गाेरखापत्र अनलाइन
काठमाडाैँ, साउन २३ गते । खाडी मुलुक अर्थात् मध्यपूर्वमा १५ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको बताइन्छ । विश्वका अन्य मुलुकसँगै खाडीका मुलुकहरूमा पनि कोरोनाले असर गरेको छ ।
विश्वको अर्थतन्त्रमा नै ठूलो हलचल ल्याउने आकलन गर्न थालिएको छ । विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि दीर्घकालीन असर पार्ने बताइन्छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना सङ्क्रमणबाट अछुतो रहन सकेका छैनन् ।
खाडीका मुलुकहरूमा नेपालीको पछिल्लो अवस्था कस्तो छ र अगामी दिनमा नेपालीहरूको रोजगारीको अवस्था कस्तो रहला ? लगायत समसामयिक विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल (जोन) सँग गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ।
पछिल्लो समय खाडीलगायत मध्यपूर्वको पछिल्लो अवस्था के छ ? कोरोनाको कारण त्यहाँ रहेका नेपालीहरूले के–कस्ता समस्या भोग्नुपरेको अवस्था छ ?
पहिलो कुरा कोरोना महामारीको रोकथामको लागि मध्यपूर्वका सबै सरकार र यहाँका संयन्त्रहरू निरन्तर क्रियाशील रहेका छन् । तर कोरोना नियन्त्रण भने हुन सकेको छैन । विश्वको विकसित देश लण्डनमा कोरोनाका कारण मृत्युदर १५.२५ पुग्दा मध्यपूर्वमा यमनबाहेक अन्यमा सबैभन्दा अधिक साउदी अरबमा १.०६५ र सबैभन्दा कम कतारमा ०.२ ५ रहेको अवस्था छ ।
यस बीचमा कतिपय कम्पनीहरू बन्द भएका छन् । खासगरी सप्लाई कम्पनीहरू बढी प्रभावित भएका छन् । धेरै कम्पनीहरूले आवासीय अनुमति (अकामा) पनि नबनाएको, नवीकरण नगरेकोले थप पीडा दिएको छ । खाने बस्ने समस्या छ । आफैँ टिकट काटेर घर फर्किन्छु भन्दा पनि बहिर्गमन भिसाको समस्या छ । कतिपय आममाफीको तवरमा पाइने एक्जिट भिसाको पर्खाइमा रहेका छन् । महङ्गो चार्टर्ड विमान चढ्न घरबाट ऋण गरेर पैसा मगाइरहेको अवस्था पनि एकातिर छँदैछ ।
मध्यपूर्वमा १५ लाखको हाराहारीमा नेपाली रहेको बताइन्छ ? उनीहरूको दैनिकी कसरी चलेको छ ? मध्यपूर्वमा खान बस्न गाह्रो भएका अर्थात् रोजगार गुमाएका नेपालीको तथ्याङ्क कति छ ? जानकारी दिनुहोस् न ।
मध्यपूर्वको आम्दानीको मेरूदण्ड भनेकै कच्चा तेल र व्यापार हो । विश्व नै लकडाउन भएकोले गर्दा यस अवधिमा तेलको मूल्य र बिक्रीमा भारी गिरावटका साथै बाह्य व्यापार पनि धराशायी हुनगयो ।
तसर्थ ती क्षेत्रमा कार्यरत कामदारले रोजगारी पनि गुमाउन पुगे । यस भयावह अवस्थामा मध्यपूर्वमा क्रियाशील गैरआवासीय नेपाली सङ्घ लगायत सङ्घसंस्थाले नेपाली राजदूतावाससँग समन्वय गरी जीवन रक्षार्थ खाद्यान्न वितरण गर्यो, गरिरहेको छ । करिब दुईदेखि तीन लाख नेपाली कामदारले रोजगारी गुमाउँदैछन् ।
वैदेशिक रोजगार कम्पनीले रोजगारीमा पठाएका कामदारप्रति अधिकांशले आफनो जिम्मेवारबाट पन्छिएको भन्ने दूतावासले विज्ञप्ति जारी नै गरेर असन्तुष्ट जनाएको थियो । के वैदेशिक रोजगार कम्पनीहरू कामदारको समस्यामा गम्भीर हुन नसकेका हुन् त ? पहिला केही देशले त्यहाँ कार्यरत नेपालीलाई आफ्नो देशमा जानको लागि दबाब दिएको भन्ने सुनिने गरेको थियो तर अहिले धेरै कम्पनी खुल्नथाले कामदार काममा फर्कन थाले भन्ने कुरा सुन्नमा आएको छ । वास्तविकता के हो ?
यो यथार्थ हो । साथै कयौँ वैदेशिक रोजगार व्यवसायीहरूले नेपाली कामदारहरूलाई सहयोग गर्नुभएको सर्वविदितै छ, तर केही व्यवसायीका गैर जिम्मेवारी र लापरवाहीका कारण प्रवासमा धेरै नेपाली कामदार पीडित छन् । प्रायः कम्पनीहरू खुले पनि व्यापार भएको छैन । केही कम्पनीहरूले कामदारको भार धान्ने अवस्था छैन । काममा बोलाए पनि तलब दिने केही कुरा गर्दैनन् । कयौँ कामदार बेतलवी काम गर्न बाध्य हुने अवस्था सिर्जना हुन लागेको छ ।
अहिले कस्ता खाले कम्पनी, उद्योग, व्यवसाय खुलेका छन् ? त्यहाँका कम्पनीले के भन्ने गरेका छन् ?
विशेष गरी होटल, रेष्टुरेन्ट, कफी सप, निर्माणसँग सम्बन्धित कलकारखानाहरू पूर्ण रूपमा खुले पनि बिक्री वितरण नभएपछि अवस्था भयावह नै छ । त्यसैमाथि योे महामारी कहिलेसम्म लम्बिन्छ त्यो यकीन नभएकै कारण पनि जटिलता गम्भीर हुँदैगएको छ ।
पहिला धेरै नेपाली कामदार स्वदेश फर्कन राजदूतावासहरूमा आवेदन दिने गरेकोमा अहिले नेपाल फर्कन चाहनेको सङ्ख्या अत्यन्तै न्यून रहेको भन्ने बताइन्छ । यथार्थ के हो ?
केही हदसम्म सही हो तर यसको कारण मैले सुरूमै भनेको छु । यहाँ कामदारको सर्वाधिकार रोजगारदातामा निहित हुन्छ । जसकारण बहिर्गमन भिसासम्बन्धी जटिलता उत्पन्न भएकोले नियोगमा नामदर्ता गर्नेको सङ्ख्या न्यून हुँदैगएको देखिएको हो । अहिले पनि नेपालीहरू कार्यरत कम्पनीहरूले बहिर्गमन भिसाको कारण देखाउँदै बिना तलब कामदारहरूलाई क्याम्पमै राखेका छन् । कतिपय कम्पनीहरू महँगो चार्टर्ड फ्लाइटभन्दा व्यावसायिक उडानको पर्खाइमा रहेका छन् ।
बिना तलब आर्थिक अभावमा टिकट किन्न नसक्नुभएका आप्रवासी नेपाली कामदारहरूलाई यथासक्य छिटो स्वदेश पर्काउन पर्ने अहिलेको प्रमुख आवश्यकता हो । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा व्यवस्थाका लागि नेपाली राजदूतावास रियादले प्रकृयाको थालनी गरी पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरूको उद्धार गरिरहेको छ । जुन आफैँमा सराहनीय छ ।
खाडी मुलुकमा कोरोना सङ्क्रमण हटेसँगै ठूलो सङ्ख्यामा रोजगारी माग आउने बताइन्छ । अब आगामी दिनमा खाडी मुलुकहरूमा नेपालीहरूको रोजगारीमा अवसर कस्तो देख्न हुन्छ ?
जे–जे अड्कल काटिए पनि अर्थतन्त्र धराशायी भएको अवस्था छ । कम्पनीको अवस्थाको अध्ययन नगरी कामदार पठाउन हतार गर्नु दुर्घटना निमत्याउनु हो । विगतमा पनि केही म्यानपावरहरूले हचुवाको भरमा कामदार पठाउँदा कतिपय कामदारहरू पीडित बनेको तथ्यहरूले देखाएका छन् ।
कडाइका साथ वैदेशिक रोजगारी ऐन २०६४ अनुसार जिम्मेवारी बहन गर्न, गराउन आवश्यक छ । अर्काे यथार्थ, यो महामारीले केही कम्पनीहरू उठ्नै नसकिने गरी थलिने पक्का छ । यस्तो अवस्थामा बिना अध्ययन पुनः कामदारहरू पठाउनु वा आउनु भनेको जोखिमपूर्ण हुनेछ ।
समस्यामा परेका नेपालीलाई एनआरएनले मध्यपूर्वमा के सहयोग गर्दैछ ?
हामीले सामाजिक सञ्जालमार्फत सूचना निकालेर पीडितहरूमाझ सूचना प्रवाह गराइरन्छौँ । पीडितहरूको फोन कल र सामाजिक सञ्जालबाट प्राप्त जानकारीअनुसार अप्ठेरोमा परेकाहरूको समस्याको प्रकृति हेरी सोही अनुरूपको सहयोग गरिरहेका छौँ । यस कार्यमा नेपाली नियोग र यहाँस्थित क्रियाशील स्थानीय सङ्घ संस्थाको सहयोग पनि हामीलाई प्राप्त भएको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
महामारीमा सबै उमेर र वर्गका मानिसहरू आ–आफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनुहुन विनम्र आग्रह छ । अत्यावश्यक अवस्थाबाहेक वैकल्पिक व्यवस्था अथवा साधारणतः आफ्नो कार्यक्षेत्रमा दिनचर्या साधारण रूपले चलिरहेको व्यक्तिहरूकोरोना महामारी नरोकिएसम्म यथास्थितिमा रहन पनि आग्रह गर्न चाहन्छु । वर्तमान प्रतिकूल समय, नेपाल सरकारद्वारा गरिरहेको व्यवस्थापनहरू र दैनिक जीवनयापनका आर्थिक कारोबारहरूलाई मध्यनजरमा राखेर मात्र निर्णय लिनुहुन पनि सबैको ध्यानाकर्षण गराउन चहन्छु ।
यो समय जटिल भए पनि स्थायी नभई अस्थायी हो । केही समय धैर्य गरौँ । सजग र सुरक्षित रहँदै कोरोना महामारीबाट छिट्टै छुट्काराको कामना गरौँ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु ।