logo
२०८१ मंसिर ६ बिहीवार



यकिन भएन त्रिचन्द्र स्थापना दिन

मुख्य समाचार |


यकिन भएन त्रिचन्द्र स्थापना दिन



प्रकृति अधिकारी

काठमाडौँ, भदौ १० गते । राजधानीको प्रसिद्ध त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति अनुसन्धानकर्ताका लागि खोजको विषय बन्नसक्ने देखिएको छ ।
क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ । स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अङ्क सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन । त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । क्याम्पसका कर्मचारीहरू ७५औँ वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२औँ वर्ष मनाएको छ ।
क्याम्पसका प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेले झन्डै तीन दशकदेखि भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाइँदै आएको बताउँदै भन्नुभयो, “यो मितिका बारेमा म जवाफ दिनसक्ने अवस्थामा छैन । हामीसँग लिखत छैन । कुन र के आधारमा भदौ ५ लाई स्थापना दिवस मानियो भन्ने भन्न सक्दिनँ । ”
सन् १९९६ मा जिओ सोभेनियर नामक पुस्तिकामा इतिहासकार डा. राजेश गौतमले त्रिचन्द्र कलेजको सम्पूर्ण इतिहास लेख्नुभएको छ र त्यसमा उहाँले १९७५ साल भदौ १२ गते क्याम्पस स्थापना भएको उल्लेख गर्नुभएको छ । उहाँले ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ शीर्षक पुस्तकमा पनि सोही मिति लेख्नुभएको छ । उहाँका अनुसार सन् १९१६ डिसेम्बर ३१ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा कलेज खोल्ने कुराको तत्कालीन बेलायती रेजिडेन्ट बेलीलाई पत्र लेख्नुभएको थियो र लामो पत्राचारपछि पटना विश्वविद्यालयअन्तर्गत रहने गरी अनुमति सन् १९१८ अगष्ट १ मा दिइएको थियो । ब्रिटिस भारत सरकारले अनुमति दिएको २८ दिनपछि १९७५ साल भदौ १२ गते अर्थात् सन् १९१८ अगस्ट २८ मा त्रिचन्द्र कलेज स्थापना भएको थियो ।
तर नेपालको शिक्षाका इतिहासकार गोपीनाथ शर्माले ‘नेपालमा शिक्षाको इतिहास’ पुस्तकमा भदौ २७ गते अर्थात् सेप्टेम्बर १२ मा क्याम्पस स्थापना गरिएको भनी मिति उल्लेख गर्नुभएको छ । नेपालको बृहत्तर शैक्षिक इतिहासका लेखक प्रकाश लुइँटेलले पनि गोपीनाथले उल्लेख गर्नुभएको मिति लेख्नुभएको छ ।
गोरखापत्रको १९७५ सालको भदौको पहिलो अङ्कपछिको र असोजको दोस्रो सातापछिका अङ्कमात्र फेला पर्छ । पुराना गोरखापत्र सङ्ग्रह रहेका कुनै निकाय वा पुस्तकालयमा ती बीचका अङ्क फेला पर्दैनन् । ती अङ्क किन छापिएनन् वा छापिएर पनि सुरक्षित किन राखिएनन् भन्ने अर्काे खोजीको विषय बन्न सक्छ । त्यसबीचमा कलेज स्थापना भएकाले गोरखापत्रका ती अङ्क फेला पार्न सकिएमा त्रिचन्द्र कलेजको स्थापना मितिका बारेमा तथ्य सार्वजनिक हुनसक्ने प्रस्ट छ ।
वि.सं. १९७६ मा तत्कालीन राजा त्रिभुवनले वीर पुस्तकालय र घण्टाघरको बीचमा बनेको नयाँ भवनको कक्षाकोठामा लगाइएको चाँदीको ताल्चालाई चाँदीको साँचोबाट खोलेर उद्घाटन गरेको प्रसङ्गलाई डा. गौतमले पुस्तकमा चर्चा गर्नुभएको छ । त्यो बेला ७० हजार रुपियाँमा निर्माण गरिएको भवन यति बेला जीर्ण बनिसकेको छ । भवन पुरातŒव विभागले बनाउने वा कलेजले बनाउने भन्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । भवन निकै जीर्ण भए पनि त्यहाँ पठनपाठन हुँदै आएको छ ।
कलेज उद्घाटनका दिनमा आफ्नो खुट्टामा बन्चरो हानेको कुरा भनेका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफूसँग यस्तो कुरा बताएको भनी राममणि आदिले पुराना सम्झनामा उल्लेख गर्नुभएको छ, “हेर, आजको दिन राणा परिवारको निमित्त खुसीको दिन हुन आउने हो वा राणाको सर्वनाश गर्ने दिन हुन आउने हो । त्यसको केही ठेगान छैन । यो कलेज खुल्नाले परिणाममा राणाको असल होला भन्ने म त देख्दिनँ । काल बखत बेलाले मैले यो काम गर्नपर्ने आएको मात्र हो । ”
कलेजका तत्कालीन अध्यापक बालकृष्ण समले राणाहरू भारतमा गई क्रान्तिबाट प्रभावित नहून् भनेर नै कलेज स्थापना गरेको आफ्नो पुस्तकमा लेख्नुभएको छ । त्यो बेला सुरुमा पाँच जना विद्यार्थी भर्ना भएका थिए । अहिले ११ हजार विद्यार्थी अध्ययनरत छन् । सुरुमा आईए र आईएस्सीको पठनपाठन थालिएको कलेजमा १९८१ सालबाट बीएको पनि पठनपाठन थालियो । त्यसै वर्षबाट त्रिभुवन चन्द्र कलेजबाट छोट्याएर त्रिचन्द्र कलेज बनाइएको थियो । त्यो बेला पटना विश्वविद्यालयबाट प्राध्यापकहरू आएर परीक्षा लिन्थे र उत्तरपुस्तिका सँगै लिएर जान्थे । पछि नतिजा पठाइन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?