logo
२०८१ जेष्ठ १२ शनिवार

 अन्तर्वार्ता  



तीन हप्ता कष्टपूर्ण छ, त्यसपछि सङ्क्रमणको 'चेन' तोडिन्छ

अन्तरवार्ता |
पढ्नै पर्ने |


तीन हप्ता कष्टपूर्ण छ, त्यसपछि सङ्क्रमणको 'चेन' तोडिन्छ


नेपाल अहिले कोभिड १९ को दोस्रो लहरसँग जुधिरहेको छ । अहिले दैनिक नौ हजार माथि कोभिडका नयाँ सङक्रमित थपिइरहेका छन् । यस बिषयमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग गोरखापत्र अनलाइनका लागि बिष्णु पाण्डेयले गर्नुभएको कुराकानी 
अहिलेको यो कोरोना अवस्था कहिलेसम्म रहन सक्छ ?
हामीले जनस्वास्वास्थ्यका मापदण्ड पालना ग¥यौं भने र तीन हप्ता हामी घरभित्रै बस्यौँ भने तेस्रो हप्ताबाट मात्र यसको चेन तोडिन्छ । अहिलेको यो अवस्था घट्दै जान्छ । यो तीन हप्ता चाहिँ हाम्रो लागि एकदमै कष्टपूर्ण छ । यो तीन हप्ता सबै नागरिकले दुःख कष्ट गरेर, मिठो मसिनो खाएर भए पनि घरभित्रै बस्ने, केटाकेटीलाई पनि घरभित्रै बस्न आग्रह गर्नुपर्छ । घर बाहिर निस्कनैपर्ने भए डबल मास्क लगाउने, सेनिटाईजर पटक पटक प्रयोग गर्ने, ६ फिट दुरी कायम गरेर मात्र हिंड्ने गर्नुपर्छ । भेटघाट, बैठक पनि सकभर नगर्ने र  गर्नैपर्ने भए झ्याल ढोका खोलेर गर्नुपर्छ यसो गर्दा भेन्टिलेसन प्रयाप्त मात्रामा भयो भने सर्ने सम्भावना कम हुन्छ । बिहे, ब्रतबन्ध, जात्राजस्ता हाम्रा साँस्कृतिक पर्वलाई अहिले स्थगित नै गर्नुपर्ने हुन्छ । किनभने जीवनको तुलनामा यी गौण हुन । सङ्क्रमण नै नभएका मानिसहरु पनि डरमा रहनुभएको छ । त्यसैले आत्मबल नै हाम्रो ठूलो हतियार भएकाले आत्मबल बलियो बनाउनु र्छ । हामीले तीन हप्ता आफ्नो आत्मबल बलियो पारी आफूलाई होम आईसोलेसनमा राख्न सक्यौं भने यसको सङ्क्रमण घट्दै जान्छ ।
स्वास्थ्य सङ्कटकाल लागु हुनुपर्छ भन्ने आवाज उठेको छ । के साँच्चिकै यो आवश्यक हो ?
हो, स्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने अवस्था देखिएको छ । किनभने स्वास्थ्य सङ्कटकाल लगाउने बित्तिकै सरकारले निजी अस्पतालमा भएको वेडहरु, त्यहाँको जनशक्तिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ । कति अस्पतालमा शैया हुँदाहुँदै पनि लुकाउने अवस्था देखिएको छ । त्यो खालको समस्या अन्त्यका लागि पनि स्वास्थ्य सङ्कटकाल लगाउँदा उपयोगी हुन्छ ।

पहिलो लहरको कोभिड १९ भन्दा दोस्रो लहरको कोभिड १९ कतिको सङ्क्रामक छ ?
गत साल हामीमा डर धेरै तर भाईरस कमजोर थियो । पोहोरसाल बेडको हाहाकार अक्सिजनको हाहाकार थिएन । योबाट पनि थाहा हुन्छ कि भाइरस कमजोर थियो । अहिलेको भाईरस पहिलेभन्दा दुई गुणा घातक देखिएको छ । गत वर्ष मृत्युदर ०.६ प्रतिशत थियो भने अहिले १ प्रतिशत पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने यो बढी सङ्क्रामक पनि छ र जोखिमयुक्त पनि । भारतमा पनि मृत्युदर पहिलेभन्दा वढी नै छ ।

कोरोनाविरुद्ध दोस्रो डोज खोप लगाीइसकेकालाई कत्तिको जोखिम छ ?
हामीलाई के भ्रम छ भने कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाइपछि कोरोना नै सर्दैन, त्यो चाहिँ गलत हो । दुई डोज खोप लगाएपछि पनि जनस्वाथ्यका मापदण्ड पालना गरिएन भने सङ्क्रमण हुनसक्छ । हामीले अरुलाई पनि सङ्क्रमण सार्न सक्छौँ । भ्याक्सिन नलगाएको व्यक्ति छ भने ऊ चाहिँ गम्भीर बन्न सक्छ । तर यत्ति हो कि दुई डोज खोप लगाएको व्यक्ति गम्भीर हुने वा मृत्यु हुने सम्भावना एकदमै न्यून हुन्छ । खोप लगाएको मान्छे निकै सुरक्षित हुन्छ । नेपालमा पनि दुई डोज खोप लगाएको व्यक्ति गम्भीर वा मृत्युकै मुखमा पुगेको अवस्था देखिएको छैन ।

कोभिडविरुद्ध सरकारले गरेका प्रयासहरु कतिको प्रभावकारी छ ?
हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा जति पनि सरकारको तर्फबाट कामहरु भएका छन् त्यो ठिकै मान्नुपर्छ । सरकारले जति काम गरेको छ त्यसको प्रशंसा गर्नुपर्छ । तर अझ धेरै काम गर्न बाँकी छ । जस्तै कन्ट्रयाक्ट ट्रेसिङको कामहरु प्रभावकारी भएको छैन । समुदायमा परीक्षणको मात्रा बढाउनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । खोपहरुको पहलमा पनि बिशेष ध्यान दिनुपर्छ । नागरीक सचेतना मुख्य कुरा हो । त्यसैले सरकार र जनता एकजुट हुन आवश्यक छ । सरकार र नागरिक एकजुट नभई हुदैन ।

महामारी नियन्त्रणमा चिकित्सक, अस्पताल र बिरामी स्वयम्को भूमिका कस्तो हुनुपर्छ ?
यस्तो बेलामा चिकित्सकरुले रातदिन नभनी काममा खटिरहनु भएको छ । यो प्रशंसनीय छ । चिकित्सकहरुले जति गर्नुभएको छ त्यो निकै महत्वपूर्ण छ । सेन्ट्रल कमाण्ड सिस्टम बनाएर जिल्लामा प्रोटोकलहरु समान गर्ने, भिडियो कन्फरेन्सबाट पनि जोडने हो भने उनिहरुको मनोवल बढ्छ र सेवा पनि गुणस्तरीय हुन्छ ।
अस्पतालहरुले शैया अभाव भयो भन्दै बिरामी फर्काउने, भर्ना नलिने गरेको देखियो त्यसो गर्नु हुदैन । किनभने अरबौँ लगानी गरेर अस्पताल निर्माण गरेका छन् । एक, डेढ लाख खर्च गरेर अक्सिजन प्लाण्ट लगाउने, अक्सिजन हाउस बनाउने, आईसियुको क्यापासिटि बढाउने, आफ्ना स्टाफहरुलाई आईसियु र भेन्टिलेटर अपरेट गर्न तालिम दिने यी कामहरु गर्न सकिन्छ । आफ्नोमा आएको बिरामीलाई गर्न सकेजति गर्ने र पठाउनै पर्ने भए कुनै अस्पतालसँग समन्वय गरेर रिफर गरिदिनुपर्छ । त्यो भयो भने बिरामिलाई चारैतिर भैतारीनु पर्दैन । यो बेलामा अस्पतालको काँधमा ठूलो जिम्मेवारी छ । अहिले अस्पतालहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनु जरुरी छ । अस्पताल भनेको मन्दिर हो, मन्दिर पवित्र र सबैका लागि समान हुनुपर्छ ।
बिरामीले पनि ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरमा बिमिराहरु देखापर्ने बित्तिकै पिसिआर जाँच गराउनुपर्छ । किनभने रोगको पहिचान नै आधा उपचार हो । होम आइसोलेशनको पनि आफ्नै गाइडलाइन छ । अक्सिजनको मात्रा ९२ भन्दा तल घट्यो भने नजिकैको फिभर क्लिनिकमा जाने । सामान्य ज्वरो छ भने औषधि लिएर घरमै बस्दा हुन्छ । बढि छ भने अस्पताल नै जानुपर्छ वा डक्टरलाई सम्पर्क गर्ने र सल्लाहअनुसार गर्नुपर्छ । होम आइशोलेसनमा बस्दा सामाजिक सञ्जालमा आउने नकारात्मक समाचारबाट टाढा रहनुपर्छ । त्यसले तनाव कम हुन्छ । रोग जित्ने प्रमुख कुरा आत्मबल नै हो । आत्मबल बलियो राख्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?