logo
२०८१ मंसिर ८ शनिवार



विश्वकै सस्ता गन्तव्यमा नेपाल

मुख्य समाचार |


विश्वकै सस्ता गन्तव्यमा नेपाल


विश्वास रेग्मी

काठमाडौँ, भदौ २४ गते । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वल्र्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ ।
प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ । त्यस्तै वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । बु्रनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो ।
मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ । सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ ।
प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ । पर्यटकका लागि विश्वकै सस्ता गन्तव्यमा अगाडि हुनुबाहेक बाँकी सूचकमा नेपालको अवस्था खास राम्रो छैन । पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा छ । त्यस्तै वातावरणीय दिगोपनामा १३४, बन्दरगाह पूर्वाधारमा १३१, अन्तर्राष्ट्रिय उदारपनामा १०१, सूचना प्रविधि तत्परतामा १०८, व्यावसायिक वातावरणमा ११३, स्वास्थ्य र स्वच्छतामा १०६, सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२ औँ स्थानमा रहेको छ । हवाई पूर्वाधारमा ९३, सुरक्षामा ९१, श्रम बजारमा ८३ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा र पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८ औँ स्थानमा रहेको छ । यी सबै सूचकभित्र पनि अन्य सहायक सूचकको आधारमा देशको विश्लेषण गरिएको छ । पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?