logo
२०८१ बैशाख २८ शुक्रवार



तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने

मुख्य समाचार |


तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने



देवबहादुर कुँवर

काठमाडौँ, भदौ १२ गते । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महिनामा दु्रतमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेको छ ।
हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि आगामी सन् २०८१ सालसम्म दु्रतमार्ग निर्माण हुने लक्ष्य राखिएको छ । नेपाली सेनाका द्रुतमार्ग परियोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले सरकारले दिएको समयावधि र डीपीआरमा उल्लेख मितिभन्दा अगाडि नै सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण भइरहेको दाबी गर्नुभयो । परियोजनाको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएको एक सातापछि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले ‘काठमाडौँँ–तराई÷मधेस द्रुतमार्ग’ प्रगति विवरण सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो ।
आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “खोकना क्षेत्रका धार्मिक तथा पुराताŒिवक सम्पदाहरू श्रीकाली मन्दिर र को–देश जोगाउन सडक निर्माणमा नयाँ रेखाङ्कन गरिएको छ । केही स्थानमा मुआब्जा समस्या रहेकाले जिल्ला प्रशासन कार्यालयबाट समाधान गर्ने प्रयास भइरहेको छ । ”
द्रुतमार्ग ललितपुरको खोकना प्रस्थान बिन्दुबाट मकवानपुर हँुदै बाराको निजगढसम्म चार लेनमा ७२.५ किलोमिटर लम्बाइको हुने छ । यो काठमाडौँ–तराई जोड्ने सबैभन्दा छोटो सडकमार्ग हो ।
एक खर्ब ७५ अर्ब बजेट
स्वीकृत डीपीआरमा दु्रतमार्ग निर्माणका लागि कुल एक खर्ब ७५ अर्ब रुपियाँ बजेट उल्लेख गरिएको छ । २०७४ साल साउनबाट सेनाले द्रुतमार्ग निर्माणको जिम्मेवारी लिएको थियो । सो एक वर्षको अवधिमा १४ अर्ब ७० करोड रुपियाँ खर्च भएको जनाइएको छ ।
यो बजेटबाट द्रुतमार्ग निर्माणको कुल कामको आठ प्रतिशत सम्पन्न भएको छ । पुल र सुरुङमार्गका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गर्ने तयारी भइरहेको सेनाले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि पाँच अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । डीपीआरले तीनवटा सुरुङमार्ग निर्माणको प्रस्ताव गरेसँगै सडकको लम्बाइ तीन दशमलव सात किलोमिटर घटे पनि बजेट भने बढेको छ । द्रुतमार्ग सेनाको प्रतिष्ठासँग जोडिएकाले निर्धारित समयमा सम्पन्न गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले समेत चासो लिनुभएको नेपाली सेनाले स्पष्ट गरेको छ । तीनवटा सुरुङमार्ग
दु्रतमार्गको महादेवडाँडामुनि तीन दशमलव ३५५ किलोमिटर, धेद्रेमा एक दशमलव ६३० किलोमिटर र लेनडाँडामा एक दशमलव ४३० किलोमिटर लम्बाइ गरी छ दशमलव ४१५ किलोमिटर ‘टु–वे टनेल’का तीनवटा सुरुङमार्ग निर्माण हुने छन् ।
डीपीआरमा तीनवटा सुरुङमार्ग प्रस्ताव गरेसँंगै द्रुतमार्गको लम्बाइ ७६ किलोमिटरबाट घटेर ७२ किलोमिटरमा झरेको हो । काठमाडौँसँग तराईलाई एक घण्टा दुई मिनेट ३३ सेकेन्डको यात्रामा जोड्न सकिने छ ।
तीनवटा सुरुङमार्ग जोड्न बीचमा दुइटा पुल निर्माण हुने छन् । सडकको चौडाइ पहाडमा २५ मिटर र तराईमा २७ मिटर हुने छ । सुरुङमार्गको निर्माण तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य सेनाको छ ।
रेखाङ्कन परिवर्तन
आयोजनाको स्वीकृत डीपीआरले खोकना र सुरुङमार्ग निर्माण हुने ठिङ्गन–लेनडाँडा इलाकाको रेखाङ्कन परिवर्तन गरेको छ । यसअघि एसियाली विकास बैङ्क (एडीबी)ले ती क्षेत्रमा सडक निर्माणको प्रस्ताव गरेको थियो ।
स्थानीयवासीको चर्को विरोधपछि सेनाले पनि सम्पदा जोगाउन सडकको रेखाङ्कन परिवर्तन गर्न सुझाएको थियो । मकवानपुर क्षेत्रको महादेवटार–लेनडाँडामुनि सुरुङ निर्माण हुने भएकाले रेखाङ्कन परिवर्तन गरिएको छ ।
द्रुत गतिमा काम
एसियाली स्तरको सडकको रूपमा निर्माण हुन लागेको द्रुतमार्ग निर्माणका क्रममा सानाठूला गरी करिब एक सय पुलको सङ्ख्या घटेर ८७ मा सीमित भएको छ । विशेष प्रकृतिको १६ र अन्य ७१ गरी ८७ पुल निर्माण हुने छन् ।
तीनवटा सुरुङमार्ग निर्माणको प्रस्तावसँगै पुलको सङ्ख्या घटेको हो । दु्रतमार्गको कुल लम्बाइमध्ये ५५.५ किलोमिटर सडकखण्ड, १०.५९ किलोमिटर पुल र ६.४१ किलोमिटर सुरुङमार्गले ओगटेको छ । दु्रतमार्ग निर्माणका लागि सहयोगी मार्ग तथा बेलिब्रिज निर्माण भइरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । खोकनादेखि निजगढसम्म विभिन्न १० स्थानमा सैनिक निर्माण बेस क्याम्प स्थापना गरिएको छ ।
त्यस्तै सडक कटिङका क्रममा सङ्कलन गरिएको ढुङ्गामाटो भण्डारण केन्द्र सञ्चालन गरिएका छन् । प्रवक्ता पाण्डेले सडक निर्माणकै क्रममा सङ्कलन भएको ढुङ्गामाटोलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिने जानकारी दिनुभयो । रूख कटान र जग्गा अधिग्रहणको ९५ प्रतिशत काम सम्पन्न भएको छ भने ५५.५ किलोमिटर सडकको कटिङ र फिलिङ कार्य ८७ प्रतिशत सम्पन्न भएको जनाइएको छ । डीपीआर स्वीकृतिपछि
सडकको गुणस्तर सुपरीवेक्षण र ल्याब टेस्ट हुने छ ।
हरियाली र वातावरणमैत्री
द्रुतमार्ग निर्माणका क्रममा १७ हजार ९८० वटा रूख कटान गरिएको छ । काट्नका लागि छपान भएका २८ हजार रूखमध्ये १८ हजार काट्न बाँकी छन् । सुरुङ निर्माणका कारण रूख कटान कम हुने दाबी सेनाको छ । त्यस्तै द्रुतमार्गको किनारा तथा सामुदायिक वन र सार्वजनिक स्थानमा वृक्षरोपण गर्न सेनाले एक लाख बिरुवा उमारेको छ । ती वनस्पति रोप्नयोग्य भएमा सडक निर्माणसँगै वृक्षरोपण गरिने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?