logo
२०८१ मंसिर ७ शुक्रवार



अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा

मुख्य समाचार |


अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ ।
आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिनुभएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताउनुभएको छ । भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।
आयोगले महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहु र उहाँका छोरा मुकेश साहमाथि एक लाख ६० हजार रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार वडा अध्यक्ष आलम र सदस्य साहुले धर्मपुर सडक नाला तथा पीसीसी ढलान कार्यका लागि उपभोक्ताबाट एक लाख साठी हजार रुपियाँ घुस लिनुभएको थियो । त्यसैगरी आयोगले जुवातास खेलाउने वातावरण बनाउने नाममा प्रहरी कर्मचारीलाई घुस दिनुभएको आरोपमा सूर्यविनायक नगरपालिका–५ का गङ्गालाल श्रेष्ठमाथि सजायको माग गर्दै आरोपपत्र बुझाएको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार श्रेष्ठले प्रहरी कर्मचारीलाई ४० हजार घुस दिँदा पक्राउ पर्नुभएको थियो । उहाँमाथि ४० हजार नै बिगो कायम गरिएको छ ।
त्यसैगरी आयोगले घुस लेनदेन मुद्दामा काठमाडौँ महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी श्यामकुमार कार्की र सेवाग्राही खेन्चे दोर्जे तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रवक्ता कोइरालाले काठमाडौँ–६ बस्नुहुने तामाङले भौतिक संरचना र जग्गाको कर तिर्नका लागि वडा कार्यालयका सहयोगी कार्कीलाई एक हजार पाँचसय रुपियाँ दिँदा पक्राउ गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?