ईश्वरचन्द्र झा
काठमाडौँ, भदौ २६ गते । नेपाली काँग्रेसको प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको समायोजनमा ढिलाइ भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले भदौ २० गतेसम्म समायोजनका लागि अवधि निर्धारण गरे पनि भदौ २५ गतेसम्म ४० भन्दा बढी जिल्लाको प्रतिवेदन आउन सकेको छैन ।
नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिकांश जिल्लामा समायोजनको कार्य टुङ्गिएको दाबी गर्नुभयो । उहाँले ३६ जिल्लाको प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो । बाँकीको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समायोजन टुङ्गिए पनि प्रतिवेदन मात्रै आउन बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको साउन २६ गतेको बैठकले अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गर्न निर्देशिका पारित गरी समायोजनको विधि तोकेको थियो । निर्देशिकाबमोजिम अधिकांश जिल्लाको प्रतिनिधि र प्रदेश सभाको क्षेत्रीय कार्यसमिति समायोजन भइसकेको निर्वाचन समितिका संयोजक अधिकारीले दाबी गर्नुभयो । सचिव रिजालले भने पाँचवटा क्षेत्रीय समितिको मात्रै समायोजन हुन नसकेको खुलाउनुभयो ।
कार्यविधिबमोजिम निर्वाचन समितिले समायोजनका लागि प्रत्येक जिल्लामा एक÷एक जना निर्वाचन प्रतिनिधिका रूपमा कानुन व्यवसायीलाई नियुक्त गरेको छ । निर्वाचन समितिका संयोजक अधिकारीले भन्नुभयो, “केही जिल्लाका सभापति बिरामी परेको र बाहिर रहेको हुँदा उक्त जिल्लास्थित प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिको समायोजन हुन सकेन । ”
स्थानीय तहको सङ्गठन पुनःसंंरचनाका लागि अन्तरिम व्यवस्था निर्देशिका समायोजनको निर्देशिकाले स्थानीय तह गठन गर्न कात्तिक मसान्तसम्मको समयावधि निर्धारण गरेको छ । अधिकारीले प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको समायोजन टुङ्गिएलगत्तै स्थानीय तहको समायोजन प्रक्रिया सुरु हुने जानकारी दिनुभयो तर दुर्गम र हिमाली जिल्लाका कतिपय स्थानीय तहमा भने समायोजनको कार्य सुरु भइसकेको छ । सचिव रिजालले कात्तिकदेखि मौसम प्रतिकूल हुने हुँदा तत्कालै सङ्गठन पुनःसंरचनाको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।