logo
२०८१ मंसिर ६ बिहीवार



भिजन २०२५ को अवधारणामा अगाडि बढेका छौँ

अन्तरवार्ता |


भिजन २०२५ को अवधारणामा अगाडि बढेका छौँ


गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते हुँदै छ । निजी क्षेत्रको छाता सङ्गठन महासङ्घको नेतृत्व विधानतः शेखर गोल्छाले गर्दै हुनुहुन्छ भने त्यसपछिको नेतृत्व वरिष्ठ उपाध्यक्षको चयन यस निर्वाचनको मुख्य आकर्षण हो । त्यही नेतृत्वका लागि हाल महासङ्घको उपाध्यक्षमै रहनुभएका व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आआफ्ना प्यानलसहित वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा महासङ्घको निर्वाचनमा प्यानलको तयारी र एजेन्डालगायतका विषयमा वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारसँग गोरखापत्रले अर्थवार्ता गरेको छ । प्रस्तुत छ गोरखापत्रका पत्रकार गोपालचन्द्र सुवेदीले चन्द्र ढकालसँग गर्नुभएको वार्ताको सम्पादित अंश । अर्का उम्मेदवार किशोर प्रधानसँगको वार्ता बुधवारको अङ्कमा प्रकाशन गरिने छ ।  

चुनावको तयारी कहाँ पुगेको छ ?
हाम्रो टिम निर्माणले नै धेरै कुराको सङ्केत गरिसकेको छ । महासङ्घलाई अहिलेको अवस्थामा कस्तो नेतृत्व चाहिन्छ र त्यसको प्रतिनिधित्व कसले गर्नसक्छ भन्ने देशभरका आमव्यवसायी साथीको सल्लाह सुझावअनुसार हामीले परिपक्व, जुझारु एवं भविष्यका चुनौतीको सामना गर्नसक्ने व्यावसायिक रूपमा समावेशी टिम निर्माण गरेका छौँ । आसन्न निर्वाचनपछि शेखर गोल्छाजीको नेतृत्वमा रहने महासङ्घलाई सफल बनाउने र त्यसलगत्तै भिजन २०२५ को अवधारणामा रहेर काम गर्ने योजनासहित हामी अगाडि बढेका छौँ ।

तपाईंको प्रतिस्पर्धी समूहको चुनावी रणनीतिलाई कसरी हेर्नुभएको छ ?
मैलेभन्दा पनि आमव्यवसायी मित्रहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने प्रश्न महŒवपूर्ण छ । महासङ्घका केही पदाधिकारीले पदीय मर्यादा बिर्सेर समग्र निजी क्षेत्रकै आत्मसम्मानमा चोट पु¥याउने काम गर्नुभएको आमव्यवसायी साथीहरूले मलाई भनिरहनुभएको छ । भोलि महासङ्घको अध्यक्ष हुने व्यक्तिले पदको मर्यादा राख्ने कि नराख्ने भन्ने चिन्ता मलाई छ । निवर्तमान अध्यक्ष पनि महासङ्घको बहालवाला पदाधिकारी भएकाले पदीय मर्यादा बिर्सनु हुँदैन । उहाँहरूका कारण महासङ्घकै शिर निहुरिनु नपरोस् भन्ने मेरो चिन्ता छ ।

शेखर गोल्छा विधानतः अध्यक्ष बन्ने निश्चित छ । तपाईं वरिष्ठ उपाध्यक्ष निर्वाचत हुनुभयो भने काम गर्न कत्तिको सहज होला ?
स्वाभाविक रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी कार्यकालका लागि अध्यक्षका रूपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुने छ । मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन, एक र एक जोडेर ११ बन्नेछ । निजी क्षेत्रको उन्नयनबिना समृद्धि सम्भव छैन भन्ने मेरो मान्यता छ । यस्तो बेला निजी क्षेत्र फुटेर नभई जुटेर मात्र सबैको भलो हुन्छ भन्नेमा म सधैँ अडिगसमेत भएकाले मलाई कुनै
समस्या पर्दैन ।

त्यसो भए तपाईंहरूबीचको मनमुटाव किन ?
यो प्रश्न त शेखरजीसँगै सोध्नु उचित होला । अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने मत बलियो हुँदा यसो गर्नु उचित हुँदैन । शेखरजीलाई महासङ्घले अध्यक्षका लागि चुनिसक्यो भनेर मैले नै उहाँलाई काँध थापेको थिएँ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने भए स्वाभाविक रूपमा मेरो पनि दाबी रहन्थ्यो होला तर मैले गोल्छाजीमाथि त्यस्तो अन्याय हुन दिइनँ । यद्यपि म उहाँलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ ? त्यसको मर्मलाई अहिले कसले मार्दै छ ? त्यो केका लागि ? मेरो मात्र नभई आमव्यवसायी साथीको यी प्रश्नको जवाफ उहाँले दिनैपर्छ । यद्यपि अब म यो अवस्थामा पुराना कुरा धेरै कोट्याउन चाहन्नँ, हामीले निर्वाचनपछि एउटा सन्देश दिनुछ । कठिन अवस्थामा रहेको महासङ्घलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामीभित्र विश्वास जगाउन हो ।

सहमतिको सम्भावना अझै छ ?
सम्भावनालाई अस्वीकार गर्न त सकिँदैन तर क्षीण देखेको छु । यसका लागि धेरै ढिलो भइसक्यो । निर्वाचनको परिणाम मोटामोटी आकलन भइसकेको अवस्थामा सहमतिका लागि मेरै टिमका साथीहरू अब तयार छैनन् । यद्यपि म कहिल्यै पनि सहमतिको विपक्षमा छैन तर सहमतिको प्रयास किन र केका लागि अथवा कसले र कुन समयमा ग¥यो भन्ने कुराको अन्तर्य बुझ्नु आवश्यक हुन्छ । म आफैँ उम्मेदवार भएकाले सहमति गरौँ भन्नुको अर्थ अर्को पक्षलाई छाड भन्ने बुझिने भएकाले त्यसमा अगुवाइ गर्न सकिनँ । अब ढिलो भइसक्यो ।

आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
म र हाम्रो टिम सुदूरपश्चिमको धनगढीदेखि पूर्वको भेडेटारसम्म चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका छौँ । यसबीच हामीले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरू तथा स्थानीय व्यवसायी साथीसँग भेटघाट तथा छलफलबाट म वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेकामा उहाँहरू निकै उत्साहित पाएँ मैले । त्यसैले निर्वाचनमा म र हाम्रो टिम विजयी हुने निश्चित छ । त्यसका तीनवटा प्रमुख आधार पनि छन् ः पहिलो वरिष्ठ उपाध्यक्षमा दिइएको मेरो उम्मेदवारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवं पेसागत लगानीकर्ताले महसुस गरेको अपनत्व । मैले महासङ्घको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत व्यवहारका कारण अधिकांश उद्योगी–व्यवसायीले त्यस्तो महसुस गर्नुभएको मैले बुझेको छु ।
त्यस्तै हाम्रो व्यावसायिक नेटवर्क नेपालका सबै जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैङ्क, इन्स्योरेन्स, मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्लाका व्यवसायी साथीसँग हामी जोडिएका छौँ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरू, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रका व्यवसायी साथीसँग निकै राम्रो अवस्था छ र अर्को महŒवपूर्ण आधार भनेको हाम्रो व्यावसायिक समावेशी टिम हो ।

तपाईंका एजेन्डाहरू केके हुन् ?
हामीले मूलतः एफएनसीसीआई भिजन २०२५ अन्तर्गत रहेर काम गर्नेछौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पुनर्संरचनादेखि महासङ्घलाई निजी क्षेत्रको थिङ्कट्याङ्कमा रूपान्तरण गर्ने र वास्तविक सङ्घीय नेतृत्वदायी सङ्गठन (एपेक्स बडी) निर्माण गर्ने योजना हाम्रो प्राथमिकतामा छन् । यस्तै जिल्ला, नगर र प्रदेश महासङ्घको आर्थिक सबलीकरण, बलियो राज्य–निजी क्षेत्र साझेदारी, एमएसएमईका लागि संरचनागत व्यवस्था हाम्रा योजना र एजेन्डा हुन् । हामी सङ्कटमा परेका उद्योग–व्यवसायका लागि उद्धारको पहल गर्नेछौँ भने लगानी आकर्षण, प्रोत्साहन र सहजीकरण तथा स्वच्छ व्यवसायको प्रवद्र्धन र सेवामा आधारित ज्ञान अर्थतन्त्रको प्रवद्र्धनमा पनि जोड दिनेछौँ । औद्योगिक शान्ति र रोजगारदाता–श्रमिक सम्बन्धको सुढृदीकरण, निर्यात प्रवद्र्धनका लागि विदेशी समकक्षीसँग साझेदारी, आर्थिक कूटनीति विस्तार, गैरभन्सार अवरोध हटाउने, आर्थिक गणना र एकीकृत तथ्याङ्कमा केन्द्रित हुने, परियोजना धितोमा लगानीको नीतिगत व्यवस्थामा जोड दिने, कर विवादको निरूपणलगायत महासङ्घले गर्नुपर्ने धेरै काम हामी नेतृत्वमा पुगेपछि गर्नेछौँ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?