logo
२०८१ मंसिर ८ शनिवार



लोकन्थलीको पहिरोले थप घर जोखिममा

मुख्य समाचार |


लोकन्थलीको पहिरोले थप घर जोखिममा



गोरखापत्र समाचारदाता

भक्तपुर, भदौ १७ गते । मध्यपुर–थिमि नगरपालिका–१ स्थित लोकन्थलीमा आइतबार बिहान पुनः पहिरो जाँदा आधा दर्जन घर जोखिममा परेका छन् । यसअघि भदौ ३ गते पनि सोही ठाउँमा पहिरो गएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिरो गएको क्षेत्रमुनिको जमिनमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा पहिरो गएको थियो । सोही पहिरो गएकै ठाउँमा पुनः आइतबार पहिरो जाँदा अन्य छवटा घर पनि जोखिममा परेका हुन् । पुरुवा माटो भएकाले पहिरो गएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।
भदौ ३ गते पहिरोले १६ फिट चौडाइ रहेको ३० मिटर कालोपत्रे सडक भासिँदा छवटा पक्की घर जोखिममा परेका थिए । नगरपालिकाले पहिरो रोकथाम कार्य जारी राखे पनि वर्षात्का कारण थप जोखिम बढेको पीडित सन्तोष तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घर जोखिममा परेको छ । पहिरो दुईवटा घरको मूल गेटसम्मै पुग्न लागेको छ ।
ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरिएको नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १, २ र ३ को खानेपानी समस्या समाधान गर्न एक करोड ३२ लाख रुपियाँको लागतमा वडा नं. १ को लोकन्थलीको भिरालो सार्वजनिक जमिनमा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको हो ।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले तत्काल अस्थायी रूपमा पहिरो रोक्ने काम गरेको बताउनुभयो । पहिरोपीडित तामाङले ट्याङ्की निर्माण गर्नुअघि नै आफूले सो क्षेत्रमा ट्याङ्की निर्माण नगर्न सरोकारवालालाई आग्रह गरे पनि बेवास्ता गर्दा पुनः पहिरो गएको आरोप लगाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?