logo
२०८१ मंसिर ६ बिहीवार



सगरमाथा संवादको कार्यसूची तय

मुख्य समाचार |


सगरमाथा संवादको कार्यसूची तय


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १४ गते । नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ । संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहनुभएको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो ।
कार्यसूचीअन्तर्गत बैठकले संवादको पहिलो संस्करणको मिति तय गरेको संवादका लागि गठन भएको सचिवालय संयोजक कुमारराज खरेलले जानकारी दिनुभयो । जसअनुसार आउँदो अप्रिल ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मार्चको अन्तिम साता संवाद गर्ने भनिएको थियो । मन्त्री ज्ञवालीले संवादको नेतृत्व परराष्ट्र मन्त्रालयले गरे पनि यो सबै मन्त्रालयको आफ्नो कार्यक्रम भएकाले सहकार्यका लागि बैठकमार्फत आह्वान गर्नुभएको थियो ।
“मुख्य विषय र सहायक शीर्षकमा छलफल भयोे तर ‘थिम’का बारेमा अझै स्पष्ट हुन बाँकी छ”, उहाँले भन्नुभयो, “संवादको अवधारणालाई थप प्रष्ट बनाउने आधार भने तय गरियो । ” मुख्य कार्यसूचीअनुसार सगरमाथा संवाद जलवायु परिवर्तन र यसले विश्वमा पारेको असरको सेरोफेरोमा केन्द्रित हुनेछ तर त्यसलाई आकर्षक ढङ्गले प्रस्तुत गर्न अझै छलफल गरी तय गरिने खरेलले बताउनुभयो । संवादको पहिलो संस्करण सञ्चालनका लागि बैठकले मुख्य समितिलाई सल्लाह दिएर बलियो बनाउन विज्ञ कार्यदल गठन गरेको छ । एघार सदस्यीय समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली रहनुभएको छ ।
समूहले संवादमा छलफल हुने विषयवस्तुमा परामर्श दिने, कार्यपत्र तयार पार्ने र विभिन्न सत्रमा प्रस्तुत हुने कार्यपत्रको कार्यसूची तयार गर्नेछ, खरेलले थप्नुभयो, काम सहज बनाउन कार्यदलले अन्य उपसमिति गठन गर्न पाउने अधिकार समेत दिइएको छ ।
तयारीका रूपमा आउँदो असोज १ गते राष्ट्रिय परामर्श सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा संवादको मुख्य विषयवस्तुका विषय विज्ञलाई आमन्त्रण गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने मुद्दा के के हुन् भन्ने परामर्श राष्ट्रिय सम्मेलनले गर्नेछ ।
तिहारपछि भने अन्तर्राष्ट्रिय संवादमा आउने चुनौती बुझ्न र सहज सञ्चालन गर्न सगरमाथा राष्ट्रिय संवाद गर्ने बैठकले निर्णय गरेको खरेलले जानकारी दिनुभयो ।
निर्देशक समिति दस सदस्यीय रहेको छ भने आयोजक समिति २१ सदस्यीय रहेको छ । दुवैको संयोजक परराष्ट्रमन्त्री रहनुभएको छ । निर्देशक समितिका सदस्यहरूमा अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, कुलचन्द्र गौतम, कानुनविद् विपीन अधिकारी, प्रा.डा. खड्ग केसी रहनुभएको छ । शुक्रबारको बैठकमा भने अर्थमन्त्री खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य तथा विभिन्न सम्बन्धित मन्त्रालयका सचिवहरूको बैठकमा सहभागिता थियो ।
अब आन्तरिक रूपमा सचिवालयले गर्नुपर्ने कामको थालनी हुने जनाइएको छ । खरेलका अनुसार सगरमाथा संवादको कार्यविधि बनाउने, बजेट तय गर्ने, कर्मचारी नियुक्ति र खटनपटन गर्ने, वेबसाइट निर्माण गर्ने, लोगो तयार गर्ने, निमन्त्रणापत्र तयार गर्ने, बोलाउने अतिथिको सूची तयार गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?