चाँदनी हमाल
काठमाडौँ, भदौ १५ गते । कोही पनि व्यक्तिको बास सडकमा नहोस् । कसैले पनि एउटा मानवले पाउनुपर्ने न्यूनतम अधिकार गाँस, बास र कपासबाट वञ्चित हुने अवस्था अन्त्य हुनुपर्छ । यही भावनाका साथ नेपाललाई २०८२ सालसम्म सडक मानवमुक्त बनाउने अभियान मानव सेवा आश्रमले सुरु गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको हैसियतले मानवीयताको बलियो उदाहरण नेपालको तर्फबाट विश्वमञ्चमा प्रस्तुत गर्ने यस लक्ष्यमा सरकारले पनि हातेमालो गरेको छ । यस अभियानले दिगो विकासको लक्ष्य भेट्न र नेपालमा गरिब र गरिबीको सङ्ख्या घटाउन सहायक हुने विश्वास सरकारी पक्ष र अभियन्ताले राखेका छन् ।
यही उद्देश्यलाई पूरा गर्न सरकारले चालू आर्थिक वर्षको वार्षिक बजेटको ७३ नम्बरमा अशक्त, असहाय र बेवारिसे मनोसामाजिक बिरामीको उपचार र पुनस्र्थापना गरिने छ भनिएको छ । त्यस्तै ९९ नम्बरमा नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यको हैसियतमा नेपालले प्रभावकारी, निष्पक्ष र रचनात्मक भूमिका निर्वाह गरी मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउनेछ भन्ने उल्लेख छ ।
नीति तथा कार्यक्रमको १६ नम्बरमा ‘समृद्ध नेपाल सुखी नेपाली’को केन्द्रविन्दु हरेक आमनेपाली हुनेछ । सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ भन्ने लक्ष्यसमेत रहेको छ । नीति तथा कार्यक्रमको यी सबै कथनको अर्थ नेपालका कुनै पनि नागरिक अनागरिकको हैसियतमा बस्नु नपरोस् भन्ने हो । प्रत्येक नागरिकले राज्यका तर्फबाट पाउनुपर्ने सेवा, सुविधा र हकअधिकार दिने प्रस्ट उद्देश्य सरकारको छ ।
राज्यले गर्नुपर्ने दायित्वलाई आफ्नो पनि दायित्व भएको बोध गर्दै हातेमालो गरेर अगाडि बढेको एउटा समूह सरकारको आँखामा परिसकेको छ । त्यसैले सहयोगापेक्षी सडक मानवमुक्त नेपाल बनाउने अभियानमा त्यो समूह २०६९ सालदेखि अग्रसर छ । सात वर्षअघि मकवानपुरको हेटौँडामा केही सहयोगी मनका युवा समूहले सडकमा अलपत्र परेका असहायका लागि पिकनिक कार्यक्रम सञ्चालन गरेको थियो ।
त्यही मेसोमा दुःखीलाई सेवा गरौँ भन्ने भावना सहयोगी मनकी रमा अर्यालमा पनि पलायो । “हेटौँडा जाँदा वनभोज कार्यक्रम रहेछ, त्यहाँ सहभागी भएपछि निरन्तर सेवामा छु,” उहाँ सम्झनुहुन्छ । तीन वर्षका गौरवलाई घर तथा आमाबाबुबाट पाउनुपर्ने माया र संस्कार दिएर आफ्नै संरक्षणमा हुर्काउँदै हुनुहुन्छ ।
उहाँजस्तै अभियानको नेतृत्वमा रहनुभएका रामजी अधिकारी, यशोदा बर्तौला, रूपा केसी, सिर्जना वली, सुमन अधिकारी लगायतका धेरै सहयोगी भावनाका व्यक्तिहरू निरन्तर सेवामा रहेका छन् । हेटौँडा उपमहानगरपालिका वातावरण महाशाखाका पदाधिकारी धु्रव भुजेल सुरुआती दिनबाटै साथै हुनुहुन्छ ।
“पिकनिक कार्यक्रममा सडकमा मानवलाई नुहाउने, सफा गर्ने, नयाँ कपडा लगाउने र मिठो खाना खुवाउने गरियो,” भुजेलले सम्झनुभयो, “त्यसपछि फेरि उहाँहरूलाई सडकमै छाड्ने कुरा आयो ।” त्यति गरिसकेपछि फेरि सडकमै पठाउँदा सबैको मन अमिलो बन्यो । मकवानपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई तथा उपमहानगरले सडक मानवलाई व्यवस्थित गर्न पहल थाल्यो ।
“आवश्यक पर्ने घरभाडा हामी उपलब्ध गराउँछौँ, तपाईंहरू अरू व्यवस्थापकीय काम गर्नुस् भन्ने कुरा भएपछि सहर्ष स्वीकारेर आश्रममा सेवा गर्न बस्नुभयो,” भुजेलले पुराना दिन सम्झनुभयो । त्यहीबेला मानव सेवा आश्रमको जन्म हुनपुग्यो । सहयोगापेक्षीलाई सहयोग गर्न प्रत्येक टोल विकास संस्थालाई परिचालन नै ग¥यो । त्यो बेला १९३ टोल विकास थियो । भुजेलले सामाजिक विकास अधिकृतको हैसियतले सबै समन्वय गर्नुभयो ।
अभियन्ताले मुठीदानको अभियान सञ्चालन गरेर सडक मानवको भरणपोषण थाले । हेटौँडाबाट बालेको दीयो आज नेपालभर फैलिएको देख्दा उहाँ दङ्ग हुनुहुन्छ । सडकमा मागेर खानुपर्ने भीखमङ्गाको देश नभएर सुन्दर देश बनाउने अभियानमा यसले सहयोग पु¥याउने उहाँ बताउनुहुन्छ । २०७५ फागुन ४ गते मकवानपुर जिल्ला सडक मानवमुक्त जिल्ला घोषणा भइसकेको छ । पाँच करोडको लागतमा आश्रमको आफ्नै भवन बनिसकेको छ । त्यहाँ करिब दुई सय सडक मानव र असहाय राख्न सकिन्छ ।
यसरी जारी छ मानव सेवा
मकवानपुरको हेटौँडाबाट सुरु भएको सडक मानव उद्धार अभियान यतिबेला देशव्यापी बनेको छ । शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन विवश घरबारविहीन, बेसहारा, परित्यक्त, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवरहित नेपाल निर्माणको १० वर्षे लक्ष्यमा अघि बढेको छ ।
सातै प्रदेशका १४ जिल्लामा १५ वटा आश्रममा सडक मानव र असहायलाई सेवा दिइरहेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । कोही पनि नागरिक घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था सिर्जना गर्न निरन्तर असल, चरित्रवान र संस्कारी नागरिक निर्माणका लागि विविध परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । देशभरि गरी आश्रममा नौ सय जना असहाय व्यक्ति छन् । उहाँका अनुसार अल्पकालीन सेवा लिने झन्डै दुई सय छन् । ६५० बढीलाई पारिवारिक पुनर्मिलन गराइएको छ । हालसम्म करिब दुई हजार असहायले आश्रमबाट लाभ लिएका छन् ।
उहाँका अनुसार मानसिक उपचारका लागि पाटनस्थित मानसिक अस्पतालले सहयोग गरिरहेको छ । “कसैले मुठीदान गर्नुहुन्छ, कसैले जन्म दिन त कसैले विवाहको वर्षगाँठको खर्च दिनुहुन्छ,” अधिकारीले थप्नुभयो, “कसैले बाबुनानी पढाउने खर्च दिनुहुन्छ त कसैले एक दिनभरिको जिम्मेवारी लिनुहुन्छ ।” ‘तपाईंको एक दिन मानव सेवा आश्रममा’ भन्ने अभियान पनि चलाएका कारण जो कोही सकेको सहयोग गर्न तम्सन थालेको उहाँ बताउनुहुन्छ ।
दीर्घकालीन योजना र व्यवस्थापनका लागि १०–१० करोड रुपियाँको छुट्टाछुट्टै अक्षयकोष खडा गर्ने आश्रमको योजना छ । जसअनुसार पोखरामा मानवीयताको उदाहरण विश्वलाई दिनसक्ने परियोजना सञ्चालन प्रक्रियासमेत अघि बढिसकेको अधिकारीले जानकारी दिनुभयो । मकवानपुरजस्तै गोरखा नगरपालिका पनि सडक मानवमुक्त जिल्ला घोषणा भएको छ । पशुपति क्षेत्रलाई भीखमाग्नेमुक्त क्षेत्र घोषणा गरी थप सुधारका प्रयास भइरहेको छ ।
उदाहरणीय साझेदारी
हालै मात्र काठमाडौँ महानगरपालिकाले आश्रमका लागि सवारी साधन हस्तान्तरण ग¥यो । सवारी साधन देशभरका सडक मानव उद्धार तथा पारिवारिक पुनर्मिलनका लागि उपयोग हुने जनाइएको छ । करिब २६ लाख रुपियाँ बराबरको सवारी साधनका लागि महानगरले १६ लाख रुपियाँ प्रदान गरेको छ । यति मात्र हैन, सामाखुसी र बूढानीलकण्ठस्थित आश्रमको मासिक घरभाडा उसैले तिरिदिँदै आएको छ ।
त्यस्तै बूढानीलकण्ठमा आश्रमको भवन बनाउन बहुवर्षीय योजनामा साझेदारी गरेको छ । जसका लागि यसै वर्ष तीन करोड रुपियाँ बजेट विनियोजन भइसकेको महानगरस्थित सहरी विकास आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।
स्मार्ट सिटीको चारवटा मुख्य तìवमध्ये स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थव्यवस्था र स्मार्ट भौतिक संरचना पर्छ । जबसम्म सडकमा मनोरोगी, असहाय, असक्त, हेपिएका, पिछडिएका रहन्छन्, तबसम्म स्मार्ट जनताको अर्थ नहुने बस्नेत बताउनुहुन्छ ।
“यो स्मार्ट मात्र हैन, मानवतापूर्ण भावनाले व्यवस्थापन गर्ने कार्य हो, हामीले मात्र हैन, जुनसुकै नगरपालिकाले पनि यो कुराको सम्बोधन गर्नैपर्छ, उहाँ भन्नुहुन्छ । सडकको छाडा गाईवस्तु, छाडा कुकुरको पनि व्यवस्थापन सुरु भएको बेला सडक मानव व्यवस्थापन गर्नु झन् महìवपूर्ण रहेको उहाँ औँल्याउनुहुन्छ । राज्यले गर्नुपर्ने काम एउटा जागरुक समूहले गर्दा सरकारको ठूलो स्रोत बचत भइरहेको छ, हामीले दिएको सहयोग अभियन्ताका लागि पूर्ण हैन, उहाँले प्रस्ट्याउनुभयो– हामीले धेरै गर्नुपर्नेछ ।
उहाँको भनाइलाई थप पुष्टि गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले निरन्तर सडक मानवमुक्त महानगपालिका बनाउन साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभयो । “स्थानीय तहको निर्वाचन सकिनेबित्तिकै आफू आश्रम पुग्दा मन पग्लिएको थियो,” उहाँले भन्नुभयो, “सोहीअनुरूप सम्झौता गरेरै सहकार्य गरिरहेका छौँ ।”
उपप्रमुख हरिप्रभा खड्गीले राजनीतिको मर्मअनुसार मानव सेवा गर्नु विश्वमै उदाहरणीय हुने धारणा व्यक्त गर्नुभयो । “छोराछोरी सबै विदेशमा बस्न थालेपछि हरेक आमाबुवा असहाय र सडकमा पुग्ने अवस्था जोकोहीको घरमा आउनसक्छ,” उहाँ भन्नुहुन्छ, “के थाहा हामी पनि आश्रममै बस्नुपर्ने हो कि, त्यसैले देशभरका आश्रमलाई प्रवद्र्धन र सहयोग गर्नुपर्छ ।”
मानव सेवा आश्रम जरुरी
नेपालमा वृद्धाश्रमभन्दा मानव सेवा आश्रम जरुरी रहेको वरिष्ठ समाजसेवी तथा अभियन्ता गोविन्द टण्डन औँल्याउनुहुन्छ । टण्डन हाल आश्रममको अभिभावक हुनुहुन्छ । उहाँ वृद्धाश्रमले हाम्रा अभिभावकलाई आश्रममा लग्ने परिपाटीलाई प्रोत्साहन दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही स्थानमा जसको हेर्ने नै कोही छैन, त्यो ठाउँमा जरुरी छ तर सबैतिर वृद्धाश्रम खोल्ने हो भने हाम्रा आमाबाबुप्रतिको
हामीमा जुन श्रद्धा र सद्भाव छ, त्यो पनि घट्दै जान्छ ।”
उहाँका अनुसार मानव सेवा आश्रममा भर्खर जन्मेका केटाकेटीदेखि लिएर वृद्ध जो पनि रहनसक्छ । महिला–पुरुष जो पनि रहनसक्छ । “सडकमा जहिलेसम्म सहयोगापेक्षी व्यक्तिहरू रहन्छन्, तबसम्म देशले जति नै उन्नति गरे पनि त्यसको कुनै अर्थ रहँदैन ।