गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्कनुहुने छ । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ ।