वेलिना थापा
लमजुङ, भदौ २६ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका बासिन्दाले व्यवस्थित र सभ्य रूपमा गाउँ सञ्चालनका लागि आफ्नै नियम बनाएका छन् ।
गाउँलाई अनुशासनमा राख्न स्थानीयवासीले हरेक वर्ष भदौ महिनामा ‘भदौ सभा’ गरेर नीतिनियम तथा ऐनकानुन बनाउने गरेका हुन् । उनीहरूले यस वर्ष पनि चार दिनसम्म सभा बसेर अर्को भदौसम्मका लागि नियम बनाएका छन् ।
संविधानले गाउँपालिकालाई स्थानीय सरकारका रूपमा कानुन बनाउनेसम्मको अधिकार दिए पनि भुजुङका बासिन्दाले नीतिनियम बनाउन ‘भदौ सभा’ गर्न छाडेका छैनन् । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र बर्सेनि परिमार्जन गर्दै लाने गरेका छन् । रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँलाई एकतामा बाँध्न, शान्त वातावरण बनाउन र अनुशासनमा राख्न भदौ सभा गर्ने गरिएको बताउनुभयो ।
भदौ सभामा गाउँमा रहेका ३४५ घरधुरीका घरधनी जम्मा हुन्छन् । कुन घरका व्यक्तिले वर्षभरि के के गल्ती गरे, त्यसको लेखाजोखा हुन्छ र अब नगर्ने वाचा गर्ने गर्छन् । उनीहरूले तामाको ताउलो छोएर गाउँको नीतिनियम पालना गर्ने वाचा गर्छन् । गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन र बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिएको गुरुङले बताउनुभयो ।
साविक भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौ सभा भन्ने गरिएको हो । वर्षायाममा धान तथा कोदो गोडमेल सकिएपछि केही फुर्सद हुने र फुर्सदको समय सदुपयोग गर्दै उहिलेदेखि भदौ सभा गर्दै आएको उहाँले बताउनुभयो ।
ज्योतिषीले यो वर्ष भदौ १९ देखि २३ सम्म भदौ सभा सञ्चालन गर्न सकिने बताएपछि सोहीअनुसार सभा गरिएको थियो । सभामा रीतिथिति, गाउँमा उत्पादित वस्तुको दरभाउ कायम र बार बन्देजका बारेमा छलफल गरिएको छ । सरकारले बनाएको कानुन नबाझिने गरी गाउँलेले नियम बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार सभामा पाप र पुण्यका विषयमा पनि छलफल हुन्छ । वर्षभरि परिवारले अरू कसैमाथि नराम्रो नसोचेको, चोरीडकैतीलगायत नराम्रो काममा संलग्न नरहेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने गरिन्छ । कुनै व्यक्तिले जानी नजानी गल्ती गरेकोमा जरिवाना गरिन्छ । यस पटकको सभामा पनि त्यस्ता व्यक्तिलाई जरिवाना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ सभामा बनाइएको कानुन गाउँका बासिन्दा सबैले पालना गर्नुपर्छ । गाउँ प्रवेशपछि भने अरू सबैलाई यो कानुन लाग्छ । ”
पहिलेपहिले कुरा नबुझ्ने, असहमति हुने भएकाले सभा एक सातासम्म लम्बिने गरे पनि अहिले तीन चार दिनमै सभा सकिने गरेको यमबहादुर गुरुङले बताउनुभयो । सभाले समाजमा राम्रो काम गर्नेलाई स्याबासी पनि दिएको छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदोलगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला निर्धारण गरेको छ ।