सुरेशकुमार यादव
काठमाडौँ, असोज ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थ र लेनदेनभन्दा धेरै माथि रहेको उल्लेख गर्दै नेपालले चीनसँग विकास साझेदारी गर्न चाहेको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको बताउनुभयो । नेपाल र चीनले एकअर्का देशको सर्वभौमसत्ता र स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छौं । ”
नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सी जिनपिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठी’लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले नेपाल–चीन सम्बन्ध हिमालझँै उच्च र अटल रहेको बताउँदै दुई देशबीच केही समस्या भए त्यसलाई मित्रवत् तरिकाले सुल्झाइने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बलियो भएर पनि चीनको नीति थिचोमिचो गर्ने छैन । एकअर्कामा सहयोगको भावना रहेकोे छ । ”
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै चीनविरुद्ध नेपाली भूमि तथा आकाश कतै प्रयोग गर्न नदिने दृढता व्यक्त गर्नुभयो । उहाँले चीनले क्रान्ति मात्र होइन, आर्थिक समृद्धिको समेत नेतृत्व गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरूले विकास गर्दैनन् भन्ने टिप्पणी बुर्जुवाहरूको छ तर चीनले विकास गरेर देखाइदिएको छ । हरेक चुनौती सामना गर्ने क्षमता चीनसँग छ । चीन आफ्नै बलमा शक्तिशाली देश
बनेको हो । ”
प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक उपलब्धि प्राप्त गरी आर्थिक समृद्धिको यात्रामा हिँडेको बताउनुभयो । माक्र्सवादलाई नेकपाले आफ्नै तरिकाले स्थानीयकरण गरेको बताउँदै उहाँले समृद्धिका लागि कम्युनिस्ट पार्टीको भूमिका अपरिहार्य छ भन्नुभयो । उहाँले कम्युनिस्ट पार्टीमा विचार, अनुशासन र एकता आवश्यक रहेको र त्यसले नै आर्थिक समृद्धिमा सहयोग पु¥याउने बताउनुभयो ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरको सम्बन्ध रहेको बताउनुभयो । चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान् बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान् हु वेन साङको लुम्बिनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाहजस्ता कुराले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा आधारभूत मान्यता हुन् । ”
अध्यक्ष प्रचण्डले एक चीन नीतिलाई नेपालले दृढतापूर्वक अवलम्बन गरेको बताउँदै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिइने स्पष्ट गर्नुभयो । चीनको बीआरआई परियोजनाले नेपालको पूर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगिकीकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको बताउँदै उहाँले भन्नुभयो, “यस पृष्ठभूमिमा सरकारको यथोचित तयारीका साथ चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण हुनेमा हामी विश्वस्त छौँ । ” उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको लामो अनुभवबाट शिक्षा लिँदै नेपाली विशेषताअनुसार कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्ने प्रयत्न गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा लागिपरेको छ । ”
कार्यक्रमको अध्यक्षता गर्नुभएका उपप्रधानमन्त्री एवं नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सीको विचारधारा विश्वमै फैलिँदै गएको बताउनुभयो । उहाँले चीनमा सी विचारधाराबाट अर्थतन्त्र अगाडि बढिरहेको र त्यहाँको आर्थिक विकासबाट नेपालले पनि धेरै कुरा सिक्नसक्ने स्पष्ट गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताउनुभयो । उहाँले आफ्नो क्षमता बढाउन र शुद्धीकरणमा जोड दिन नेकपालाई सुझाव दिनुभयो । नेपाल दक्षिण एसियामै विशेषतायुक्त भूराजनीतिक क्षेत्र रहेको बताउँदै उहाँले भन्नुभयो, “त्यही भएर हामी बीआरआई परियोजना लिएर आएका छौँ । यसमा राष्ट्रपति सीले नेपालसँग हात मिलाएर काम गर्न चाहनुभएको छ । ” उहाँले नेपालले लिएको आर्थिक समृद्धिको नीतिमा चीनले खुलेर सहयोग गर्न चाहेको स्पष्ट पार्नुभयो ।
उद्घाटनपछि पहिलो सत्रको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागका काओ लीले चीनले गरिबी निवारणका लागि गरिरहेको काम र बनाएको योजनाबारे जानकारी गराउनुभएको थियो । चीनले ग्रामीण क्षेत्रमा रहेको गरिबी हटाउन विशेष योजना बनाएको र त्यसका लागि काम पनि सुरु भइसकेको जानकारी उहाँले दिनुभयो ।
यसैबीच कार्यक्रममा भाग लिन आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङले नेपालको समृद्धिको यात्रामा सघाउने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा निकट समयमा हुन लागेको चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे पनि छलफल भएको थियो ।
दुईदिने कार्यक्रमको दोस्रो दिन मङ्गलबार नेकपा विदेश विभाग र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागबीच सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।