logo
२०८१ मंसिर ८ शनिवार



अध्यक्ष दाहाल – वाङ् भेटः नेपाल–चीन सम्बन्धबारे छलफल

मुख्य समाचार |


अध्यक्ष दाहाल – वाङ् भेटः नेपाल–चीन सम्बन्धबारे छलफल


काठमाडौँ, भदौ २४ गते । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुभएको छ ।

होटल मेरियटमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

भेटपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

उहाँहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवर्दक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ ।”

भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताउनुभयो । चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्धत पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताउनुभयो । भेटमा उहाँहरुबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?