विश्वको सर्वोच्च शिखर सगरमाथाले चिनिएको हिमाली पर्यटनको प्रमुख गन्तव्यका रुपमा रहेको प्रदेश १ को सोलुखुम्बु भूगोलका हिसाबले विविधता रहेको जिल्ला हो । सोलुखुम्बुको दक्षिण पश्चिममा डाँडापारिको गाउँपालिका भनेर चिनिने लिखुपिके अवस्थित छ । साढे पाँच हजार जनसङ्ख्या र क्षेत्रफल १२४.३८ वर्ग किलोमिटर रहेको यो गाउँपालिका सदरमुकामबाट निकै टाढा रामेछाप र ओखलढुङ्गाको सिमानामा अवस्थित छ । यो गाउँपालिका कृषि उत्पादन र जलविद्युत् उत्पादनका दृष्टिले महìवपूर्ण मानिन्छ ।
लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतसँग गोरखापत्रका सन्तोष राउतले गर्नुभएको कुराकानी :
तपाईँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको तीन वर्ष पूरा भइसक्यो । यो अवधिको अनुभव कस्तो रह्यो ?
मुलुक पहिलोपटक नयाँ राजनीतिक तथा प्रशासनिक संरचनामा अगाडि बढेको सन्दर्भमा हाम्रा लागि चुनौती धेरै थिए । नयाँ अभ्यास भएकाले केही समयसम्म यस व्यवस्थाको कार्यान्वयनमा थुप्रै जटिलता आए । यद्यपि सम्भावना र चुनौतीबीच यस गाउँपालिकाले विकासका पूर्वाधारका रुपमा रहेका स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिजुली बत्ती तथा सूचना प्रविधिको क्षेत्रमा हामीले अल्पकालीन र दीर्घकालीन योजना बनाएर कामलाई अगाडि बढाइरहेका छौँ ।
यो तीन वर्षको अवधिमा जनताले अनुभूति गर्न सक्ने गरी गरेका काम के के हुन् ?
यो अवधिमा आम लिखुपिकेवासीले अनुभूत गर्न सक्ने धेरै काम गरेका छौँ । वडा नं ४ र ५ मा रहेको वर्षौ देखिको खानेपानीको समस्या समाधान गर्दै शुद्ध खानेपानी वितरण गर्ने कार्य भएको छ । एक घर एक धारा कार्यक्रमसमेत अन्तिम चरणमा रहेको छ । वडा नं ३ मा प्रदेश सरकारको आर्थिक सहायतामा सो कार्यक्रम चालू आर्थिक वर्षमा समेत सञ्चालनमा रहेको छ । वडा नं २ मा सङ्घीय सरकारबाट प्राप्त करिब सात करोड रुपियाँको बजेटमा करिब एक हजार दुई सय घरधुरीका लागि खानेपानी पु¥याउने उद्देश्यले गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गाउँपालिकाको सबै वडामा कम्तीमा कच्ची सडकको पहुँच पु¥याइएको छ ।
गाउँपालिकाको बृहत्तर हितमा धेरै योजना सम्पन्न भएका छन् भने कैँयौ योजना कार्यान्वयनका चरणमा छन् । स्थानीय तहका क्षेत्राधिकारभित्र पर्ने दर्जनौँ ऐन, कानुन र कार्यविधि बनाएर हामी अगाडि बढिरहेका छौँ ।
नयाँ संरचनामा पहिलो जनप्रतिनिधिका रुपमा काम गर्दा के कस्ता समस्या खेप्नुभयो ?
हामीले शून्यबाट कामको थालनी गर्नुप¥यो । यस्तो बेला विभिन्न खाले बाधा अप्ठ्यारा र चुनौती आउनु स्वभाविक थियो । विशेषतः पूर्वाधार निर्माणका क्षेत्रमा सामाजिक, राजनीतिक तथा कानुनी समस्यासँग जुध्नुपर्ने अवस्था आए । त्यसमाथि अझ आवश्यक ऐन, नियम र कानुन निर्माण गर्न सङ्घ र प्रदेश सरकारलाई पर्खिनुपर्ने तथा सङ्घ र प्रदेश सरकारले त्यस्ता कानुन निर्माण गर्न ढिलाई गर्दा हामीलाई पनि त्यसको असर प¥यो । अर्को कुरा कतिपय अवस्थामा सङ्घ र प्रदेश सरकारसँग आवश्यक समन्वय नहुँदा पनि धेरै किसिमका जटिलता भोग्नुपरेको हो ।
á आधाभन्दा बढी समय काम गरिसक्नुभयो । अब अर्काे चुनाव आउन दुई वर्ष पनि छैन । चुनाव ताका गरेका प्रतिबद्धता पूरा गर्दै हुनुहुन्छ होला नि ?
समयमा सङ्घ र प्रदेशले कानुन निर्माण नगर्दा केही बाधा सिर्जना भयो । स्थानीय भौगोलिक, सामाजिक, व्यवहारिक जटिलताका कारण पनि समस्या सिर्जना भएका छन् । यसले गर्दा चाहेअनुसार कार्यसम्पादन गर्न नपाएको तितो सत्य छर्लङ्गै छ । तर पनि निर्वाचन ताका हामी र हाम्रो पार्टीले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास थालनी भइसकेका छन् ।
यो गाउँपालिकाको मुख्य समस्या के छन् ? ती समस्या कसरी समाधान गर्ने सोच बनाउनुभएको छ ?
हामी दुर्गम हिमाली जिल्लाको अप्ठेरो भूगोल रहेका कारण अनेकौँ समस्या रहनु नौलो विषय होइन । सानो काम गर्न पनि धेरै बजेट खर्च हुन्छ । स्थानीय तहलाई जिम्मेवारी धेरै छ तर पर्याप्त स्रोत, साधन जनशक्ति छैन । कोरोना महामारीमा त्यही भयो । स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा माथिल्ला दुबै सरकार केही चुकेको महसुस गरिएको छ ।
बाढी पहिरोले बारम्बार क्षति पु¥याई सामान्य हिँडडुल गर्नसमेत कठिन हुने सडक सञ्जाल भएको हुँदा त्यसको दीर्घकालीन समाधान गर्न हामी प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी अगाडि बढ्न चाहन्छौँ । त्यसका लागि यस गाउँपालिकाबाट विशेष गरी वडा नं. २ यर्माखुमा रहेको पहिरो रोकथामको निम्ति प्रदेश सरकारसँग आवश्यक छलफल परामर्श भएको र छिट्टै सकरात्मक सहयोग हुनेमा हामी विश्वस्त छौँ । कृषि क्षेत्रमा हालसम्म गाउँपालिकाको आफ्नै अध्ययन र अनुभवमा किबी, अलैँची, चिया खेती, मौसमी, बेमौसमी तरकारी खेती, पशुपालनमा जोड दिएका छौँ । यसका लागि दुबै सरकारबाट सहयोग जुटाउने पहल भइरहेको छ ।
गाउँपालिकाको मुख्य पर्यटकीय स्थल पिके डाँडामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पदमार्ग खोल्ने, विदेशी तथा स्वदेशी पर्यटक लक्षित घरवास सञ्चालन गर्ने काम अगाडि बढाएका छौँ । त्यसका लागि अनुदान लागत साझेदारी गर्न दुबै सरकार विशेष गरी प्रदेश सरकारसमक्ष यस विषयमा गाउँपालिकाले ध्यानाकर्षण गराएको छ । यस किसिमका कार्यक्रम सञ्चालन गर्दा यहाँका करिब दुई हजार पाँच सय व्यक्ति प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ ।
गाउँपालिकाको समग्र विकासमा तपाईँले दिनुभएका प्राथमिकता के के हुन् ?
यस गाउँपालिकाको मुख्य प्राथमिकता भनेको स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, सूचना प्रविधि नै रहेका छन् । यसबाहेक विगत वर्षदेखि नै कृषि क्षेत्रमा अब्बल यस गाउँपालिकामा व्यावसायिक कृषि पनि प्राथमिकतामा छ ।
आफ्नो यो कार्यकालमा लिखुपिके गाउँपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
हाम्रो गाउँपालिका सदरमुकामबाट समेत धेरै टाढा रहेको र विकासमा पनि पछि परेकाले यसलाई जिल्लामै नमूना गाउँपालिका बनाउने सोचका साथ हामी काम गरिरहेका छौँ । पाँचवर्षे हाम्रो कार्यकालमा आधारभूत आवश्यकताका मुख्य विषयलाई समाधान गर्दै एक स्वस्थ, उन्नत, प्रगतिशील गाउँपालिका निर्माण गर्ने उद्देश्य रहेको छ । यस लक्ष्यलाई पूरा गर्न एक व्यक्ति वा दल विशेषको पहलले मात्र सम्भव नहुँने हुँदा सम्पूर्ण लिखुपिकेवासीको सहयोगको आवश्यकता छ ।
सडक यहाँको मुख्य समस्या हो । यस गाउँपालिकाबाट सदरमुकाम सल्लेरी जोड्ने जस्माने भञ्ज्याङ–तामाखानी हुँदै जाने सडक निर्माण अन्योलमा छ, किन ?
सदरमुकाम सल्लेरीसम्म सिधा यातायात सञ्चालन हुने यो सडकको निर्माणमा विगत लामो समयदेखि अवरोध भइरहेको सत्य हो । यस विषयमा गाउँपालिकाले निरन्तर पहल गरिरहेको छ । सोहीअनुरुप आ.व २०७६÷७७ मा यसका लागि छुट्याइएको रकम कानुनी जटिलताले खर्च गर्न सकिएन र अन्यन्त्र खर्च गर्नुप¥यो । चालू आर्थिक वर्षमा यो क्षेत्रमा रहेको वन सम्बन्धमा रहेको कानुनी जटिलता सम्बोधन गर्न सहजीकरण गरिने माथिल्लो तहका दुबै सरकारसँग अनुरोध गरिएको छ ।
जनता कोरोनाको महमारीबाट पीडित छन् । एकातिर रोगको त्रास छ, अर्काेतिर जीविकोपार्जन सङ्कटमा छ । जनतालाई नजिकको सरकारको अनुभूति दिन कति सफल हुनुभयो ?
यस गाउँपालिकाले विश्व स्वास्थ्य सङ्गठन र राज्यका तीनै तहका सरकारले अङ्गालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै रोकथामका लागि पहल गरिरहेको छ । यस क्रममा गाउँपालिकासँग रहेको सिमित स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्ने, गाउँपालिकाभित्रका सम्पूर्ण दीर्घरोगीहरूको लागि निःशुल्क औषधि वितरण गर्ने, गाउँपालिकाभित्र रहेका सातवटै स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति नियुक्ति गर्ने, महामारीबाट प्रभावित अति विपन्न समुदाय तथा व्यक्तिलाई राहत बाँड्ने जस्ता कार्य विशेष प्राथमिकताका साथ सञ्चालन भइरहेका छन । गाउँपालिकाले आफ्नै लगानीमा जिल्लामानै पहिलो पटक आरटी पीसीआर परीक्षणका लागि उपकरण खरिद गरी परीक्षण गरिरहेका छौँ ।