा, पोखरा, चितवन र काठमाडौँमा मात्र सीमित छ । सुदूर पश्चिममा एक प्रतिशतमात्र र पूर्वमा दुई प्रतिशतमात्र पर्यटक जान्छन् । यो क्षेत्रमा पर्यटक बढेन भने नेपालको समग्र पर्यटनबाट गौरव गर्न हामी सक्दैनौँ । त्यसैले हामीले सातै प्रदेशमा एउटा÷एउटा मुख्य पर्यटकीय गतिविधि गर्दैछौँ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई लक्षित गरेर कर्णाली नदीमा हामी संसारकै लामो ¥याफ्टिङ गराउँदैछौँ । त्यहाँ अन्तर्राष्ट्रिय ¥याफ्टिङ च्याम्पियन पनि गराउँदैछौँ । त्यहाँ हामी रेकर्ड नै बनाउने गरी जाँदैछौँ । त्यसका लागि गिनिज बुकमा नाम लेखाउने प्रयास हामी गर्नेछौँ । यसभन्दा अगाडि अमेजनमा १५८ किलोमिटर लामो ¥याफ्टिङ् भएको थियो । यो त्योभन्दा पनि लामो हुनेछ । त्यस्तै प्रदेश पाँचमा बुद्धजयन्तीमा हरेक बुद्धिस्ट मुलुकका मन्त्री र गुरुहरु भित्र्याएर लुम्बिनीमा हामी सात दिनको कार्यक्रम गर्दैछौँ । प्रदेश चारमा संसारकै सबैभन्दा गहिरो गल्छी मुक्तिनाथदेखि मार्फासम्म अर्को वर्षको डिसेम्बरमा हामी माउन्टेन बाइक गराउनेछौँ । प्रदेश तीनमा रामायण सर्किटको अवधारणा ल्याएका छौँ । भगवान् शिवजी हिमालमा रहनुहुन्छ भन्ने पुरातन विश्वास छ । नेपालमा मात्रै ७० प्रतिशत हिमाल छन् । शिवशक्ति परिक्रमा भनेर हामीले तीनजना शङ्कराचार्य ल्याउँदैछौँ । देवघाटमा महायज्ञ पनि गर्दैछौँ । प्रदेश दुईमा विवाहपञ्चमीलाई हामीले विशेष केन्द्रमा राखेका छौँ । हालैमात्र उत्तरप्रदेशको हाम्रो भ्रमणमा जानकी मन्दिरबाट अयोध्यासम्म इँट्टा पठाउने भनेका छौँ । त्यहाँ पनि सातदिनसम्म काम गर्छौं । अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगिता पनि त्यहाँ हुँदैछ । प्रदेश एकमा ‘समिटर्स समिट’ गर्दैछौँ । विश्वभरका आरोहीलाई बोलाएर दिगो पर्वतारोहणको विषयमा छलफल गर्ने र आरोहीलाई सम्मान गर्ने कार्यक्रम गर्दैछौँ ।
योभन्दा पनि हाम्रो धेरै चाहना छ । भ्रमण वर्ष सचिवालयले एउटा कार्यक्रम लिएर जाने र प्रदेश सरकारले पनि अर्को कार्यक्रम गर्ने । प्रदेश तीन सरकारले शहदि दिवसको अवसरमा भव्य कार्यक्रम गर्दैछ । त्यही समयमा नारायणीको क्रुजलाई सार्वजनिक गर्ने, चितवनमा थप कार्यक्रम गर्ने योजना अघि सार्नुभएको छ । त्यस्तै सेभेन डेज इन काठमाडौँ, पोखरा, भक्तपुर, बन्दीपुरजस्ता प्याकेज ल्याउँदैछौँ । कम्तीमा केही नभए पनि २० वटा प्याकेज हामी ल्याउँछौँ । साफ गेममा भएको सुटिङ् खेलजस्तै हजारजना सुटर्स हामी नेपालमा बोलाउँदैछौँ । नेपाल सुटिङ् च्याम्पियनका लागि उहाँहरु आउनुहुन्छ ।
एकातिर ठूलो सङ्ख्यामा पर्यटक ल्याउने भनिरहेका छौँ अर्कोतिर पर्यटकले नेपालमा गर्ने खर्च र बसाइ नै घटेको छ । भ्रमण वर्षले यस्तो परिस्थितिमा सुधार ल्याउन सक्ला ?
कतिपय कुरामा हामी व्यावहारिक हुन जरुरी छ । अहिलेको समयमा पहिलेजस्तै लामो समय बिताउने भन्ने छैन । छोटो समयको लागि ल्याएर पनि धेरै खर्च गराउनेतर्फ हामीले सोच्नुपर्छ । अहिले जति पनि तथ्याङ्क आइरहेका छन्, व्यापारीका रुपमा त्यसले कुनै अर्थ राख्दैन । किनकि महँगी बढिरहेको छ तर खर्च घटिरहेको छ । यो हुनै नसक्ने कुरा हो । कहीँ न कहीँ नमिलेको जस्तो मलाई लाग्छ । यसमा सरकारले थप अध्ययन गर्नुपर्ने आवश्यकता छ । त्यस्तोमा मलाई के लाग्छ भने हामीले धार्मिक पर्यटनलाई एक स्तरमा माथि लैजानुपर्छ । सद्गुरु, श्री श्री रविशङ्करलाई पनि हामीले बोलाउने भनिरहेका छौँ । सात दिनसम्म कार्यक्रम गर्ने । यसले नेपालको स्प्रिचुआलिटी फैलाउन सहयोग गर्छ । अर्को हामी नेपालको पर्यटन वर्षको अन्त्य र सुरुआतमा मात्र बढी छ । त्यो बीचको समयका लागि माइस पर्यटनको प्रयत्न गरिरहेका छौँ । भारत त्यसका लागि उत्कृष्ट बजार हो । हामीले नेपालमा धेरै सम्मेलन गर्न भनेका छौँ । संयुक्त राष्ट्रसङ्घलाई पनि हामी त्यही भनिरहेका छौँ । त्यसमा विशेष सहुलियत दिन्छौँ भन्ने कुरा अगाडि बढाउँदैछौँ ।
विभिन्न देश लक्षित नै गरेर कस्तो किसिमको तयारी भएको छ ?
भ्रमण वर्षको हाम्रो लक्ष्य २० लाख पर्यटक ल्याउने हो । त्यसलाई कसरी पूरा गर्ने हामीले बुझिरहेका छौँ । यसका लागि सीमा सुधारको काम गरिरहेका छौँ । नेपाल आउने भारत र चीनका पर्यटकले खर्च गर्दैनन् भन्ने कुरा मलाई लाग्दैन । हामीलाई बजारको अभाव छैन । भारतमा हामीले धेरै नै काम गरेका छौँ । चीनमा विच्याट र अलिपेसँग मिलेर पनि प्रवद्र्धन गरिरहेका छौँ । चीनका राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा पनि भ्रमण वर्षलाई सघाउने कुरा गर्नुभएको छ । मलेसियाबाट नेपालमा दैनिक पाँच उडान हुन्छ । हामीले अहिले त्यता पनि फोकस गरिरहेका छौँ । मध्यपूर्वबाट अहिले सातामा ३० उडान हुन्छ । हामीले कम ध्यान दिएको बजार हो त्यो । त्यहाँका स्थानीय धनी जनता चिसो ठाउँमा जान खोजिरहेका छन् । उहाँहरुले नेपाललाई गरिब मुलुकको रुपमा मात्र हेर्नुभएको छ । त्यो धारणालाई परिवर्तन गर्न सक्यौँ भने त्यहाँबाट पर्यटक ल्याउन सकिन्छ । नेपाल एयरलाइन्सले जापान जान सुरु गरिसकेको छ । हिमालय एयरलाइन्सले चीनका चार ठाउँमा उडान गर्दैछ । ती सबै गन्तव्यमा हामी प्रवद्र्धन गर्छौं । हामीले पहिलोपटक युरोपमा रहेका नेपाली राजदूतलाई रोममा निम्त्याएर दुई दिनको छलफल गर्यौं । एसियाका सबै राजदूतलाई बोलाएर बैङ्कक र मध्यपूर्वका सबै राजदूतलाई ओमनमा बोलाएर छलफल गर्यौं । जहाँसम्म अमेरिका र युरोपको कुरा छ, त्यहाँ हामी जानैपर्छ । युरोपमा कालोसूचीबाट नहटेसम्म त्यहाँ केही समस्या छ । अमेरिकामा त हामीले निरन्तर कार्यक्रम गरिरहेका छौँ ।
भ्रमण वर्षको अभियानले समग्र नेपालको अर्थतन्त्रमा तत्काल पार्ने प्रभाव के हुन सक्छन् ?
भ्रमण वर्षको सफलता असफलता केबाट मूल्याङ्कन गर्ने भन्ने पनि छ । भ्रमण वर्ष एउटा प्रयास हो । मेरा लागि नेपालमा नयाँ गन्तव्य खोज्नुपर्छ । त्यस्तै लगानी र रोजगार सिर्जना गर्नैपर्छ । यही कुरा नै हाम्रो सफलता हो । यो भएको अवस्थामा मात्रै जीडीपीमा पक्कै योगदान बढ्छ तर लगानी बढेन भने त्यो हुन सक्दैन । रारा, खप्तड, धनकुटा, अरुण उपत्यका, कोशीटप्पु सबै राम्रा ठाउँ छन्, तर बस्ने कहाँ, खाने कहाँ ? त्यसै भएर लगानी आवश्यक छ । यसका लागि हामीले सात प्रदेश र विश्व बैङ्कसँगको सहकार्यमा पर्यटन लगानी सम्मेलन गर्दैछौँ । नेपालमा लगानी सम्मेलन त भयो तर पर्यटनलाई नै केन्द्रित गरेर सम्मेलन हुन सकेन । त्यसैका लागि यस्तो कार्यक्रमको योजना बनाएका छौँ ।
२० लाख पर्यटकको लक्ष्य पूरा हुन्छ त ?
सङ्ख्याको कुरा अलि फरक छ । एउटा रङ्गशाला भर्नुपर्नेछ भने त्यो जसरी पनि भरिन्छ । २० लाख सङ्ख्या त अहिले नै पुगिसकेको छ । भारतीय जो नेपाल आउँछन्, होटलमा बस्छन्, गाडी लिएर नेपाल घुम्छन्, उनीहरु पनि त पर्यटक हुन् । त्यो सङ्ख्यालाई जोड्ने हो भने अहिले नै २० लाख पुग्छ । त्यसको राम्रो तथ्याङ्क छैन हाम्रो । त्यसकारण २० लाख भन्ने सङ्ख्याको धेरै चर्चामा नजाउँ । नयाँ लगानी, नयाँ गन्तव्य र रोजगारले भ्रमण वर्षको सफलता निर्धारण हुन्छ ।
भ्रमण वर्ष कार्यान्वयनमा तपाईंले भोग्नुपरेको मुख्य चुनौती के हो ?
विदेशमा म जहाँ जहाँ गएँ, त्यहाँ नेपालप्रतिको धेरै माया देखेँ । उहाँहरु नेपाल जान आतुर देखिनुहुन्छ । त्यसैले पर्यटक भित्र्याउन समस्या होइन । नेपालीले नेपालको त माया गर्नुपर्यो नि । देशको सुन्दरताप्रति आफूले गौरव मान्न सक्नुपर्यो । घरमा झगडा हुँदा पाहुना बोलाएर त हुँदैन । पहिले हाम्रो अपनत्व महसुस हुनुपर्यो, त्यसपछि विदेशी ल्याउन सजिलो हुन्छ ।