सुरेशकुमार यादव
काठमाडौँ, असोज ४ गते । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तय गरेको एकता महाधिवेशन तोकिएको समयमा हुने कि नहुने अन्योल देखिएको छ ।
दुवै दलले छुट्टाछुट्टै एकताको महाधिवेशन गर्ने मिति तय गरेको थियो तर महाधिवेशनको पर्याप्त तयारी नभएपछि तोकिएको मितिमा महाधिवेशन हुने कि नहुनेमा अन्योल देखिएको पार्टी स्रोतहरूले जनाएका छन् । समाजवादी पार्टीले असोज २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने भनी निर्णय गरेको थियो ।
राजपा नेपालले कात्तिक २८, २९ र ३० गते महाधिवेशन गर्ने अध्यक्षमण्डलको बैठकबाट तय गरेको थियो तर महाधिवेशनको समय नजिक आइसक्दा पनि पार्टीमा त्यसको कुनै तयारी देखिएको छैन । समाजवादी पार्टीका प्रचारप्रसार प्रमुख प्रशान्त सिंहले भन्नुभयो, “तयारीअनुसार त तोकिएको समयमा महाधिवेशन होला जस्तो देखिएको छैन तर हालसम्म पार्टीले अर्को मिति तोकेको छैन ।”
अहिलेसम्म तोकिएको मिति रद्द नभएको हुनाले के हुने हो, त्यसै भन्न नमिल्ने उहाँले बताउनुभयो । आइतबार पार्टी कार्यकारिणी समितिको बैठक बस्दैछ । सो बैठकबाट महाधिवेशनको विषय केही स्पष्ट हुने उहाँले बताउनुभयो ।
तत्कालीन समाजवादी पार्टीले गत वैशाखमै महाधिवेशन गर्ने मिति तय गरेको थियो तर वैशाख २३ गते नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि वैशाखको मिति रद्द गरी असोज २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो तर यस बीचमा पार्टीको समायोजन सम्पन्न नभएको हुनाले महाधिवेशनलाई प्रभाव पार्न सक्ने प्रचारप्रसार प्रमुख सिंहले बताउनुभयो ।
राजपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पार्टी अध्यक्षमण्डलका एकल निर्णय र अस्पष्ट निर्देशनका कारण महाधिवेशन प्रभावित भएको बताउनुभयो । समाजवादी पार्टीसँग एकीकरण गर्ने नाममा महाधिवेशनप्रति पार्टी नेतृत्वले ध्यान नदिएको बताउँदै उहाँले एकताभन्दा पहिले पार्टीको महाधिवेशन गर्नु उपयुक्त हुने बताउनुभयो ।
राजपामा पहिला महाधिवेशन कि पहिला एकता भन्ने विषयमा पार्टीभित्र विवाद छ । यसैले कात्तिकमा गर्ने भनिएको महाधिवेशन अन्योलमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सदस्यता वितरण गर्ने कार्य सकिएको छ तर त्यसको प्रतिवेदन केन्द्रसम्म आइपुगेको छैन, आजैको मितिबाट लाग्यो भने कात्तिक मसान्तभित्रसम्म जिल्ला तथा प्रदेशको अधिकावेशन सम्पन्न गरेर मङ्सिर–पुसमा महाधिवेशन गराउन सकिन्छ तर त्यसका लागि अध्यक्षमण्डलमा रहनुभएका छ जनाकै प्रतिबद्धता चाहिन्छ ।”
समाजवादी पार्टीसँग एकीकरणबारे राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अनौपचारिक छलफल गर्दै आउनुभएको छ तर हालसम्म कुनै निष्कर्ष आएको छैन । यी दुई पार्टीले यसअघि पटकपटक महाधिवेशनको मिति तय गरेको थियो तर विभिन्न बहानामा सार्दै आइरहेको छ ।