logo
२०८१ मंसिर ७ शुक्रवार



काँग्रेस दोस्रो जागरण अभियानमा

मुख्य समाचार |


काँग्रेस दोस्रो जागरण अभियानमा



गोरखापत्र समाचारदाता

ललितपुर, भदौ २० गते । नेपाली काँग्रेसले भदौ २४ गते बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेस जागरण नाम दिइएको दोस्रो चरणको अभियानको पहिलो दिन ३४ हजार ९८० वटा बिरुवा रोपिने छन् । केही महिनाअघि मात्रै काँग्रेसले पहिलो चरणको जनजागरण अभियान सम्पन्न गरेको थियो ।
काँग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको १०६आँैं जन्म जयन्तीको अवसर पारेर अभियान सुरु गर्न लागेको जनाएको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउन ३३० वटै प्रदेश सभा क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गरिने बताउनुभयो । जागरण अभियानका लागि प्रत्येक प्रदेश सभा क्षेत्रमा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाइने छ ।
प्रवक्ता शर्माले जागरण अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा हुने उत्पीडन, जातीय छुवाछूत, चेलिबेटी बेखबिखन, छाउपडी, घरेलु हिंसालगायत सामाजिक विसङ्गतिविरुद्ध आवश्यक चेतना अभिवृद्धिमा सहभागिता रहने बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “जागरण अभियान अन्तक्र्रियात्मक बनाउने स्वरूप तय गरिएको छ । ” उहाँले वर्तमान सरकारसँग जनताको अपेक्षा, परिणामको अनुभूति र समीक्षामा अन्तक्र्रिया केन्द्रित हुने थप्नुभयो ।
भदौ २४ गते सुरु भई असोज ७ गतेसम्म चल्ने जागरण अभियानमा नेविसङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइएको छ । काँग्रेसले ३३० प्रदेश सभा क्षेत्रमा दैनिक औसत ३०० युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी प्रथम चरणमा ३१ हजार ६४२ जना काँग्रेस प्रवेश गरेकोमा दोस्रो चरणमा पनि पार्टी प्रवेशलाई प्राथमिकतामा राख्ने प्रवक्ता शर्माले बताउनुभयो ।
पत्रकार सम्मेलनमा महामन्त्री पूर्णबहादुर खड्काले भन्नुभयो, “सरकारप्रतिको निराशालाई जनतामा विश्वास जगाउने काम पनि जागरण अभियानले गर्ने छन् । ” उहाँले प्रथम चरणको अभियानभन्दा दोस्रो चरणको प्रभावकारी, जनतासित प्रत्यक्ष जोडिने र सुझाव सङ्कलन हुने बताउनुभयो ।
उपसभापति विजयकुमार गच्छदारले लोकतान्त्रिक फोरमसँगको एकता प्रक्रिया टुङ्गिन बाँकी रहेको बताउनुभयो । उहाँले छिट्टै पदाधिकारी बैठकले एकता प्रक्रियाका लागि समायोजनका कार्य टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थिति हुनुुहुन्थ्यो ।

स्थानीय तहको समीक्षा
प्रवक्ता शर्माले जागरण अभियानका क्रममा स्थानीय सरकारको समीक्षा गरिने बताउनुभयो । उहाँले काँग्रेसको नेतृत्व रहेका स्थानीय तहमा जनभावनाअनुरूपको भूमिका रहे नरहेको सम्बन्धमा अन्तक्र्रिया गरिने बताउनुभयो । केन्द्रीय समितिको बैठकमा स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाको आलोचना गरिएको थियो ।

‘हिन्दू राज्यबारे बहस हुन्न’
पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले जागरण अभियानको क्रममा हिन्दू राज्यबारे छलफल वा बहस नहुने प्रस्ट्याउनुभयो । उहाँले संविधानले धर्मनिरपेक्ष राज्य हुने किटान गरेकाले संविधानविपरीतको विषय छलफलमा नल्याइने दाबी गर्नुभयो । उहाँले हिन्दू राज्य नामकरणको पक्षमा समेत काँग्रेस नरहेको जनाउनुभयो । केन्द्रीय समितिको बैठकमा केही सदस्यले हिन्दू राज्यको पक्षमा बहस चलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

संविधान संशोधनमा अडिग
उपसभापति निधिले संविधान जारी भएको बेला सबै दलको प्रतिनिधित्व गरी ‘रोस्टम’मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संशोधनको प्रतिबद्धता जनाउनुभएको उल्लेख गर्नुभयो । २०७३ चैत २९ गते तत्कालीन सरकारले प्रदेशको सीमाङ्कनसम्बन्धी विवाद आयोगमार्फत टुङ्ग्याउने, भाषा आयोगको सिफारिसमा सरकारी कामकाजको भाषा समावेश गर्ने र नागरिकतालगायतको चारवटा विषयमा संशोधनको प्रस्ताव दर्ता गराएको थियो ।
निधिले मधेसकेन्द्रित दलको चासो र प्राथमिकता नरहेको दाबी गर्नुभयो । उहाँले संविधान संशोधनको कार्यसूचीमा काँग्रेसको अडान यथावत् रहेको जनाउन संशोधनको प्रतिबद्धता लिएर जागरण अभियानमा जाने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?