logo
२०८१ मंसिर ७ शुक्रवार



पार्टी एकतामा ढिलाइले प्रतिगामी तत्वले खेल्न खोजे

मुख्य समाचार |


पार्टी एकतामा ढिलाइले प्रतिगामी तत्वले खेल्न खोजे


 

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अपेक्षा, आशा र राष्ट्रको आवश्यकताअनुसार परिणाम दिन नसकेको स्थितिमा ठूलो चुनौतीको सामना गर्नुपर्ने बताउनुभएको छ ।
नेकपाको विदेश विभागद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गरी जनभावना अनुसार सामाजिक न्याय र समाजवादी चरित्र विकास गर्दै विकास निर्माण र समृद्धिको रथलाई अगाडि बढाउन सकेनौं भने अवश्यक पनि चुनौती आउने देखिन्छ ।”
उहाँले पार्टी एकतामा भइरहेको ढिलाईका कारण प्रतिगामी तत्वहरुले खेल्न खोजेको भन्दै आम कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढन समेत निर्देशन दिनुभयो ।
उहाँले कम्युनिष्ट आन्दोलनले विभिन्न चरण पारगर्दै निर्वाचनमार्फत जनताको लोकप्रिय मत पाएर सत्तामा पुग्नु विश्व इतिहासकै विरलै घटना भएको चर्चा गर्नुभयो ।
उहाँले पार्टी एकताका बाँकी प्रक्रिया छिट्टै पुराहुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “हिजोका सबै संघर्ष, बलिदान र सहीदका सपनालाई सम्झेर एकैचोटी एकताबद्ध भएर अभियानमा गयौं भने जस्तोसुकै कठिन परिस्थिति पनि चिर्न सक्छौं ।”
उहाँले लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस केहीले गरेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “सानातिना कमीकमजोरीलाई प्रतिक्रियावादीले अतिरञ्जित ढंगले प्रचार गर्ने र टाउको उठाउने जमर्को यदाकदा देख्छौं ।”
उहाँले कुटनीति, विचार र राजनीतिको क्षेत्रमा पार्टीका विचारलाई स्थापित गर्ने क्षेत्रमा अभियानात्मक काम गर्न समेत विदेश विभागलाई निर्देशन दिनुभयो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय मामिलाको क्षेत्रमा अत्यन्त विशिष्ट अनुभव हासिल गरिसक्नुभएको माधवकुमार नेपाललाई विश्वास गरेर नै विदेश विभागको जिम्मेवारी दिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरुको कार्यकालमा पार्टी र देशकै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार,ं सुदृढ एवं नेपालको राष्ट्रिय हितका पक्षमा महत्वपूर्ण योगदान हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।”
कार्यक्रममा विदेश विभाग प्रमुख माधवकुमार नेपालले पार्टी एकीकरणको प्रक्रियामा ‘धेरै काम भइसक्यो होइन अझ धेरै गर्न बाँकी रहेको’ बताउनुभयो ।
उहाँले एकताका बाँकी काम ढिलाई नगरी छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “पार्टी एकताको प्रक्रिया छिटो टुङ्गोमा पुर्याएर कार्यकर्ता पङ्तीमा देशव्यापी उत्साह र एकताको सन्देश लिएर जानुपर्छ ।”
उहाँले विदेश नीति भनेको गृह नीतिकै विस्तार भएको बताउनुभयो । “मुलुकको हितका लागि नै विदेश सम्बन्ध विस्तार हुने हो”, उहाँले भन्नुभयो ।
उहाँले स्वाभिमानी परराष्ट्र नीतिको पक्षमा आफू रहेको भन्दै कुटनीतिक चातुर्यता र नेपाली बीचको राष्ट्रिय एकताले नै मुलुकको हित गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण प्रक्रिया अन्त्यतिर पुगेको बताउनुभयो ।
सो अवसरमा पार्टी अध्यक्ष दाहालले राजदूत नियुक्त डा.वंशीधर मिश्र र नारद भारद्वाजलाई कार्यकाल सफलताको शुभकामनासमेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?