logo
२०८१ मंसिर ७ शुक्रवार



‘नलिएको ऋणको कागज बनाउँथे परदेशी’

मुख्य समाचार |


‘नलिएको ऋणको कागज बनाउँथे परदेशी’


जनार्जन खत्री

सर्लाही, भदौ २० गते । सर्लाहीको लालबन्दी नगरपालिका–४, करैयाका सोन्फी चौधरीले श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारसँग ५० हजार रुपियाँ ऋण लिनुभयो । ऋण लिँदा उहाँसँग परदेशीले छोरी इला साहको नामबाट दुई लाख ५० हजार रुपियाँको कागज बनाए ।
ऋण ५० हजार रुपियाँ लिँदा किन अढाइ लाखको कागज ? भनेर मैले प्रश्न गरँे तर उहाँ (परदेशी)ले व्यवहारमा यस्तै हुन्छ लिनेदिने बेला मिलाउँला भन्नुभयो । त्यसपछि मैले पैसा तिर्दै गएँ । ९० हजार रुपियाँ बुझाइसकेपछि मलाई उहाँले एक दिन बोलाउनुभयो । त्यसपछि म उहाँकै घरमा पुगँे । म पुग्दा छेउमै बन्दुक राखेर उहाँ घरमै बसिरहनुभएको थियो ।
म पुगेपछि उहाँले एक जना कागज तयार गर्ने व्यक्तिलाई बोलाउनुभयो । ती व्यक्तिले बाहिरै बसेर एकैछिनमा कागजात तयार पारे । त्यसपछि परदेशीलाई ती व्यक्तिले महाजन भगेलाई (महाजन भयो) भने । परदेशीले मलाई ल दाजु यो कागजमा सही गर्दिनुस् भन्नुभयो । मैले किन सही गर्ने ? भनेर प्रश्न गरेँ । उहाँले तपाईंले ऋण लगेका पैसाको कागज हो, सही गर्नुस् न भन्नुभयो ।
मैले कागजमा सही गर्न मानिन् । त्यसक्रममा दुई घण्टासम्म उहाँ र मेरो सङ्घर्ष चल्यो । म सही गर्दिन, गर्दिन, गर्दिन भने । त्यसपछि उहाँले बन्दुक तेर्साउनुभयो । हतियार नै देखाएपछि मेरो केही लागेन बाध्य भएर कागजमा सही गरेँ । चौधरीलाई त्यसबेला पाँच लाख रुपियाँको कागजमा सही गराइएको थियो ।
चौधरीले दुवै बेला (५० हजार रुपियाँ लिँदा बनाइएको दुई लाख ५० हजार र बन्दुक देखाएर जबरजस्ती पाँच लाख रुपियाँको कागज बनाइएको)को ऋण चुक्ता नगरेको भन्दै परदेशीले अदालतमा मुद्दा दायर गरे । त्यस मुद्दामा चौधरीविरुद्ध अदालतले दुईवटा वारेन्ट जारी गरेको छ । अदालतबाट वारेन्ट जारी भएपछि लुकिछिपी बस्नुभएका चौधरी परदेशी पक्राउ परेपछि केही दिनअघि घर फर्किनुभएको हो । परदेशीले आफूबाट अझै १० लाख रुपियाँ लिनु छ भन्दै आएको चौधरीले सुनाउनुभयो ।
यस्तै लालबन्दी नगरपालिका–७ की सावित्री कापडले पनि परदेशीसँग दुई लाख रुपियाँ ऋण लिनुभयो । त्यसमा परदेशीले सेवा शुल्क भन्दै २० हजार रुपियाँ काटेर एक लाख ८० हजार रुपियाँ प्रदान गर्नुभयो । कापडले ऋण लिएको केही महिना ब्याज पठाउनुभयो ।
त्यसपछि परदेशीले हरहिसाबमा गोलमाल गर्ने गरेको थाहा पाएपछि कापड सबै ऋण बुझाउने मनस्थितिमा पुग्नुभयो । जुन काममा ऋण लिएको थिएँ, त्यो काम पनि भएन्, यस्तो खराब मान्छेको ऋण तिर्ने घर सल्लाह गयौँ, कापडले भन्नुभयो, त्यसपछि सबै ऋण चुक्ता गरौँ भनेर ऋण बुझाउन जाँदा मसँग दुई लाख ५० हजार रुपियाँको अर्को नयाँ कागज बनाइयो । मैले किन फेरि यो कागज भनेर ? प्रश्न गरेँ परदेशीले हर्जना र अरू के–के भनेर भन्नुभयो । आफूले अझै १२ लाख रुपियाँ ऋण तिर्न बाँकी रहेको भन्दै कागज देखाउने गरेको कापडले गुनासो गर्नुभयो ।
नवलपुरकी फतमा खातुनले मधेस आन्दोलनका बेला परदेशीसँग एक लाख रुपियाँ ऋण लिनुभयो । परदेशीले २३ हजार रुपियाँ काटेर ७७ हजार रुपियाँ मात्रै प्रदान गरे । कागज एक लाखको पैसा ७७ हजार मात्रै भनेर प्रश्न गर्दा बियर र खसीको मासुका लागि २३ हजार रुपियाँ काटेको हो, सबैसँग यसैगरी लिन्छु भन्नुभयो । त्यसपछि मैले किस्ताबापत तीन पटक १०–१० हजार रुपियाँ बुझाएँ । चौथो महिना ऋण बुझाउन ढिलो भयो । एक हजार रुपियाँ हर्जना लिनुभयो । एक लाख ऋण लिँदा ब्याज बुझाउन एक दिन ढिलो भयो भने परदेशीले दिनको एक हजार रुपियाँ हर्जना लिनु हुँदो रहेछ । परदेशीले खातुनलाई ७७ हजार रुपियाँ मात्रै ऋण दिएर ब्याज भने एक लाख रुपियाँकै लिँदै आएका थिए ।
खातुनले अगाडि भन्नुभयो, त्यसपछि मैले मासिक १० हजार रुपियाँका दरले किस्ता तिर्दै गएँ र तिरेर पनि सकेँ । सबै ऋण चुक्ता गरेपछि एक दिन छोरालाई ऋण चुक्ताको कागज लिन पठाएँ तर परदेशीले कागज दिएर पठाउनु भएन् । छोरालाई आमालाई नै पठाउनु भन्नु भएपछि म आफैँ परदेशीको घरमा पुगेँ । परदेशीले ऋण अझै बाँकी छ भन्नुभयो । मैले सबै पैसा बुझाइसकेको छु, अब के बाँकी नि ? ऋण लिँदाको कागज दिनुस् भने । मैले त्यति भन्नासाथ मलाई लछापछार पार्नुभयो । मेरो शरीरमा लगाएको कपडासमेत च्यातियो । त्यसपछि प्रहरीमा पुगेँ तर प्रहरीले जाहेरी लिन मानेन् ।
परदेशीसँग ऋण लिएका केही ऋणीका पीडा हुन् यी । परदेशीबाट यस्तो किसिमको पीडा भोगेकाहरू धेरै छन् । परदेशीसँग लिएको ऋण तिर्न पीडितले घरघडेरी र भएको सबै सम्पत्ति सखाप पारेका छन् तर ऋण चुक्ता भएको कागज पाएका छैनन् । उल्टै लिँदै नलिएको ऋण नबुझाएको भन्दै परदेशीले हालेको मुद्दाबाट पीडित भएका छन् ।
पीडितले परदेशीको अन्यायले सीमा नाघेपछि एक हप्ताअघि सङ्घीय राजधानी काठमाडौँ पुगेर गृहमन्त्री रामबहादुर थापा (बादल)सहित नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेट गरे । भेटमा शीर्ष नेता न्याय दिलाउने आश्वासनसहित घर फर्किन आग्रह गर्नुभयो ।
त्यसपछि पीडितमध्ये एक लालबन्दी नगरपालिका–४ की रुक्मिणी चौधरीले प्रहरीमा परदेशीविरुद्ध ठगीको उजुरी दिनुभयो । सोही उजुरीका आधारमा ५६ वर्षीय परदेशीलाई प्रहरीले यही भदौ १५ गते सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित घर नजिकैबाट पक्राउ ग¥यो ।
परदेशीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरले दैनिकजसो परदेशीविरुद्ध उजुरी आउने क्रम जारी रहेको बताउनुभयो । यसअघि पनि पक्राउ परेर छुटेका परदेशीविरुद्ध यो पटक भने कारबाही हुने आश रहेको पीडितले बताएका छन् ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?