मुरारी अधिकारी
धादिङ, असोज ७ गते । नेपालीको महान पर्व दशैँ र तिहारको समयमा अत्यधिक सवारी चापलाई ध्यानमा राखेर नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । नौबिसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुङ्गासम्मको झण्डै १५ किलोमिटर राजमार्ग उकालो, साँघुरो र धेरै मोड भएकोले चालकलाई लेन अनुशासन मान्न कडाइ गरिएको हो ।
उकालो र मोडमा मालवाहक साधन ढिलो गुड्ने र जाम भएको बेला पनि साना सवारीसाधनले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमी सडक क्षेत्रलाई पहिलोपटक ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङ, जनपद र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा धुनीबेँसी नगरपालिकामा गरिएको सरोकारवालाको अन्तत्र्रिmयामा दशैँ, तिहार लगायतका पर्वमा सवारी जाम हुन नदिन विभिन्न उपाय अपनाइने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा खानीखोलामा बसेको सरोकारवालाको बैठकले सवारी जाम हुन नदिन विभिन्न १५ वटा निर्णय गरेको छ । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार, दशैँ अगावै राजधानी आउने दैनिक उपभोग्य वस्तु र दशैँ मान्न बाहिरिने दैनिक १५ देखि १८ हजार सवारीसाधनलाई यातायात व्यवस्थापन गर्न यातायात व्यवसायी जिम्मेवार हुनुपर्छ ।
खानीखोलादेखि मौवाखोलासम्म जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा तत्काल रोक लगाइने भएको छ । पर्वको बेला अत्यधिक सवारी चाप रहने दशैँ अगाडिका एक हप्तासम्म यातायात व्यवस्था विभागमार्फत रोक लगाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।
चाडपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो । राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीसाधनको चाप अत्यधिक हुने र मालवाहक सवारीका कारण नौबिसे–नागढुङ्गा सडक खण्डमा अत्यधिक सवारी जाम हुने गरेको छ । यात्रुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पु¥याउन १५ किलोमिटरका विभिन्न घुम्तीमा २४ स्थानमा प्रहरी पनि परिचालन गरिएको छ ।
प्रहरीले मादक पदार्थ र लागू पदार्थ सेवनको समेत परीक्षण गर्ने छन् । बैठकमा ट्राफिक महाशाखा, काठमाडौँ, ३ नं. ट्राफिक प्रहरी उपरीक्षक प्रकाश रानाभाट, चितवन सडक डिभिजन प्रमुख कृष्ण अधिकारी, नागढुङ्गा प्रहरी, धुनीबेँसी नगरप्रमुख बालकृष्ण आचार्य र गल्छी गाउ‘पालिका प्रमुख कृष्णहरि श्रेष्ठको समेत उपस्थिति थियो ।
मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन् । बढी भार बोकेर काठमाडौँ प्रवेश गरेका मालबाहक सवारीसाधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ । जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रने सयौँ सवारीका हजारौँ यात्रुले यात्राका क्रममा झन्झट बेहोर्नुपरेको छ ।
चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोक्ने बताइएको छ । ठूला ढुवानीका साधन राजधानी प्रवेशमा रोक लगाइएपछि चितवनको कुरिनटार, फिस्लिङ, चुम्लिङटार, जोगीमारा, मझिमटार, मौवाखोला, विशालटार लगायतका स्थानमै रोकिएका छन् ।