शान्ति लामा
काठमाडौँ, असोज २ गते । उमेरले २४ वर्षका मानदेव राई ‘रिभर गाइड’ बनेर नदीमा हाम फाल्न थालेको पाँच वर्ष भयो । यसबीचमा उहाँ ¥याफ्टिङका लागि प्रख्यात तमोर, सुनकोसी, भोटेकोसी, त्रिशूलीलगायत धेरैजसो नदीमा क्याप्टेन बनिसक्नुभयो ।
“टिनएजमै काम सुरु गरियो । खेल्ने र रमाइलो गर्ने भनेकै नदीमै हो,” मानदेव परिपक्व जवाफ दिनुहुन्छ । किशोरवयमै नदीको काम थालेपछि उहाँ नदीसँगै रमाउन सिक्नुभयो । उहाँले मानिसका भन्दा बढी आवाज नदीकै सुन्नुभएको छ । नदी, चरा र कीराहरूकै आवाज प्यारो लाग्छ उहाँलाई ।
“नत्र त दस–बाह्र दिनको लामो यात्रा पट्यार लागिहाल्छ नि !” ¥याफ्टिङको लामो ट्रिपको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ । यस्ता लामो ¥याफ्टिङ यात्रामा कहिलेकाहीँ उहाँको दुई महिनासम्म नदीको पानी र बगरमा नै बित्ने गरेको छ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा प्रमाणित ‘ए ग्रेड’को रिभर गाइड हुनुहुन्छ मानदेव । आफू सानो छँदा गाउँमा कसैले कायक लिएर गएको सम्झना कुमार योञ्जन तामाङ (२४)लाई अझै छ । खोलामा कुद्ने त्यो सानो डुङ्गा देखेपछि कुमारले कुनै दिन आफू पनि त्यो चलाउने सपना बुन्न थाल्नुभयो । स्कुले पढाइ सकेर काठमाडौँ आएपछि पनि कायक चलाउने सपनाले उहाँलाई झस्काइरह्यो ।
सपनाले पछ्याउन नछाडेपछि अन्ततः उहाँले रिभर गाइडको तालिम लिनुभयो र अहिले नदीको छालहरूसँगै खेल्दै गाइड बनेको पाँच वर्ष भयो । केही वर्ष ‘त्रिशूली रोयल बीच क्याम्प’ नामक एजेन्सीमार्फत त्रिशूलीमा काम गरेपछि अहिले भोटेकोसीको ¥याफ्टिङ स्टारमार्फत विभिन्न नदीमा ¥याफ्टिङ गर्नुहुन्छ । भोटेकोसीको एकदिने ¥याफ्टिङ इभेन्टमा उहाँ कहिलेकाहीँ दैनिक तीनपटकसम्म पनि जानुहुन्छ । उहाँलाई ¥याफ्टिङका लागि ठाडो, साँघुरो र ठूलो बेगसहित बग्ने तमोर नदी सबैभन्दा रोमाञ्चक लाग्छ ।
यसरी नदीको छालसँग खेल्दाखेल्दै जीवनमा धेरै व्यावहारिक पाठ पनि सिक्ने गरेको सुनाउनुहुन्छ, विरु राई । “धेरै देशका मानिससँग भेट हुने हुनाले मानिससँग व्यवहार गर्ने तौरतरिका धेरै सिकँे,” हँसिलो मुद्रामा भोटेकोसी किनारमा भेटिएका यी गाइड भन्नुहुन्छ, “¥याफ्टिङ गर्दा आफूलाई स्वस्थ र स्फूर्त अनुभव गर्छु । आत्मबल बढ्छ ।”
धेरै कुरा नदीबाट नै सिकेको हुनाले नदीसँग आफ्नो गहिरो प्रेम रहेको सुनाउँदै उहाँ भन्नुहुन्छ, “कतै शान्त र कतै गर्जंदै नदी बग्छ । यस्तो आवाज सुन्दै घन्टौँ नदी किनारमा बिताउँदा पनि औधी आनन्द आउँछ ।”
सबै मौसममा ¥याफ्टिङ
पहाडका खोँचहरू छिचोल्दै बग्ने नेपालका नदीहरू यसै पनि साहसिक जलक्रीडाका लागि आकर्षक छन् । त्यसमाथि बाह्रै मास पानी बग्ने हुँदा जुनसुकै मौसममा पनि ¥याफ्टिङ गर्न सकिने रिभर गाइड मानदेव राई बताउनुहुन्छ ।
उहाँका अनुसार हिउँदमा जाडो हुने कारण नेपालीले गर्दैनन्, यही बेला ¥याफ्टिङका लागि विदेशीको ओइरो लाग्छ । वर्षामा भने बाढीको डरले नेपालीले ¥याफ्टिङ गर्न त्यति रुचाउँदैनन् तर पछिल्लो समय हरेक दिनजस्तो नै वर्षाको धमिलो नदीमा समेत ¥याफ्टिङ हुने गरेको छ ।
मानदेव भन्नुहुन्छ, “गर्मीमा नेपाली, जाडोमा विदेशीलाई गाइड गर्दागर्दै वर्ष बित्छ ।” उहाँको अनुभवमा विदेशीहरू पूर्णतः प्रकृतिसँग खेल्न रुचाउँछन् । क्याम्पमा पनि मानिसको होहल्ला मन पराउँदैनन् । त्यसैले विदेशीको सानो समूह भए पनि एजेन्सीहरूले विदेशीको क्याम्पको दिन नेपालीलाई क्याम्पिङसमेत गराउँदैनन् ।
विदेशी घट्दै, स्वदेशी बढ्दै
झन्डै २५ वर्षअघि रिभर गाइड भएर ¥याफ्टिङ गराउँदा विदेशीको घुइँचो लाग्ने गरेको सम्झना छ, सिनियर गाइड तथा व्यवसायी दीपककुमार राईलाई । “त्यतिबेला नेपालीले ¥याफ्टिङ पटक्कै गर्दैनथे । विदेशीलाई मात्र ¥याफ्टिङ गराएर पनि त्यतिबेलाको आम्दानी राम्रो थियो ।” तर, उहाँको अनुभवमा यकिन तथ्याङ्क नभए पनि अहिले भने ¥याफ्टिङ गर्ने विदेशीको सङ्ख्या घट्दो छ ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का पूर्वसचिव तथा कोर एडभेन्चर नेपालका सञ्चालक भीष्मराज थपलिया विदेशीले गर्ने लामो दूरीको ¥याफ्टिङ निकै कम भएको बताउनुहुन्छ । बरु छोटो दूरीको एकदिने ¥याफ्टिङमा नेपालीको आकर्षण बढ्दो छ ।
युवाको बिदा मनाउने विकल्प बनेको रिभर गाइड कुमार तामाङ बताउनुहुन्छ । कलेज र सङ्घसंस्थाले पनि ¥याफ्टिङ आयोजना गर्ने चलन बढेको छ । क्रमशः घट्दै गए पनि विदेशीले ¥याफ्टिङ नगर्ने भने होइन । विशेषगरी लामो ट्रिपमा विदेशीको वर्चस्व छ । विदेशीहरू तमोर, सुनकोसी, कालीगण्डकी र कर्णाली नदीमा ¥याफ्टिङ गर्न रुचाउँछन् ।
नोभेम्बर र डिसेम्बर महिनामा त विदेशी मात्र हुने बताउँदै गाइड विरु राई भन्नुहुन्छ, “विदेशीहरू साँच्चै एडभेन्चरका लागि गर्छन् भने नेपालीहरू एकछिन रमाइलोका लागि ¥याफ्टिङ गर्छन् । लामो यात्राको शुल्क पनि महँगो हुनाले नेपाली अझै आकर्षित हुन सकेका छैनन् ।” धेरैजसो नेपाली ¥याफ्टिङबारे अलिकति पनि जानकारी नलिई आउने गरेको अनुभव उहाँको छ । मानदेव भन्नहुन्छ, “विदेशीहरू भने आफू जति नै जान्ने भए पनि गाइडको अनुमतिबेगर आफूखुसी केही गर्दैनन् । अप्ठेरो परिस्थितिमा पनि गाइडलाई भरोसा गर्छन्, गाइडले जेजे भन्यो, त्यही त्यही गर्छन् ।” यसरी अनुशासन सिकाउँदै ¥याफ्टिङ क्रुको नेतृत्व गरिरहँदा आफूलाई जीवनमा अनुशासित हुन सिकाएको भन्नुहुन्छ मानदेव राई ।
बहुसीपयुक्त गाइड
¥याफ्टिङ गाइडहरू क्रुको क्याप्टेन मात्र होइनन्, उनीहरू राम्रो व्यवस्थापक पनि हुन्छन् । उनीहरूसँग पाककला पनि हुन्छ किनकी लामो या छोटो यात्राका क्याम्पमा खाना पनि गाइडले नै पकाउनुपर्छ । चोटपटक लाग्दा स्वास्थ्यकर्मी पनि बन्नुपर्छ । परेको बेला उद्धारकर्ता पनि बन्नुपर्छ ।
“नदीमा गाइडको अनुमतिबिना कसैले केही पनि गर्न पाउँदैन । त्यसकारण एक नेताको भूमिकामा पनि गाइड निकै संवेदनशील हुनुपर्छ,” गाइड विरु राई भन्नुहुन्छ । नदी सधैँ एकैनास हुँदैन । आज एक तरिकाले बगेको नदी भोलि अर्कै हुन्छ । यस्तो अवस्थामा तुरुन्त निर्णय गर्नुपर्छ । सामूहिक रूपमा काम गर्ने सीपको विकास हुन्छ । लामो यात्रामा नभएको बेला पनि विरु, मानदेव र कुमार जस्ता गाइडहरू आफ्नो एजेन्सीले दिएको सेल्टरमा बास बस्छन् । “यस्तोमा सामुहिक बसाइ हुनाले पानीमाथि लामोलामो यात्रा गर्दा पनि समूह नै प्यारो लाग्छ,” कुमार भन्नुहुन्छ ।
सम्भावना राम्रो
अहिले चल्तीकै नदीहरू भोटेकोसी, त्रिशूली र मस्र्याङ्दीमै ¥याफ्टिङ गराएर पनि गाइडहरूले राम्रै काम पाइरहेका छन् । अझ नदीको उचित वर्गीकरणसहित सबै नदीमा ¥याफ्टिङ प्रवद्र्धन गर्न सके धेरै विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने सिनियर गाइड दीपककुमार राई बताउनुहुन्छ । यसले गर्दा बढीभन्दा बढी गाइडले रोजगारी पाउने उहाँ बताउनुहुन्छ ।
¥याफ्टिङका लागि सरकारले १६ वटा नदीमा स्वीकृति दिएको छ । यी नदीमा नै व्यावसायिक विकास गर्ने अवसर पनि छ । भोटेकोसी किनारमा मात्र आधा दर्जनजति एजेन्सीले स्टेसन रिसोर्ट नै चलाएका छन् । नेपाली गाइडहरूलाई विदेशमा पनि मन पराउँछन् । जसकारण नेपाली रिभर गाइडहरूका लागि अन्य विभिन्न देशमा गाइडकै कामका लागि जाने अवसर प्राप्त छ ।