नेपालमा डिजिटल कारोबार सम्भव बनाउने एफवनसफ्ट समूहले गत आइतबार १८ वर्ष पूरा गरेको छ । डिजिटल कारोबार प्रवद्र्धनमा कम्पनीले गरिरहेका काम, डिजिटल भुक्तानीका परिदृश्य तथा भावी योजनाका सन्दर्भमा गोरखापत्रका विश्वास रेग्मीले सो समूहका संस्थापक एवं निर्देशक सुभाष शर्मासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नगदरहित अर्थात् डिजिटल कारोबारको प्रयोग पछिल्लो समय बढिरहेको छ । यसको पहुँच, साक्षरता, प्रयोग र विश्वसनीयताका हिसाबले अहिले हामी खास कुन चरणमा छौँ ?
हामी अझै पनि प्रारम्भिक चरणमा छौँ । ग्रामीण क्षेत्रसम्म प्रविधिको पहुँच पु-याउन धेरै समय लाग्छ । साक्षरता, पूर्वाधारको कमीका कारण यस्तो भएको हो तर पनि सुरुमै व्यापक प्रयोग भएकाले डिजिटल कारोबार निरन्तर बढिरहेको छ । यसलाई उत्साहप्रद अवस्था मान्न सकिन्छ । वालेटमार्फत हुने भुक्तानी सुरु गर्दा ई–सेवाले गर्नुपरेको दुःख अरू सेवा प्रदायकले गर्नुपरेको छैन ।
विगतमा अनलाइनबाट पैसा तिर्न पाए मात्र हुन्थ्यो भन्ने प्रयोगकर्ताको चाहना अहिले मेरो लागि कुन चाहिँ बढी प्रभावकारी हुन्छ भन्ने चरणमा आएको छ । वालेट प्रयोग गर्न सिकाउने अवस्थाबाट अहिले सेवा छनोटको अवस्थामा आइपुग्दा डिजिटल कारोबारको यात्रा सजिलो भएको छ । लामो समयदेखि हामीले यो क्षेत्रमा काम गरिरहेकाले प्रयोगकर्ता कस्तो सेवामा रुचि राख्छन् भन्ने बुझ्न सजिलो पनि भएको छ ।
डिजिटल कारोबार सहर केन्द्रित भयो र यसको लाभ ग्रामीण क्षेत्रमा पुग्न नसकेको चर्चा पनि हुने गरेको छ नि ?
ग्रामीण क्षेत्रमा डिजिटल कारोबारको व्यापक प्रयोग नहुनुको एक मात्र कारण पूर्वाधारकै अभाव हो । केही समयअघि मात्र गाउँमा इन्टरनेट प्रयोग गर्नै मुस्किल थियो । मोबाइलकै पहुँच थिएन तर त्यसको पहुँच बढ्दै जाँदा अहिले ग्रामीण क्षेत्रमा डिजिटल कारोबार बढिरहेको छ । गाउँमा जनसङ्ख्या नै कम हुने भएकाले त्यहाँ कम प्रयोगकर्ता देखाएको मात्र हो । वास्तवमा सहरमा भन्दा गाउँमै यसको प्रयोग बढी आवश्यक छ । सहरमा सजिलै बैङ्क सेवा उपलब्ध छ तर गाउँमा त्यसकै लागि दुई घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । त्यो अवस्थाले पनि गाउँलाई नै जरुरी देखिन्छ।
डिजिटल कारोबारको पहुँच बढाउन अहिले हामीसँग उपलब्ध पूर्वाधार कुन स्थितिमा छ ?
अहिले इन्टरनेटको विस्तार व्यापक छ तर पनि यो पर्याप्त नै भन्ने अवस्था होइन । यसलाई अझ प्रयोगकर्तामैत्री बनाउन आवश्यक छ । अझै पनि मोबाइल डेटा महँगो छ, कसरी सस्तोमा डेटा उपलब्ध गराउने भन्नेतर्फ काम गर्न बाँकी छ । यसमा हामी सबै सरोकारवाला मिलेर काम गर्न सक्ने ठाउँ छ । डिजिटल कारोबार गर्दा निश्चित छुट, सुविधाजस्ता धेरै मोडलमा सहकार्य आवश्यक छ ।
डिजिटल कारोबार प्रवद्र्धनमा अहिलेको मोबाइल डेटा शुल्क अवरोध हो ?
हो तर यसमा पनि हामीले प्रयोगकर्तालाई प्याकबाट चलाउन सिकायौँ भने चाहिँ त्यस्तो महँगो पनि छैन ।
कारोबारमा प्रयोगकर्ताको प्रवृत्ति र रुचि कस्तो छ ?
यो सामान्य आवश्यक सेवा नै हो, बत्ती, रिचार्ज, खानेपानीको बिल तिर्नेजस्ता कुरा । अब यसमै पनि प्रयोगकर्तालाई कहाँबाट आफूले भुक्तानी गर्दा धेरै क्यासब्याक पाउँछु, कसले कम शुल्क लिन्छ, कुन सजिलो छ भन्नेजस्ता कुरामा बढी रुचि देखिन्छ । अब प्रयोग गर्न सिकाउनेभन्दा प्रयोगकर्तालाई कसरी बढी कारोबार गर्न उत्प्रेरित गर्ने भन्नेतर्फ अग्रसर हुनुपर्छ ।
डिजिटल कारोबारका लागि आवश्यक पूर्वाधारमा ठूलो लगानी हुन्छ । तपाईंहरूले निकै सस्तोमा सेवा उपलब्ध गराइरहनुभएको छ, यसरी थेग्न सकिन्छ ?
यो हाम्रो लागि सधैँ खड्किरहेको कुरा हो । अहिलेसम्म हामीले जति आम्दानी गरेका छौँ, त्यो सबै डिजिटल कारोबारकै लागि लगानी गरिरहेका छौँ । पक्कै पनि हामीले दिइरहेको सेवाबाट लाभ कहिले लिने भन्ने प्रश्न त हुन्छ तर यति छिटै नै फाइदामा केन्द्रित भयौँ भने व्यवसाय अगाडि नजाला कि भन्ने पनि छ । हामी भर्खरै बानी पार्दै छाँैं, यस्तो बेलामा प्रयोगकर्तालाई झन् बढी सुविधा दिनु आवश्यक हुन्छ । यस्तो बेलामै हामीले सेवाको शुल्क लिन थाल्यौँ भने समस्या होला कि । अझै पनि ९० प्रतिशतभन्दा बढीलाई डिजिटल कारोबारमा ल्याउन बाँकी नै रहेकाले पहिले बजार निर्माणमा लाग्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले अहिले नै फाइदा सोच्ने बेला भएको छैन ।
डिजिटल भुक्तानीको सेवामा बढिरहेको प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
बजारमा प्रतिस्पर्धा हुनु राम्रो हो । त्यसलाई राष्ट्र बैङ्कले अनुमति पनि दिएको छ । यस्तो बेला कतिपयले सञ्चालन अनुमति लिइहालौँ भनेर पनि लिएका छन्, जसले गर्दा सेवा प्रदायकको सङ्ख्या बढी देखिएको छ । कतिपयले गम्भीर भएर नै लगानी गरिरहेका छन्, जुन् सकारात्मक कुरा हो ।
पछिल्लो समय खासगरी वालेटको प्रयोगमार्फत गैरकानुनी भुक्तानी बढिरहेको आरोप छ नि ?
भुक्तानी प्रणालीलाई किन डिजिटल बनाउनुपर्छ भन्नका लागि यो गहिरो सन्देश हो । किनकि विगतमा यस्तो काम नगदमा हुन्थ्यो, जुन देखिँदैनथ्यो तर डिजिटल कारोबारमा त यो सबै काम स्पष्ट देखिन्छ । कसले कसरी कारोबार गरिरहेको छ भन्ने हेर्न सकिन्छ । जब गलत उद्देश्यका लागि भुक्तानी हुन्छ, त्यस्तो अवस्थामा त तत्काल नै रोक्न सकिन्छ । ‘बेटिङ’मा हाम्रो प्लेटफर्म रोक्नका लागि हामीले प्रणाली बनाइसकेका छौँ ।
डिजिटल कारोबार प्रवद्र्धनमा नीतिगत सहयोग कत्तिको छ ? अवरोध कस्ता छन् ?
डिजिटल इकोसिस्टम बनाउन सरकारले तटस्थ बसेर हामीलाई नवीनतम सेवा सुरु गर्ने ठाउँ छाडिदिएको छ । नियामक पनि हामीले एकदमै राम्रो पाएका छौँ । नयाँ प्रविधि प्रवद्र्धन गर्न सही समयमा सही निर्देशिका आएको छ । नियामकले सन्तुलित भएर काम गरेकाले हामी सन्तुष्ट छौँ तर जुन गतिमा सरकारी सेवा डिजिटल प्रणालीभित्र आउनुपथ्र्यो, त्यो चाहिँ भएको छैन ।
डिजिटल ‘इकोसिस्टम’ निर्माणमा अहिलेका चुनौती के हुन् ?
अहिलेको मुख्य चुनौती भनेकै जनशक्ति हो । हामी विश्वमा प्रचलनमा रहेको सेवा दिन खोजिरहेका छौँ तर त्यस्तो गतिमा सेवा दिन पर्याप्त जनशक्ति छैन । अर्को चाहिँ लगानीको अभाव हो । त्यसपछि बजारमा पुग्न सरोकारवाला सबैको सहकार्य र समन्वयको अभाव हो ।
राष्ट्र बैङ्कले डिजिटल मुद्राको प्रयोगका विषयमा अध्ययन गरिरहेको छ, यसले डिजिटल कारोबारलाई कस्तो सहयोग पु-याउँछ ?
यो एकदमै स्वागतयोग्य कुरा हो । अबको गन्तव्य पनि यही हुनुपर्छ । यसले हाम्रोजस्तो कम्पनीलाई काम गर्न धेरै सजिलो हुन्छ । डिजिटल मुद्रासँगै अहिलेजस्तो दुई ठाउँमा ‘सेटलमेन्ट’ गरिरहनुपर्ने काम एकै ठाउँबाट हुन्छ ।
डिजिटल भुक्तानीमा तोकिएको कारोबार सीमाले बजारलाई असर त गरेको छैन ?
नियामकको हिसाबले यो असान्दर्भिक देखिन्न जसले राम्रोसँग हाम्रो सेवा प्रयोग गर्न सकिरहेका छैनन्, त्यहाँ बदमास प्रवेश गरेर ठगी गर्छन् कि भनेर यो सीमा राखिएको हो । अर्को पाटोबाट हेर्दा हामी डिजिटल कारोबार भन्ने अनि सबैतिर सीमा तोकिदिँदा समस्या पनि हुन सक्छ । यद्यपि म चाहिँ ग्राहकको संरक्षणको हिसाबले यसलाई ठीकै मान्छु । समग्रमा ग्राहकको आवश्यकता पहिचान गरेर सीमा निर्धारण गर्दा उपयुक्त हुन्छ ।
एफवनसफ्टले १८ वर्ष पूरा गरेको छ । डिजिटल कारोबार प्रवद्र्धनमा समूहका नयाँ योजना के छन् ?
अहिलेसम्म हामीले डिजिटल कारोबार भन्ने एजेन्डा स्थापित गर्न सफल भयौँ । यसबाट प्रयोगकर्तालाई कारोबार गर्न सहयोग भयो तर यसले तपाईँको जीवनमा के परिवर्तन ग-यो त ? अब समय बचेर फाइदा भयो भन्ने मात्र भन्दा पनि अरू फाइदा हुनुप-यो भन्नेतर्फ हाम्रो जोड हो । अबको हाम्रो सेवा भनेको ‘फोन लोन’ हो।
प्रविधिको प्रयोग गरेर सजिलै मोबाइलमार्फत ऋण उपलब्ध गराउन सक्यौँ भने बैङ्कलाई पनि नयाँ बजार हुन्छ । डिजिटल ऋण अबको आवश्यकता हो । विगतमा हामीले सजिलोका लागि सेवा दिइरहेका थियौँ भने अब चाहिँ मान्छेको जीवनमा साँच्चै प्रभाव ल्याउन सकिन्छ भन्नेतर्फ केन्द्रित छौँ । बैङ्कमा खाता खोल्ने प्रक्रियालाई पनि मोबाइलबाटै गराउनेतर्फ पनि हामीले काम गरिरहेका छौँ।