शिवा तामाङ
काठमाडौँ, असोज १२ गते । काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक÷एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् ।
उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ । कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र एक÷एकवटा सुविधासम्पन्न पार्क बनाउने काम थालिएको छ ।
काठमाडाँैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम उपलब्ध गराएको जानकारी दिनुभयो । महानगर प्रमुख शाक्यले भन्नुभयो, “हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवद्र्धनको काम गर्दै आएका छौँ । सबै नगरपालिकालाई बराबर रकम दिएका छौँ, कसैलाई पुग्ला कसैलाई नपुग्ला तर भोलिका दिनमा समीक्षा गरेर अगाडि बढ्नेछौँ ।”
उहाँले नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न ठाउँबाट ती ठाउँ हेर्न आउने छन्, यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाको सहयोगमा अन्य नगरपालिकाले भएका खाली जमिनको सदुपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटकका सुविधाका लागि पार्क निर्माणको काम अगाडि बढाएका हुन् ।
सो रकम महानगरपालिकाले सबै नगरपालिकालाई प्रदान गरिसकेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । सोही रकम खर्च गरी सबै नगरपालिकाले आफ्नो क्षेत्रमा खाली रहेका र उपयुक्त स्थान छनोट गरी पार्क निर्माणको अवधारणालाई साकार पार्ने काम सुरु गरेका हुन् ।
राजधानीका खाली स्थानको सदुपयोगका लागि सहरी विकास आयोगले नक्सा डिजाइन र अनुमानित लागत समेतको खाका तयार पारेर स्थानीय तहलाई पार्क निर्माणको जिम्मेवारी दिएको छ । त्यसैगरी सबै नगरपालिकाले पनि पार्क निर्माण गरेपछि साँझ, बिहान सुस्ताउने, शारीरिक व्यायाम, बालबालिका खेल्ने र ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थानको सुविधा उपलब्ध हुनेछ ।
कीर्तिपुर नगरपालिकाले गत वर्ष नै करिब ५५ रोपनी जमिनमा युद्ध स्मारक पार्क निर्माणको काम सुरु गरिसकेको छ । सो पार्कले कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र १० का खाली जमिनको सदुपयोग हुनेछ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानअन्तर्गत मूर्तिकला विभागसँगको सहकार्यमा पार्क निर्माणस्थलमा नेपाल एकीकरणका बेला योगदान पु¥याउने योद्धाहरूको ढुङ्गाको मूर्ति बनिसकेको छ । बाँकी क्षेत्रमा पनि आगन्तुक आएर बस्ने, शीतल ताप्ने स्थानहरूको
निर्माण हुँदैछन् । तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले नगरको वडा नं. ३ मा १० रोपनी क्षेत्रफलमा बन्ने पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अगाडि बढेको जानकारी दिनुभयो ।
त्यसैगरी चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं. ११ का अध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरि नगरले वडा नम्बर १३, कङ्काली मन्दिर परिभ्रमण क्षेत्रमा पर्यापर्यटन एवं ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र तयार पार्नका लागि सो रकम खर्च गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रको डीपीआर तयार गरी धमाधम पर्खालले घेर्ने काम भइरहेको बताउनुभयो ।
दक्षिणकाली नगरपालिकाका इन्जिनियर मनोज बुढाथोकीले सो रकम सदुपयोग गरी बनाइने पार्कको डीपीआरका लागि सर्वेक्षण सकिएको र छिट्टै डीपीआर बनेपछि काम सुरु हुने जानकारी दिनुभयो । कागेश्वरी मनोहरा नगरपालिकाका सूचना अधिकारी लिजना खड्काले महानगरपालिकाबाट प्राप्त बजेटको ७५ लाख रुपियाँ कागेश्वरी धाम जाने बाटोमा ढुङ्गा ओछ्याउने काममा खर्च भइसकेको जानकारी दिनुभयो । बाँकी रकमको पनि उपयोगले कागेश्वरी धामलाई सुविधायुक्त बनाउने काम भइरहेको जानकारी दिनुभयो । शङ्खरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले पनि यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी सो सहयोगबाट काम भइरहेको जानकारी दिनुभयो । नौवटा नगरपालिकाले महानगरपालिकाको सहयोगमा आ–आफ्नो क्षेत्रमा बनाउने पार्कलगायत संरचनाको प्रस्ताव यस प्रकार छन् ः
युद्ध स्मृति पार्क बन्दै
कीर्तिपुर नगरपालिकाले वडा नम्बर १, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक पार्क निर्माण गर्ने योजना पेस गरेको थियो । करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण गरिने यस पार्कमा घेरा पर्खाल, हरियो उद्यान सहितका संरचना हुने उल्लेख गरेको छ । त्यसको सुरुआत स्वरूप नेपाल एकीकरणका बेलाको झझल्को दिने गरी युद्ध स्मृति पार्कका रूपमा निर्माण सुरु गरेको छ ।
हरित उद्यान निर्माण गर्ने
महानगरबाट प्राप्त सहयोगद्वारा शङ्खरापुर नगरपालिकाले वडा नम्बर ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्ने भएको छ । यस परियोजनामा मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा पर्खाल, वनभोज क्षेत्रमा छहारी, सवारी साधन पार्किङ स्थल हुनेछ । यो परियोजना मन्दिरको पूर्वतर्फ बाटो, पश्चिमतर्फ मन्दिर र जङ्गल, उत्तरतर्फ बाटो र जङ्गल, पश्चिमतर्फ बाटो गरी करिब सय रोपनी सार्वजनिक जग्गामा संरचनाको निर्माण गरिनेछ ।
शहीद पार्क
कागेश्वरी नगरपालिकाको वडा नम्बर १ मा रहेको कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर कागेश्वरी धाम निर्माण गर्ने योजनामा उल्लेख छ । परियोजनाका लागि उत्तरमा शहीद पार्क, दक्षिणमा अड्डा पाटी, पूर्वमा गागल फेदी र पश्चिममा ढकाल गाउँको सीमाभित्रको करिब ५५ रोपनी जग्गालाई सदुपयोग गरिनेछ ।
गोकर्णेश्वर पार्क निर्माण हुने
गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समितिबीच मिति २०७५ माघ ८ गते भएको सम्झौताअनुसार वडा नम्बर ९ जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गरिनेछ ।
यसभित्र ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङसहितको अपाङ्गतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथिएटर, चिन्तन मनन बगैँचा, फूल बगैँचा, जगिङ ट्रायल, अन्तक्र्रिया कक्ष, सेवा कक्ष, गार्ड कक्ष, बगैँचाका सामानहरूको भण्डारण कक्ष, शौचालय तथा खाजा÷खाना खाने क्षेत्र र पार्कभित्र जनावरको प्रवेश रोक्नका लागि वरपर हरियो झाडीको छेकबार सहितको संरचना निर्माण गरिनेछ ।
बूढानीलकण्ठ पार्क निर्माण
बूढानीलकण्ठ नगरको वडा नम्बर ८ हात्तीगौँडामा बूढानीलकण्ठ पार्क निर्माण गर्ने काम भइरहेको छ । यो पार्क करिब १४ रोपनी जग्गाभित्र निर्माण हुनेछ । पार्कमा सबै प्रदेशका अलगअलग डिजिटल बोर्ड रहनेछन् । जसमा सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाहरू, स्थानीय तहहरू समेतको सिमाना, नाम, क्षेत्रफल, प्रशासनिक एकाइ र ती क्षेत्रहरूको मुख्यमुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरू उल्लेख गरिएको सूचना सहितको डिजिटल नक्सा हुनेछ । त्यस्तै हिमाल, पहाड र तराईको झल्को दिने खालको भौगोलिक स्वरूपको संरचना पनि निर्माण हुँदैछ ।
तारकेश्वर धाम निर्माण गरिने
तारकेश्वर नगरपालिकाले वडा नम्बर ३ धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्ने भएको छ । चारैतिर सार्वजनिक जङ्गल रहेको भूमागको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुने यस धाममा महादेव, सन्त–महन्त बस्ने कुटी, पोखरी, सत्तल, धामसम्म आवतजावत गर्ने बाटा, सिँढीहरू तथा वरपर हरियाली क्षेत्र निर्माण हुनेछ ।
गणेशमान स्मृति पार्क
नागार्जुन नगरपालिकाले वडा नम्बर ६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्ने प्रस्ताव महानगरमा पेस गरेको छ । करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्क निर्माणको काम थालिएको हो ।
आधुनिक तथा मौलिक पार्कमा नागार्जुन नगरपालिकाको वडा १ देखि १० मा रहेका ऐतिहासिक, पुराताìिवक, धार्मिक र प्राकृतिक विशेषताहरू झल्कने आकृतिहरू तयार गरिनेछन् । त्यस्तै गणेशमान सिंहद्वारा वृक्षरोपण भएको यस क्षेत्रको उचित संरक्षण गरी गणेशमान सिंहको शालिक स्थापना पनि गरिने योजना रहेको छ । साथै, पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रूपमा झल्कने आवश्यक व्यक्तित्वहरूका पहिचान, घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याउने मार्गबारे यथोचित सूचना सम्प्रेषण गर्ने तथा अनुसन्धानमूलक कार्यमा सहयोग पु¥याउने रमणीय स्थान बनाइनेछ ।
सांस्कृतिक पर्यटन क्षेत्र बनाइने
चन्द्रागिरि नगरले वडा नम्बर १३ मा कङ्काली मन्दिर परिभ्रमण क्षेत्रमा पर्यापर्यटन एवं ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ । यसले करिब २६ रोपनी क्षेत्रफल ओगट्नेछ ।
बालउद्यान बन्दै
दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा रहेको गोरखनाथ मन्दिरबाट करिब तीन सय मिटर माथिसम्म परम्परागत सिँढी, गोलाइ आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बालउद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खाल सहितको संरचना बन्ने क्रम जारी छ ।