३१ डिसेम्बर २०१९ बाट चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले सर्वव्यापी भएको छ । शक्ति राष्ट्रहरु समेत यसको त्रासमा भएका बेला विकासोन्मुख देशमा चिन्ता हुनु अस्वाभाविक होइन । यो भाइरसको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले जनजीवन अझ त्रसित बनाएको छ । यद्यपि नेपालमा अहिलेसम्म यो भाइरस फेला परेको पुष्टि भएको छैन तथापि कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्कले दैनिक उपभोग्य वस्तुमा समेत कृत्रिम अभाव सिर्जना गर्ने दुस्प्रयास गलत व्यापारीहरुले गरेका छन् । भाइरस नेपाल नछिर्दै यत्तिको आतङ्क छ भने भित्रियो भने झन के हालत होला ? कोरोनालाई नेपाल छिर्न नदिने र छिरिहालेमा त्यससँग सामना गर्ने नेपाल सरकारको तयारी के कस्तो छ ? मुलतः यो विषय अनि स्वास्थ्य क्षेत्रमा विषयमा आजको गोरखापत्र संवाद स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सँग छ । संवादको सम्पादित अंश ः
कोरोना भाइरसको संक्रमण नेपालमा देखिएको त छैन तर जनजीवन आतङ्कित छ, स्वास्थ्य मन्त्रालय के गर्दैछ ?
यो कोरोना भाइरस (कोभिड १९) ३१ डिसेम्बर २०१९ मा चीनमा भेटिएको घोषणा भएको थियो । यसअघि छ प्रकारका भाइरस विश्वमा पत्ता लागिसकेका थिए । पशुपन्छीबाट मानिसमा सरेकाले यसलाई नोबल कोरोना भाइरस भनिएको हो । यसअघि मान्छेबाट मान्छेमा सर्ने भाइरस थिए । तर यो पशुपन्छीबाट मानिसमा र मानिसबाट मानिसमा सर्छ । शुरुमा चीनमा यसले आक्रान्त रुप लिंदा विश्व समुदायको चीनप्रति हेर्ने दृष्टिकोण फरक थियो । चीनले यसलाई नियन्त्रण गर्न सक्दैन भन्ने होच्याउने खालका अभिव्यक्ति पनि प्रकट भए । तर अहिले विश्व नै तवाह तवाह भएको छ । कोरोना सर्वत्र फैलिन पुगेको छ । आजसम्म एकलाख ६ हजार मानिस संक्रमित भइसकेका छन् । ९० भन्दा बढी देश यसबाट प्रभावित भएका छन् । ३६ सय जनाको मृत्यु नै भइसकेको छ । अहिले सन्तोषको विषय के हो भने ६० हजारभन्दा वढी उपचार गरेर घर फर्केका छन् । ६ हजार मानिस उच्च जोखिममा रहेको रिपोर्ट छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले व्यापार र यातायातमा प्रतिबन्ध लगाएको छैन तर उच्च सावधानीकासाथ जोखिम भनेको छ । नेपाललाई पनि उच्च जोखिम देशकोरुपमा परिभाषित गरेको छ । शक्ति सम्पन्न राज्यले पनि नियन्त्रण गर्न सकिरहेका छैनन् । हामीजस्तो पिछडिएको मुलुकमा यो भाइरस संक्रमित भयो भने भयाभह अवस्था ठेग्न गाह्रो होला भन्ने परिचर्चा भइरहेको छ । यो स्वाभाविक पनि हो ।
नेपालको सन्दर्भमा कुरा गर्दा चीनबाट पढेर आएका एकजना विद्यार्थी ९ जनवरीमा यहाँ आउँदा १३ जनवरीमा टेष्ट गर्दा पोजिटिभ रिपोर्ट देखिएको थियो । १० दिनसम्म टेकु अस्पतालमा राखेर निगरानी गर्दा पछि नेगेटीभ देखियो । अहिलेसम्म ४३३ जना व्यक्तिमा यसको परीक्षण गरेका छौं । १७५ जना चीनबाट ल्याइएका विद्यार्थीको पनि परीक्षण गरेका छौं । तर पनि असर देखिएको छैन, यो हाम्रो लागि सकारात्मक कुरा हो । हिमालतिर हिउँ पर्नेबेला भएकाले आवतजावत सघन छैन । हिमालले पर्खालको काम पनि गरेको छ । चीनमा विद्यार्थीहरु अध्ययनका सिलसिलामा रहेका बेला अभिभावकहरु त्रसित थिए । तर घर फर्काउने काम भइसकेको छ । चीनमाभन्दा वढी नेपालीहरु भारत, जापान, इरान, इटली, दक्षिण कोरिया लगायतका मुलुकमा छन् । कोरियामा मात्र ४५ हजार बढी नेपाली छन् । त्यहाँ रोग फैलिने कुरा जोखिमको विषय हो । त्यसैले कोरियालगायत पाँच मुलुकलाई उच्च जोखिममा राखेका छौं ।
पछिल्ला दिनमा भारतमा ३४ जनामा पोजिटिभ रिपोर्ट देखिएको छ । हाम्रो उठबस र आवतजावत बढी भारततिर रहेकाले सबैभन्दा संक्रमणको डर त्यहाँबाट छ । हिजोको तयारीलेमात्र अब पुग्दैन थप तयारी गर्नुपर्छ भन्नेमा सरकार छ । प्रधानमन्त्रीको नेतृत्वमा चारपटक यस विषयमा बैठक गरी छलफल र तयारीको काम गरेका छौं । खरिपाटी भक्तपुरको क्वारेन्टाइनका विषय होस् या अन्य सावधानीका विषय हुन्, सावधानीपूर्वक काम भएका छन् । स्वास्थ्य सेवासँग आवद्ध रहेका संस्थाहरुसँग पनि एकीकृत ढंगले काम अगाडि बढाएका छौं । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण हुनेभएपछि फागुन १८ गते मन्त्रिपरिषद्को बैठक बसी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कमिटी निर्माण भएको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरणमा राज्यको तर्फबाट सबै काम गर्ने अधिकार त्यो कमिटीलाई छ । त्यसका पनि दुई बैठक बसिसकेका छौं । स्वास्थ्यसँग सम्बन्धित अन्य विषयमा निर्देशन दिन स्वास्थ्यमन्त्रीको संयोजकत्वमा निर्देशक कमिटी छ । मुख्य सचिवको नेतृत्वमा सचिवालय बनाइएको छ । देशव्यापीरुपमा व्यवस्थापनको काम त्यसले पनि गर्र्नेछ । स्वास्थ्यसँग सम्बन्धित सरकारी, गैरसरकारी, सेना प्रहरी अरु स्वास्थ्यसँग सम्बन्धित विषयमा स्वास्थ्य सचिवको नेतृत्वमा अर्को संरचना पनि छ । क्वारेन्टाइनको व्यवस्थापन, अस्पतालको तयारीका विषयमा विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा संयोजन समिति पनि छ ।
केन्द्रका यी योजनालाई तल लानका लागि प्रदेशका मुख्यमन्त्री वा मुख्यमन्त्रीले तोकेको मन्त्रीको नेतृत्वमा संरचना व्यवस्था गरिएको छ । स्थानीय तहको प्रमुखको नेतृत्वमा जागरणमुलक कार्य र सीमाबाट आउनेहरुको जाँचका विषयमा समन्वयात्मक काम गर्ने संगठनात्मक संरचना पनि निर्माण गरेका छौं । अहिले भन्सार नाकाबाहेक मुलुकका ३७ वटा ठाउँमा स्वास्थ्य बिन्दुकोरुपमा तोकेर छिमेकी मित्रराष्ट्रबाट आउने नागरिकको परीक्षणको व्यवस्था गरेका छौं । अन्तर्राष्ट्रिय क्षेत्रबाट हवाई उडानबाट आउनेहरुका लागि पनि परीक्षणको व्यवस्था गरेका छौं । थर्मल स्क्यानसहित हेल्प डेस्कको व्यवस्था छ । तर आम रुपमा यो विषयलाई प्रचार गर्न सकिएको छैन । यसको प्रचार मिडियाले गरिदिनुपर्छ ।
शक्तिशाली राष्ट्रले समेत कोरोना भाइरससँग लड्न नसकिरहेको अवस्थामा नेपालीहरु यो भाइरसबाट संक्रमित भइहालेमा पशुपतिनाथले नै जोगाउँछन् भन्ने अवस्था रहेको टिप्पणी सुनिन्छ । परीक्ष्णको ब्यवस्था टेकु अस्पतालमा मात्र छ कि अन्त पनि उपचार हुन्छ ?
पशुपतिनाथ हाम्रो लागि एउटा प्रतीक हो । बाँच्नका लागि पनि नागरिकले पशुपतिनाथको प्रार्थना गर्छन् । दाहसंस्कारका लागि पनि त्यहीं पुग्छन् । त्यसैले यो विविधताको विन्दु हो । समाजलाई भयावह बनाउनेभन्दा पनि सावधानी बनाउनेतिर ध्यान केन्द्रित गरिनुपर्छ । हामीले शुरुमा रोगको आक्रमण हुनसक्छ भन्ने दिनदेखि एक दिन बिराएर बैठक गर्छाैं, प्रत्येक दिनको स्थिति मन्त्रालयको तर्फबाट स्वास्थ्य बुलेटिनमार्फत तयारी लगायतका विषय स्पष्ट पार्ने काम गरिरहेका छौं ।
टेकुको अस्पताललाई पहिलो प्राथमिकतामा राखेका छौं । सरुवा रोगसम्बन्धी भरपर्दो अस्पताल त्यही छ । प्रयोगशालाको पनि उचित व्यवस्था छ । दोस्रोमा पाटन र अन्य गरी १५५ वटा ‘आइसोलेटेड बेड’ तयारी अवस्थामा राखेका छौं । अरु सरकारी र निजी अस्पतालमा पनि आइसोलेटेड बेडसहित वार्डको व्यवस्थापनका लागि निर्देशन गरेका छौं । उपत्यकामा सातवटा हव अस्पतालकोरुपमा तयारी गरेका छौं । त्यस्तै अन्य अस्पताललाई पनि हव अस्पतालसँग जोडेर सेवा दिने व्यवस्था गरेका छौं ।
हामीले कोरोनाविरुद्धको तयारी कार्यलाई तीन चरणमा बाँडेका छौं । पहिलो प्राथमिकता, ध्याउन्न र सामथ्र्यले भ्याएसम्म कोरोना भाइरसलाई नेपालमा प्रवेश नै नदिने सावधानी हो । ‘नो इन्ट्री’ – यही उत्तम विकल्प हो । कथंकदाचित छिरिहाल्यो भने उपचारको उचित १५५ बेड तयारी अवस्थामा छन्, उपचारको व्यवस्थापन गर्छौ । त्यति गर्दा पनि महामारीकोरुपमा फैलियो भने स्वास्थ्य संकटकाल घोषणा हुँदा त सबै अस्पताल यही उपचारमा केन्द्रित गर्ने र भयावह नै भयो भने ठूला होटल, अपार्टमेन्ट, शिक्षण संस्थाहरुलाई समेत क्वारेन्टाइनकोरुपमा प्रयोग गर्नपर्ने स्थिति पनि हुनसक्छ । तर पहिलो सम्भावनामा जुटिरहेका बेला तेस्रो चरणको विकल्पको चर्चा गर्दा समाज भयभित हुन्छ । हामी विज्ञापनभन्दा काममा जुटेका छौं । समाजमा आतंक निर्माण गर्न प्रोत्साहन नगरौं ।
शुरुमा चीनबाट विद्यार्थी ल्याउने सवालमा सरकारले वास्ता नै गरेन भनेर प्रचार गरियो । सरकारले किन विद्यार्थी ल्याएन भन्नेहरुले विद्यार्थी ल्याएपछि हामीले नदेख्ने ठाउँमा राख्नुपर्छ, यहाँ राखेका कारण स्थानीय वस्ती नै सर्यो भन्ने खालका नकारात्मक प्रचार गर्ने पनि नेपाल आमाका सन्तान नै हुन् । ती विद्यार्थी ल्याएर व्यवस्थापन गर्दा ती विद्यार्थीले नेपाल सरकारको ब्यवस्थापन, तयारीलाई धन्यवाद दिँदा कतिपय मान्छेलाई हामीले सिटामोल पठाइदिनुपर्ने स्थिति पनि भयो । कतिपय मानिसको मानसिकता कोरोना आइदिए सरकारको आलोचना गर्न पाइन्थ्यो भन्ने पनि देखिन्छ । अहिले कोरोना भाइरसभन्दा पनि कतिपयको मानसिक भाइरस डरलाग्दो देखिंदैछ । तर आलोचना गर्नेले त गरिराख्छन्, सरकारले आफ्नो ठाउँबाट काम गरिरहेको छ । यो राष्ट्रको साझा सवालका रुपमा कोरोना आउनै नदिनेतर्फ हाम्रो अहिले ध्यान छ । संसद्को समितिमा, संसद र जरुरी सार्वजनिक महत्वको प्रस्तावमा पनि यसबारे व्यापक छलफल भएको छ ।
कोरोना आउन नदिन अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गर्नुपर्ने अवस्था हो कि होइन ?
कुन विधि अपनाउने सोचिराखेका छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा उडान बन्द भएको सूचना आइरहेका छन् तर कतै सरकारले औपचारिकरुपमा उडान बन्द गर्न भनेको मलाई थाहा छैन । तथापि एयरलाइन्स कम्पनीले जोखिम भएका मुलुकमा उडान बन्द गरेका छन् । हामीकहाँ एकदुई कदम अगाडि बढेर सर्वोच्च अदालतले पनि जोखिम मुलुकमा उडान नगर्नु भन्ने आदेश गरेको छ । सम्मानित अदालतले भनिसकेपछि सो आदेशमा टिप्पणी गर्नु उपयुक्त हुँन्न । तर सरकारले जोखिमग्रस्त मुलुकबाट आउने ब्यक्ति ब्यक्ति जाँच गरेर संक्रमित छ, छैन हेरी सुरक्षितलाई मात्र यता पठाउने ब्यवस्था मिलाएका छौं । देशभित्रबाट र बाहिरबाट अतिआवश्यक विषयबाहेकको अवस्थामा विदेश नजान, यात्रा नगर्न भनेका छौं । सगरमाथा संवादलाई पनि सरकारले स्थगित गरेको छ । राज्यमा पनि ठूलाखालका भीडभाड कम गर्ने आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा सरसफाई, खानपिन र जीवनशैली, एकअर्कासँग व्यवहार गर्ने विषयलाई पनि प्राथमिक सावधानीको अभियान चलाएका छौं ।
सरकारको विभिन्न तयारी छ भन्ने देखियो तर यसबेला आमनागरिकको जिम्मेवारी के हुनुपर्छ ?
कोरोनासँग लड्ने क्षमता हामीले पुर्खाबाटै प्राप्त गरेका छौं । हाम्रो खानपिन, जीवनशैली राम्रो छ । आत्तिइहाल्ने अवस्था हाम्रो छैन । शुरुमा पोजिटिभ रिपोर्ट देखिएपछि १० दिन अस्पतालमा राख्दा नेगेटिभ प्रतिवेदन आउनु हाम्रो जीन (बंशाणु) को प्रभाव छ कि भन्ने उदाहरण हो । युरोपतिर सामान्य रुघाखोकी लाग्दा पनि औषधि नखाई ठीक हुँदैनन् तर हाम्रो नेपालमा घरेलु उपचार र तातोपानी, बेसारपानीले ठीक गर्दैआएका छौं । रोगविरुद्ध लड्ने क्षमता हामी नेपालीमा धेरै छ । तर यो कोरोना ‘नपड्किएको एम्बुस’ जस्तो भएको छ । यो विषय उच्च सावधानीका लागि उठेको छ, हामी त्यसमा सचेत छौं । सरकारका तर्फबाट केही भएकै छैन भन्ने आलोचना त्यो सत्य होइन । हामीले आफ्नो ठाउँबाट रोगसँग लड्ने र उपचारको उचित व्यवस्थापन गरेका छौं । स्थानीय तहमा सम्बन्धित ठाउँमा क्वारेन्टाइन गरेर माथि उपचारका लागि ल्याउने कुरा हो । केही समयअघि नुवाकोट र सिन्धुपाल्चोकको गाउँमा सामुहिकरुपमा गाउँलेलाई रुघाखोकी लाग्दा कोरोना भाइरस लाग्यो भनेर हल्ला फैलाइयो । पछि विशेषज्ञ टोली त्यहाँ पुग्दा सामान्य अवस्था भेटियो । यस्तो कुप्रचारले पनि मान्छेमा आतंक मच्चाउँछ । रुघाखोकी लाग्ने वित्तिकै कोरोना भाइरस लाग्यो भन्ने प्रचार भए सरकारले हेलिकप्टर उडाएर भए पनि उपचारको व्यवस्थापन गर्नेछ भनेर पनि यस्तो हल्ला मच्याउने मानसिकता पनि हुनसक्छ ।
सम्भावित जोखिमको अवस्थामा अत्यावश्यकीय औषधि, उपभोग्यवस्तुतको अभाव हुने त्रास पनि ब्याप्त छ नि ?
माक्स, औषधि, दैनिक उपभोग्य वस्तुको अभावको कुरा पनि हल्ला मात्र हो । केही व्यापारीहरुले नाफा कमाईहाल्ने उद्देश्यसाथ कृत्रिम अभाव गरेको सत्य हो । सरकारले त्यसको अनुगमन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । जे अभाव भनिएको छ, त्यो अभाव हुन नदिनेतर्फ सरकार सचेत छ । अहिले चारदिन त विदा नै परेको छ । सरकारको तर्फबाट सर्वदलीय बैठकको तयारी पनि गरिएको छ । यो हाम्रो साझा समस्या हो । त्यसका लागि एकतावद्ध भएर अभियान चलाउने तयारी छ । भूकम्प गएका बेला पनि एकतावद्ध भएर जोखिमको विरुद्ध लड्यौं । कोरोना भाइरसले समस्या परेको अवस्थामा पनि सबै एकतावद्ध नै हुनेछौं ।
औषधिको अभाव छैन हामीसँग । डब्लुएचओ लगायतका संस्थाले पनि सहयोग गर्ने भनिसकेका छन् । सो संस्थाले नेपाललाई उच्च जोखिम मुलुकमा राखेकाले त्यसखालको लगानी पनि गर्ने व्यवस्था हुन्छ । त्यो पहल सरकारले शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय संघ संस्थाबाट आउने सहयोग दुरुपयोग हुने, अरु नै विषयमा खर्च गर्ने आरोप स्वास्थ्य मन्त्रालयप्रति छ । अहिले त्यस्तो सहयोग सदुपयोग होला ?
स्वास्थ्य मन्त्रालयमा सुधार गर्नुपर्ने विषय धेरै छन् । जनतासँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । श्रम नगरी कमाउन पल्केकाहरु पनि धेरै छन् । यसलाई थितिमा ल्याउन संकल्प जरुरी छ, यसमा म सचेत छु । मेची महाकाली पुगेर स्वास्थ्य प्रतिनिधिहरुसँग पहिलो चरणको ब्रिफिङ लिइसकेको छु । त्याँ भन्ने गरेको छु – पहिले तलदेखि माथिसम्म सेटिङ मिलाउनुपर्छ भन्ने नाममा भ्रष्टाचार हुने गरेको थियो भने तपाइँहरु यो चिन्ताबाट मुक्त हुनुहोस् । जुन दिन पैसा चाहिन्छ, राजनीतिको पदबाट सन्यास लिएर पैसा कमाउन लाग्ने छु । मलाई देखाएर सेटिङको कुरा नगर्नुहोस् ।’ हो, पहिला यो ठूलो समस्या टार्ने अभियान छ । पछि छिद्र त टालिदै जान्छन् । मन्त्री नै गएर विषयगत विधाका चिकित्सकहरुसँग स्थलगत छलफल गर्नु राम्रो हो भनेर प्रतिक्रिया आएको छ ।
नाम कमाउने त अन्य उपाय पनि छन् । तर हामी काममा चिन्तित छौं । मन्त्रालयमा बेथिति छ । मन्त्रालयका कर्मचारी गोष्ठिमा जान्छन् तर कहाँ कुन गोष्ठिमा किन गएको हो ब्रिफिङ छैन । यो गलत हो । यसअघि भात ख्वाउने गैरसरकारी संघ संस्थाको कार्यक्रममा सरकारी लोगो प्रयोग गर्ने गरेका थिए्, त्यसलाई हामीले रोकेका छौं । सातबुँदे सर्कुलर गरेका छौं । अब नेपालको लोगो सरकारको स्वीकृतिपाप्त कार्यक्रमबाहेक प्रयोग गर्न पाइदैन । मन्त्रालयबाट स्वीकृत आधिकारिक कार्यक्रममा मात्र नेपालको लागो प्रयोग गर्न पाइन्छ ।
अहिलेसम्म के काम भए, कहाँ चुक्यौं, अब के गर्नुपर्छ भन्नेमा हामीले तयारी गरेका छौं । मास्टर प्लान बनाएर काम गर्ने सोचेको छु । माथिबाटै सुधारको आरम्भ गरिएको छ । हामीले बनाएको नीति कार्यान्वयन गर्ने सन्दर्भमा अरुको सहयोग लिन्छौं तर नीतिमा प्रभाव पार्न दिंदैनौं । अहिलेसम्म हामीलाई सहयोग गर्ने विकास साझेदार संस्थाहरुले यो सरकार जनउत्तरदायी र पारदर्शी छ भन्ने प्रतिक्रिया आएको छ । दवाव होइन सहयोग लिने कुरा हुन्छ । हामीले जे शीर्षकमा सहयोग लिन्छौं, त्यहीं खर्च गर्छौं । बँचेमा यति रह्यो भन्छौं । त्यसपछि के गर्ने भनेर दातृ संस्थाको सहमतिमा गर्छौ । नभए बाँकी पैसा फिर्ता गर्छौं । त्यसले हाम्रो इमान बढाउँछ ।
स्वास्थ्य क्षेत्रमा कर्मचारीहरु समायोजनको अवस्था के छ ? चिकित्सकहरु पठाएको ठाउँमा काम गरेका छन् कि छैनन् ? कस्तो महुशस गर्नुभएको छ ?
चैतको खडेरीमा डढेलो लागाइएको वनमा गएजस्तो अवस्थामा म मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगें । कानुनी ब्यवस्था मिलाएरै सिर्जना गरिएका समस्याले आक्रान्त छ मन्त्रालय । विगतमा कतिपय कानूनी हिसावले विगारेको काम सल्टाउने प्रयास भइरहेको छ । कतिपय त नयाँ कानून नै चाहिने खालका छन् । म आउँदा सात हजार जनाको समस्या थियो । अहिले चार हजार कर्मचारीको समायोजन समस्या छ । पहिले सरुवा भएर जाँदा एक पद बढुवा गरेर पठाउने भनिएको थियो । तर स्वास्थ्यमा एक पद घटुवा गरेर पठाएको पाइयो । दुई हजार जतिको समस्या थियो, म मन्त्रीमा आएपछि मन्त्रिपरिषदमा प्रस्ताव लगेर खाइपाइ आएको सुविधा नघट्नेगरी व्यवस्था गरिएको छ । हिमाली र पहाडी जिल्लाको खाली ठाउँमा करिब ४७ जिल्लाको समायोजन सहमतिमा भएको छ । मुख्य शहर र तराईमा बाँकी छ । हिजो दवावमा काम भएको देखियो । कहीं २१ जनाको दरबन्दी छ तर ४२ जना पठाइएको पनि भेटियो । कसरी थेग्न सकिन्छ त्यसरी ? शहरीकेन्द्र र मधेस क्षेत्रमा यो समस्या बढी छ । कहीं कहीं पत्र लिएर सहमति दिएर पठाएको छ तर तलब नदिएर फिर्ता पठाइएको समस्या छ ।
ठूलो संख्याको समायोजन सकिएको छ । अहिले ३१ हजार ५९२ कर्मचारी स्वास्थ्यक्षेत्रका छन् । समायोजन गरेर प्रदेश र स्थानीय तहमा पठाएमा संघमा दुई हजार ६३१ मात्र रहन्छन् । कति डाक्टर छन्, कति नर्स छन् ? मन्त्रालयमा सय दिन कटाए तर एकीन तथ्याङ्क (आँकडा) भेटिएको छैन । पछिल्लो दिन करिब २७ हजार डाक्टर लाइसेन्स लिनेक्रममा दर्ता भएको रेकर्ड छ । त्यस्तै, ८९ हजार नर्स दर्ता भएका छन् । कति विदेश गए, कतिले छाडे त्यो जानकारी छैन । छात्रबृत्तिमा पढ्न गएका डाक्टरहरुको संख्या हेर्दा सबैलाई स्वदेश ल्याएर उचित खालको जिम्मेवारी दिने हो भने सबै स्थानीय तहमा डाक्टर पर्याप्त हुन्छन् । अस्ति डडेल्धुरा जाँदा सोधेंको थिएँ कतिजना डाक्टरको दरबन्दी छ भनेर । २८ जनाको दरबन्दी भेटियो । काममा कतिजना छन् भनेर सोध्दा जम्मा पाँचजना डाक्टर रहेछन् । दरबन्दीले त सेवा गर्न सक्दैन नि । अब काममा भएकाहरुको मात्र दरबन्दी कायम गरेर बाँकीको दरबन्दी मन्त्रालयमै ल्याउने तयारी भइरहेको छ । काममा नआउने, हाजिर गर्न नआउने, सम्पर्कमा नआउने डाक्टरलाई सार्वजनिक सूचना गरेर कारवाहीको प्रक्रियामा जान्छौं । राज्यले लगानी गरेको छ भने त्यो त फिर्ता गर्नुप¥यो नि । सरकारी कोटामा पढ्ने तर काम गर्न विदेश जाने हो भने कसरी जनताको सेवा हुन्छ ? यसको व्यवस्थापन गर्न जरुरी छ । यो क्षेत्रको सुधारका लागि हिम्मतकासाथ काम गर्ने योजना छ । तर अहिले कोरोनाले सबै समय खाइरहेको छ ।
प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपाण गरिएको छ । उहाँ अहिले पनि अस्पतालमै हुनुहुन्छ । स्वास्थ्य अवस्था कस्तो रहेको छ ?
फागुन २१ गते प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण दोस्रोपटक भएको छ । यसपटक स्वदेशमै गरिएकाले राम्रो सन्देश पनि गएको छ । सातजना डाक्टरको टोली उपचारमा संलग्न हुनुहुन्छ । शिक्षण अस्पतालमा आठसय जनाको प्रत्यारोपण यसअघि नै भइसकेको रहेछ । दोहो¥याएर गरिएको यो नवौंपटक रहेछ । प्रधानमन्त्रीको उच्च मनोबल, उदाहरणीय आत्मविश्वास र इच्छाशक्तिका कारण उहाँको स्वास्थ्यअवस्था राम्रो भइरहेको छ । नेपालले यस्तो उपचारमा क्षमता राख्छ भन्ने सन्देश प्रवाह भएको छ । अस्पताल र चिकित्सकको क्षमताको प्रसंशा पनि भएको छ । राज्यको कार्यकारी प्रमुख नै आफ्नै देशमा उपचार गरेपछि नेपालको अस्पताल र चिकित्सकमाथि राम्रो विश्वास जागेको छ । अब नागरिकले ढुक्कसाथ उपचार स्वदेशमा गराउने सन्देश प्रवाह भएको छ । अनुकुल समयमा नेतृत्व गर्न त सबैले क्षमता देखाउँछन् । तर हाम्रो प्रधानमन्त्री केपी ओलीमा जोखिममा नेतृत्व गर्ने क्षमता छ । अहिले उहाँको स्वास्थ्यस्थितिको सुधारक्रम उत्साहजनक छ । खानेकुरा नर्मल (सामान्य) शुरुभइसकेको छ । हिडडुल सामान्य शुरु भएको कुरा बुझिएको छ । छिटै डिस्चार्ज हुनुहोला ।
प्रस्तुतिः लक्की चौधरी
तस्विरः कविता थापा