चाँदनी हमाल/यलु जोशी
काठमाडौँ, भदौ १७ गते । हरितालिका तीजका दिन व्रतालु महिलाको भीड वसन्तपुरस्थित मखन महादेवको मन्दिरमा पनि उस्तै रह्यो । राजधानीको मध्य भागमा रहेको हुनाले पनि यहाँ आउन र फर्कन सहज रहेकाले राति २ बजेदेखि नै श्रद्धालु महिलाको भीड बढेको हो ।
बालबालिका, ज्येष्ठ नागरिक र महिला पशुपतिनाथको मन्दिर प्रवेश गर्न लामो समय लाइनमा बस्नुपर्ने, भीडले अप्ठेरो हुने र बिरामीसमेत हुने गरेका छन् । “आमालाई पनि अप्ठेरो नहोस् भनेर यहाँ लिएर आएकी हुँ,” स्वयम्भूकी रोजिना थापाले भन्नुभयो, “भगवान् जहाँ पनि उही हुन्, यहाँ पनि महादेवकै पूजा गरिने हो ।”
पशुपति जत्तिको नभए पनि करिब एक घन्टा लाइन भने बस्नुपरेको आमा बिन्दा थापाले जानकारी दिनुभयो । पशुपति जत्तिको टाढा नभएकाले आफूहरू मखन महादेवको पूजा गर्न आएको मुना मैनाली र कमला मैनाली बताउनुहुन्छ । “कहिलेकाहीँ उता जाने हो, सधँै नजिकको तीर्थ हेला गर्नु त भएन नि,” कमला मैनालीले थप्नुभयो ।
भेडासिं चोककी सङ्गीता सुवेदी आफ्ना दुई बच्चासहित मन्दिरमा भेटिनुभयो । उहाँका साथमा बहिनी पवित्रा गौतम र उहाँकी एक वर्षकी छोरी पनि साथै थिए । “पशुपतिमा बालबच्चा धेरै नै बिचल्लीमा पर्ने, हराउने गरेकाले मखन महादेव मन्दिर आएको सङ्गीताले बताउनुभयो । “बच्चा भएका महिलालाई पशुपतिको लाम कुर्न गाह्रै हुन्छ,” उहाँ भन्नुहुन्छ, “यहाँ लाइन सानो छ, बैनी र म पालैसँग दर्शन गर्न र पूजा गर्न पाइहाल्छौँ ।”
जुन मन्दिरमा गए पनि महादेवको दर्शन नै गर्ने मनसाय भएकाले पशुपति नै पुग्नुपर्छ भन्ने मान्यता श्रद्धालु राख्दैनन् । खस, बाहुन समुदायका मात्र हैन, अन्य जनजाति तथा समुदायका महिला पनि तीजमा श्रीमान्को दीर्घायु र उन्नतिको कामना गर्दै निर्जला व्रत बसेर महादेवको पूजा गर्नुहुन्छ ।
कलङ्कीबाट मखन आइपुग्नुभएकी शर्मिला तामाङले भन्नुभयो, “अरूको जस्तै मेरो श्रीमान्को राम्रो होस् भनेर बिहानैदेखि पानी पनि नपिएर व्रत बसेकी छु, “माया गर्ने मान्छेका लागि यति गर्नु ठूलो कुरा हैन ।” छोरीसहित उहाँ सजिलोका लागि मखन आउनुभएको बताउनुहुन्छ ।
वीरगञ्जकी शान्तिदेवी पनि तीजमा श्रीमान् र परिवारको राम्रो होस् भन्दा आफ्नो पनि राम्रो हुने विश्वास राख्नुहुन्छ । सके पानी पनि नखाने, नसके दिउँसो पानी र फलफूल खाने उहाँले बताउनुभयो ।
उहाँसँगै आउनुभएकी शान्ता बर्तौला छ महिनाकी छोरी र आठ वर्षका छोरासहित महादेवको मन्दिरमा तीज मनाउन आउनुभएको थियो ।
बालबच्चा भएकालाई मखन महादेव नै पशुपतिसरह रहेको उहाँ बताउनुहुन्छ । माछापोखरीदेखि मखनमा पूजा गर्न आउनुभएकी बिहे नभएका किशोरी एलिसा र निशाले भविष्यको आफ्नो श्रीमान् सद्गुणी होस् भनेर वर मागेको बताउनुभयो ।
महादेवको मन्दिरमा आउने व्रतालु महिलालाई पूजा सामग्री उपलब्ध गराउन रातिदेखि नै आसपासका साना व्यवसायीको ठूलो भीड थियो । “राति २ बजेदेखि बसेको अहिलेसम्म फुर्सद भएको छैन,” उहाँले पूजा सामग्री दिँदै भन्नुभयो, “अक्षता, सौभाग्य, धतुरो, बेलपत्र, अम्बा, फूल, धुप, नैवेद्य सबैथोक छ ।” फूल सकिएपछि फूलको पात केलाउँदै गर्नुभएकी अङ्किता श्रेष्ठलाई पनि दिनभरि भ्याइ नभ्याई भयो ।
व्रतालुको व्यवस्थापन गर्न महादेव मखन क्लबले स्वयंसेवी खटाएका थिए । पिउने पानी, निःशुल्क स्वास्थ्य शिविरसँगै साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । महिला श्रद्धालु पूजा सकेपछि तीजको गीतमा दिनभर नाँच्दै गाउँदै रमे ।
पर्यटकीय तथा ऐतिहासिक सम्पदा क्षेत्र वसन्तपुर रहेकाले घुम्न आउने पर्यटकले समेत तीजको रौनकको मजा लिए । सबै महिला राता झिलिमिली देखेर अनौठो मान्दै फोटो खिच्ने पर्यटकले अर्को छुट्टै माहोल देखिन्थ्यो । हिजैदेखि नेपाली महिलाले रातो लगाएको देखेका केही पर्यटकसमेत राता लामा कपडा लगाएर आएका भेटिए ।
ऐतिहासिक क्षेत्रमा बनेको महादेवको महìव पशुपतिको भन्दा अलग रहेको स्थानीय बताउँछन् । जसरी उपत्यकाको सुरक्षाका लागि देवीको स्थापना चार किल्लामा गरिएका थिए । त्यसैगरी आन्तरिक शान्ति सुरक्षाका लागि महादेवको मन्दिर स्थापना भएको किम्वदन्ती रहेको पाइन्छ ।
‘नाच्दै गाउँदै सबै जना सेल्फी खिचिन्छ’
‘दिदी बहिनी मात्र नाच्छन्
जहिले पनि तीजमा
हामी पनि नाच्नुपर्छ बीच बीचमा ...’
महान् चाड हरितालिका तीजमा विभिन्न शिवालयमा अहिलेका चर्चित गीत गाउँदै महिला छमछमी नाचिरहेको दृश्य देखियो । टिकटक बनाउन व्यस्त महिला तथा पुरुष पनि उत्तिकै देखिन्थ्यो भीडमा ।
आशिष्मा प्याकुरेल र मोहन कार्की “नाच्दै गाउँदै सबै जना सेल्फी खिचिन्छ...” बोलको गीतमा नाच्दै टिकटक बनाउन व्यस्त देखिन्थे । पशुपति परिसरमा रहनुभएका उहाँहरू भन्नुहुन्छ, “यसो तीजको टिकटक बनाएको मन्दिरको ब्याकग्राउन्ड राखेको हो ।”
प्याकुरेल भन्नुहुन्छ, “हाम्रो पर्वलाई रमाइलो गर्न जान्नुपर्छ । करले होइन, इच्छाले आफ्नो परम्परामा भिज्नुपर्छ । व्रत भनेर केही पनि नखाई बस्नु मूर्खता हो,” उहाँले थप्नुभयो, “फलफूल, जुस पानी प्रशस्त मात्रामा खानुपर्छ अनि रमाइलो गरी नाच्नुपर्छ ।”
पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर तीजका भाका गुञ्जिन्थे । सासू–बुहारीका कुरा तथा थिचोमिचो अनि विरह, वेदनाका गीतहरू मिसिएका गीतले हरितालिका तीजमा रौनक थप्थ्यो तर अहिलेका गीतहरू सुन्दा लाग्छ, अब नेपाली महिलाको दुःख भन्ने कुरा नै छैन अनि तीजबाहेक खुसी र वेदना बाँड्ने माध्यम नै छैन । ‘हट एन्ड सेक्सी तथा डान्सिड नम्बरहरू गाउँदै’ समूह बनाई नाचिरहेको पाइयो ।
हिन्दी गीत, नेपाली आधुनिक गीत जस्ता गीतहरूमा छमछमी नाचिरहेकी २७ वर्षीया रमिता विष्ट भन्नुहुन्छ, “अहिले आधुनिकताको जमाना हो, तीज भन्नेबित्तिकै दुःख र वेदनाको गीत गाउने र नाच्ने भन्ने होइन, यो पर्व त दिदीबहिनीहरूले रमाइलो र भेटघाट गर्ने हो ।” यस दिनमा सबै मिलेर नाच्ने, गाउने र रमाइलो गर्ने हो, उहाँले थप्नुभयो ।
पशुपति शिवालयमा नाच्दै गरेको एक समूहले दुर्गेश थापाले तीजका लागि लिएर आउनुभएको गीत
“जापानबाट बहिनी आइन्
मागी मलाई वाटर
नबुझेर दिए मैले काँचो कटर...”
बोलको गीतमा रमाइरहेको थियो । सोही समूहले माहिलालाई सामाजले गर्ने अपहेलना तथा बलात्कार गर्नेलाई फाँसी दिनुपर्ने जस्ता कुरालाई गीतमा समेटिएको थियो । समूह बनाएर दोहोरी गाउँदै गर्नुभएकी ७० वर्षीया तुलसादेवी कट्टेल भन्नुहुन्छ, “दुःखसुख साट्ने माध्यम मात्रै नभएर विभेदको विरोध गर्ने माध्यम पनि तीज हो । गीतबाट सामाजिक असमानताको चिरफार गर्ने र विभेद खोतल्ने काम हुन्छ ।”
उहाँले तीज पर्व र संस्कृतिलाई समाज रूपान्तरण अभियानका रूपमा विश्लेषण गर्नुहुन्छ । नौ वर्षको उमेरमा विवाहपछि हरेक साल व्रत बस्नुभएको उहाँले यसपालि भने पानी पिउँदै नाचेको जानकारी दिनुभयो । मुख्यगरी तीज भाद्र शुक्ल द्वितीयाका दिन दरिलो खाद्यपदार्थ दर खाएर भोलिपल्ट व्रत बस्न तयार । तृतीयामा व्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ ।
पहिलेका तीजका गीतमा दुःख र वेदनाका भाव झल्कन्थे । ‘तीजको रहर आयो बरिलै,’ जुन गीत आज पनि सुनिने गर्छ । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दाभन्दै तीज गएको जस्ता कुरा मिसाएर गीतका शैली हालेर गाउने गर्थे, यससँग सान्दर्भिक गीत ‘वर्ष दिनको तीजमा बाबा लिन नआउँदा आँगनमा बसेर रोए धुरुरु ।’
अहिले आएर नयाँ ढङ्गबाट तीजका गीतहरू बजारमा ल्याउन थालेका छन् । अहिले गीतमा व्यापक रूपमा परिवर्तन आएको छ । तीजका गीतलाई फेसनका रूपमा लिन थालिएको छ । तीज भन्नेबित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा विस्तारै हराउँदै गएको महिला नै बताउँछन् । रातो सारीका चर्को फेसन र कतिपय अश्लीलता झल्कने गीतले भने तीजको मूल मर्म सम्बोधन नगर्ने हो कि भन्ने चिन्ता गर्नुहुन्छ ७० वर्षीय हेमा उपाध्याय ।
तेस्रो लिङ्गीले पनि मनाए तीज
“आफू नै सबैभन्दा राम्री बन्छु, तीजमा छमछमी नाच्ने हो,” तेस्रोलिङ्गी रविना तामाङले भन्नुभयो । विगत १५ वर्षदेखि तीज मनाउन थालेको निल हिरा समाजले यस वर्ष पनि तीजको कार्यक्रम गरेको थियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल, निल हिरा समाज र क्रुजएड्स नेपालको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रममा आफ्नो दुःख वेदना बिर्सेर सबै नाचिरहेको पाइयो ।
“हामीले पनि तीजको व्रत बस्न पाउनुपर्छ, यसलाई मनाउन पाउनुपर्छ,” निल हिरा समाजका अध्यक्ष पिङकी गुरुङको भनाइ छ । उहाँले थप्नुभयो, “हामीले पनि यही पर्व मनाउन खोज्दा लैङ्गिकताका आधारमा विभेद गरिन्थ्यो । लुकीलुकी नाच्न जाँदा यो केटाहरूको पर्व होइन भनिन्थ्यो ।”
तेस्रोलिङ्गीमाथि हुने विभेदको कुनै पनि पर्व हुँदैन, त्यसैले यो पर्वको माध्यमबाट नै हामीलाई गरिने विभेदलाई प्रस्तुत गर्न खोजेको जानकारी दिँदै गुरुङले थप्नुभयो, “जसरी महिलाले सुन्दर र सक्षम पति पाऊँ भनेर व्रत बस्छन् भने विवाहिताले श्रीमान्को सुस्वास्थ्य, आयु लामो होस् भनेर व्रत बस्छन्, हामीले अहिलेसम्म पनि जीवन साथी पाउने अधिकार पाएका छैनाँैं ।” गुरुङले तेस्रोलिङ्गी र समलिङ्गीहरूले पनि आफ्नो जीवनसाथी पाउनुपर्ने विचारलाई तीजका अवसरमा राखिएको बताउनुभयो ।