कोभिड–१९ ले विश्व महामारीका रूप लिइरहेको र नेपालमा फैलन नदिन सरकारले मुलुकभित्रै र सीमा आवतजावतमा बन्देज लगाएको छ । कोरोनाविरुद्ध सरकारले चालेका कदम, स्वास्थ्य सेवाको अवस्था र योजना कस्ता छन् ? भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग पत्रकार दीपक श्रेष्ठ र सरोज ढुङ्गेलले गर्नुभएको कुराकानी :
विश्व महामारीका रूप लिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न सरकारले कसरी काम गरिरहेको छ ?
डाक्टर, नर्स, पारामेडिकल्स, सुरक्षा निकायसमेत पहिलो पङ्क्तिमा रहेर काम गर्नेहरूको व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको थियो । चीनबाट आइतबार ल्याइएका ती सामग्री सबै प्रदेशमा पु¥याउने कार्य भएको छ । राजधानी र मोफसलका स्वास्थ्यकर्मीहरू अब असुरक्षित हुने अवस्था रहँदैन ।
विदेशबाट आएर क्वारेन्टाइमा रहनुभएका वा नरहनुभएका तथा सम्भावित सङ्क्रमणको जोखिममा रहनुभएका व्यक्तिको परीक्षण गर्ने र परीक्षणपछि पोजेटिभ रिपोर्ट आयो भने अस्पतालमा भर्ना गराउने र उपचार गर्ने प्रक्रियामा हामी लागेका छौँ । अहिलेसम्म पाँचवटा रिपोर्ट पोजेटिभ आएको छ । एक जना उपचारपछि घर फर्किएको र चार जनाको उपचार भइरहेको छ । अहिलेसम्म अति जोखिममा रहेका बिरामी हुनुहुन्न । सरकारले विभिन्न राहतका प्याकेज पनि घोषणा गरेको छ । त्यसले पनि काम गर्नका लागि सहज भएको छ । स्वास्थ्यकर्मीलाई काममा अझ प्रोत्साहित गर्नलाई मद्दत गर्छ ।
कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट सहयोग नभएको गुनासो पनि नागरिक तहबाटै आइरहेका छन् । यसमा सरकार कसरी अगाडि बढ्दै छ ?
सरकारी र निजी अस्पतालबीचमा कसरी विभेद ल्याउन सकिन्छ भन्ने गरी समेत कतिपय अभिव्यक्ति आएको पाइन्छ । असन्तुष्टि पैदा गर्न सकिन्छ कि भनेर जुन खालको प्रयास भएको छ यो पनि मिथ्याप्रयास हो । स्वास्थ्य मन्त्रालयले सचिवको नेतृत्वमा एउटा कमिटी बनाएको छ । सबै पक्षको संलग्नता रहेको कमिटीले १५ बुँदे निर्देशिका पनि जारी गरेको छ । अस्पतालले के गर्ने, के नगर्ने भन्नेबारे साझा सहमतिका साथ ती बुँदाहरू पारित गरिएको छ । महामारीको बेला सरकारको अङ्गका रूपमा परिचालित हुन र सहयोग गर्न निजी अस्पतालले तयार छौँ भनेका छन् ।
निजी अस्पतालले बिरामी लिन नमानेका घटना सार्वजनिक भएका छन् नि ?
हो, कतिपय ठाउँमा गलत ढङ्गले सूचना सम्प्रेषित गर्ने र कोभिड–१९ विरुद्धको लडाइँलाई कमजोर बनाउन विभिन्न ढङ्गले भाइरसयुक्त सोच प्रकट भएका छन् । अर्को एउटा अन्योल र भ्रम सिर्जना भएको छ । प्रत्येक अस्पतालमा जो कोही बिरामी जाँदा पनि जनताले सेवा नपाउने, बिरामी जाँच्नेभन्दा पनि अन्तै पठाउने खालको प्रवृत्ति छ भन्ने सुनिएको छ ।
त्यसमा हामीले निर्णय गरेका छौँ । प्रत्येक व्यक्ति जो जुन अस्पतालमा पायक पर्छ र जान्छ त्यहाँ उसले स्वास्थ्य सेवा पाउनुपर्छ । महामारीको सङ्कट भएको बेला नागरिकले स्वास्थ्य उपचार सेवासुविधा पाउँदैन भने त्यस्ता अस्पताल वा संस्थाको औचित्य रहँदैन ।
अहिले देखिएका सङ्क्रमित सबै विदेशबाट फर्किएका मात्र छन् । तिनलाई क्वारेन्टाइनमा राख्न सकेको भए, समस्या यति जटिल हुने थिएन कि ?
सङ्क्रमित राष्ट्र र छिमेकी राष्ट्रबाट आएकालाई विदेशी भए सेल्फ क्वारेन्टाइन र नेपाली भए होम क्वारेन्टाइमा बस्न भनेका थियौँ । अहिले मुख्य समस्याको विषय भनेको हवाई सेवा बन्द गर्नुभन्दा पहिले अति प्रभावित मुलुकबाट आएका नेपाली नागरिकबाट देखिएको छ । उहाँहरूले राज्यले तोकेको मर्यादाभित्र नबसेको कारण समस्या ल्याएको छ ।
त्यही त, विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न सरकारले सकेन भन्ने आरोप छ नि ?
हरेक राज्यले आफ्नो नियम बनाएको हुन्छ । नागरिकले त्यसअनुसार पालना गर्नुपर्छ । हरेक व्यक्तिलाई अनुशासन सिकाउन राज्यले बल प्रयोग गर्नुपर्ने विषय लोकतान्त्रिक आचरणभित्र पर्दैन । कतिपय मुलुकले अहिलेसम्म भयावह स्थिति हुँदा पनि लकडाउन गरेका छैनन् । कतिपयले लकडाउन गरेर दुई जना मानिस सडकमा निस्कियो भने हजार डलर तिराएर जेल सजायसम्मको व्यवस्था भएको पनि छ । देशभित्रका आफ्ना अनुशासन राज्यले अपनाएका नीतिका आधारमा जनताले पालना गर्नुपर्छ । फ्रान्सबाट आएर अनुशासित रूपमा क्वारेन्टाइनमा बसेका कारण परिवारलाई बचाएको ‘केस’ पनि छ । हामीले तोकेको मापदण्डअनुसार त्यसलाई अपनाएको भए सुरक्षित त हुन सकिने रहेछ नि भन्ने यो प्रमाण हो । कतिपय मित्र बाहिरबाट आउनुभयो । सुनिन्छ होटलमा पार्टी दिनुभयो रे । जाने आउनेको सीमा रहेन । फलानो देशबाट आएको व्यक्ति यो गाउँमा घुमिरहेको छ भन्ने सूचना अहिले गाउँबाट आएका छन् । यो रोग नआउञ्जेल को कहाँबाट आयो भन्ने कसैलाई पनि थाहा थिएन । आरोप लगाउँदा राज्यले लुकायो भनिन्छ तर राज्यले लुकाएको होइन खोज पड्ताल गरिरहेको छ । अहिले पछिल्लो समय विदेशबाट आउनेलाई सम्पर्कमा आउनुस् तपाईंको कारणले तपार्इंको परिवारलाई खतरामा पार्छ भन्दा पनि सम्पर्कमा आइरहेका छैनन् । भागी भागी दिन बिताइरहने प्रवृत्ति पनि देखिएको छ । अब प्रत्येक वडाले प्रोफाइल बनाएर कुन देशबाट कहिले आएको हो भन्ने रेकर्ड तयार पार्नुपर्छ । त्यो तथ्याङ्कको आधारमा पहिलो घेरामा उहाँहरूलाई क्वारेन्टाइनमा राख्नलाई स्थानीय तहलाई भनिएको छ । त्यसपछि सबैको परीक्षण गर्नुपर्छ । अब प्रयोगशाला विस्तार पनि छिटै हुनेछ ।
चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीमा मूल्य तलमाथि भयो, अनियमितता गरियो भन्ने आरोप आइरहेको छ नि ?
पहिलो कुरा, लकडाउन र बाह्य उडान बन्दको विषम परिस्थितिका कारण स्वास्थ्य सामग्री ल्याउने कुरा त्यति सहज थिएन । विश्व नै महामारीको चपेटामा परेकाले स्वास्थ्य सामग्री पाइहाल्ने सुनिश्चितता पनि थिएन । सामान आउँदैन कि भन्ने बेलासम्म सामान भएन भन्ने विषय ‘हाइलाइट’ गरियो । सामान आउने सुनिश्चित भएपछि मूल्यमा तलबितल गरियो भनेर प्रचार गरियो । प्लेन चीनतर्फ उड्नुअघिसम्म मूल्यका बारेमा रमाउन चाहने व्यक्तिहरू पछिल्लो दिनमा आएर चीनबाट आएका सामान गुणस्तरीय छैनन्, नक्कली सामान ल्यायो भनेर प्रचार गरिरहेका छन् । विरोध नै पवित्र कार्य हो भनेर त्यही कार्यमा सन्तुष्ट हुनेहरूको आलोचनाप्रति मेरो कुनै टिप्पणी छैन ।
जहाँसम्म अनियमितताको कुरा छ, यो विषयमा मभन्दा आधिकारिक महानिर्देशकले नै भन्नुहोला । पहिला यसको टेन्डर भयो । त्यसमा धेरै आयातकर्ताको सहभागिता रहेन किनभने अहिलेको विषम अवस्थामा उपकरण, औजार खरिद गरेर ल्याउने विषय उहाँहरूका अनुसार सहज रहेन । चैत ११ गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले एकदिने सूचना निकालेर स्वास्थ्य मन्त्रालयले सामग्री आयात गर्ने भन्ने निर्णय गरेपछि विभागबाट सोहीअनुसारको सूचना प्रकाशित भयो । त्यसमा औपचारिक रूपले दुईवटा कम्पनीले इच्छा जाहेर गरे । त्यो दुईटामध्ये छलफलका लागि बोलाउँदा एक आयातकर्ताले अहिलेको परिस्थितिमा ल्याउन नसक्ने जानकारी गरायो । बाँकी एक आयातकर्तासँग छलफल गरेर, उहाँहरूले राखेको दरमा पनि शून्य दशमलव पाँच प्रतिशत घट्ने सुनिश्चित भएपछि स्वास्थ्य सामग्री तथा औजार ल्याउने सम्झौता भएको हो । निःसन्देह म यति मात्र भन्छु कि हिजोको भन्दा यी सामग्री किन्ने सन्दर्भमा केही महँगो भएको हुनसक्छ किनभने महामारी फैलिएको बेला हिजोको भन्दा अहिले मूल्य बढ्ने कुरा स्वाभाविकै हो ।
अर्को कुरो, जहाँसम्म अन्य विषय नपाएर यो विषयमा अनियमितता भयो कि भन्ने आशङ्काले व्यक्तिको चरित्र हत्या गर्न वा राजनीतिक प्रतिस्पर्धाबाट डराएका व्यक्तिहरूले गराएका यी आरोपको सामना गर्न दृढतासाथ तयार छु । यसको सामना म व्यवहारबाटै गर्छु । अनियमितता नगरेको कुरा अहिले मात्र होइन भोलि जुन कुनै ठाउँमा उभिएर यसको नैतिक जिम्मेवारी लिनुपर्छ, जवाफदेहिता वहन गर्नुपर्छ भन्ने कुराप्रति प्रतिबद्ध भएर नै यो काम गरेका छौँ ।
काम नहुँदासम्म नभइदिए हुन्थ्यो भन्ने, काम भएपछि आत्तिएर विभिन्न खालको आरोप लगाउने कुराले जटिलताको बेला काममा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मित्रहरूको शुभेच्छा हो भने म आन्दोलनमै जन्मिएको, हुर्किएर आएकाले यस्ता खालका धेरै अग्निपरीक्षाहरू पास गरेरै आएको हुँ ।
राजनीतिक पदमा रहुञ्जेल पदको दुरुपयोग गरेर एक पैसा कमाउने काममा म लाग्दिन भन्ने मेरो प्रतिबद्धतालाई खरो व्यवहारमा प्रमाणित गर्ने छु । यो टिप्पणीले पनि मलाई व्यवहारमा खरो उत्रन प्रेरणा दिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन केही योजना छ कि ?
अघिल्लो मोर्चामा बसेर उपचार गर्ने चिकित्सक, नर्स जोखिममै हुनुहुन्छ । त्यसैले उहाँहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा सामग्री ल्याउने व्यवस्था गरिएको हो । यही व्यवस्था गर्दा पनि कतिपयलाई नपचेर आलोचना गरिराखेका छन् किनभने सामग्री त नसोचेकै बेला आयो । अर्को कुरा अघिल्लो पङ्क्तिमा बसेर उपचारमा संलग्न हुनेहरू अन्य बेलाको भन्दा जोखिममा छन् भनेरै भत्ता, बीमाको व्यवस्था गरिएको हो । राज्य तपाईंको साथमा छ, सुरक्षा दिन तयार छ भन्ने सन्देशसहित २५ लाखको बीमाको व्यवस्था गरिएको छ । राज्यले गर्नसक्ने, सम्भव भएका सबै काम सरकारले गरिरहेको छ ।
अन्त्यमा केही भन्नु छ कि ?
अहिले यो महामारी विश्वव्यापी छ । यो महामारीले साधन स्रोत सम्पन्न राष्ट्रलाई पनि गम्भीर विषय बनेको छ । ठीकै साधन स्रोत भए पनि अभावकै बीच व्यवस्थापन गरेर महामारीविरुद्ध लड्ने भनेको हामीबीचको एकता, साझा प्रतिबद्धता नै हो ।
त्यसैले नै यो लडाइँमा जित हासिल गर्न सकिन्छ । यो लडाइँ जात, धर्म, क्षेत्र, विचार, आस्था, पार्टी सबैभन्दा माथि छ । सबैको साझा दुश्मनका रूपमा रहेको यो रोगविरुद्ध नागरिकले मिलेरै लड्नुपर्छ ।