logo
२०८२ जेष्ठ २६ आईतवार



विस्तार हुँदै दूरसञ्चार बजार

मुख्य समाचार |


विस्तार हुँदै दूरसञ्चार बजार


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । अघिल्लो आर्थिक वर्ष २०७५/७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ ।
यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै बढेको छ । तथ्याङ्क अनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन् ।
घिल्लो आवको सुरुवातमा दुई करोड दुई लाख ५० हजार ग्राहक रहेकोमा असारसम्म दुई करोड २६ लाख ९६ हजार पुगेको छ । मोबाइलबाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
त्यस्तै मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने एक वर्षमा केवल ६८ हजार छ सय मात्र थप भएका छन् । एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार पुगेको छ । जुन गत वर्ष साउनमा एक करोड ६५ लाख ६८ हजार थियो ।
दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा एक लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन् ।
यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता छैनन् । पहुँचका हिसाबले अहिले जनसङ्ख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिन्छ ।
त्यसमा पनि मोबाइल प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी छ । फिक्स्ड लाइन प्रयोगकर्ताको सङ्ख्या केवल २.७० प्रतिशतमात्र छ ।

फोरजीका ४० लाख ग्राहक
नेपालमा करिब तीन वर्ष अघिदेखि सुरु भएको फोरजीका प्रयोगकर्ता करिब ४० लाख पुगेका छन्् । नेपाल टेलिकमले पहिलोपटक सुरु गरेको उक्त सेवाको प्रयोगकर्ता टेलिकम आफैँका भने कम छन् । हाल पोखरा र काठमाडौँ उपत्यकामा कम्पनीले फोरजी सेवा उपलब्ध गराइरहेकोमा प्रयोगकर्ताको सङ्ख्या आठ लाख मात्र पुगेको छ ।
टेलिकमले भन्दा छ महिनापछि फोरजी सेवा सुरु गरेको एनसेलका प्रयोगकर्ता भने करिब ४० लाख पुगेका छन् । स्मार्ट टेलिकमले पनि दुई लाख १३ हजार फोरजी प्रयोगकर्ता पु¥याएको छ । स्मार्टले पनि काठमाडौँ उपत्यकासहित धुलिखेल र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराइरहेको छ ।
एनसेलले सन् २०२० भित्र देशका प्रमुख ४० सहरमा फोरजी सेवा विस्तार गर्ने योजना अन्तर्गत काम गरिरहेको छ । नेपाल टेलिकमले देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ । दसैँअघि नै बीसवटा सहरमा फोरजी पु¥याउने र माघसम्म देशैभर पु¥याउने योजनामा टेलिकमले काम गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता तिर्नुपर्ने बाध्यतात्मक परिस्थितिबाट गुज्रिरहेको स्मार्ट टेलिकम भने लगानीकर्ता भित्र्याएपछि मात्र आफ्नो सेवा विस्तार गर्ने रणनीतिमा छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?