logo
२०८१ मंसिर ९ आईतवार



मुटुरोगले युवालाई पनि पिरोल्दै

मुख्य समाचार |


मुटुरोगले युवालाई पनि पिरोल्दै


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १३ गते । एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उहाँलाई हृदयाघात के हो भन्ने थाहै थिएन । अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो ।
यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि दुई वर्षपहिले हृदयाघातका कारण शल्यक्रिया गर्नु परेको थियो । उहाँ पनि समयसमयमा चिकित्सकको फलोअपमा हुनुहुन्छ ।
युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन् ।
मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले अव्यवस्थित जीवनशैलीका कारण युवापुस्ता मुटुरोगको चपेटामा परेको बताउनुभयो । डा. अनिलको नेतृत्वमा केही वर्ष पहिले स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले संयुक्त रूपमा गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको थियो ।
मुटुरोगसम्बन्धी जनचेतना नभएका कारण मानिसहरू मुटुरोगको सिकार हुने गरेको भन्दै पछिल्लो समय आफ्नो स्वास्थ्यबारे केही चेतना भने आएको चिकित्सकहरूको भनाइ छ । पहिले–पहिले बिरामीहरू औषधिसमेत खान मान्दैनथे भन्दै डा. अनिलले थप्नुभयो, अहिले बिरामीमा रोगसम्बन्धी जनचेतना भएकाले उपचारमा सजिलो भएको छ । ” खानपान र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या वृद्धि भइरहेको भन्दै डा. अनिलले युवापुस्तामा मुटुरोग बढिरहेकाले पछि समस्या निम्तनसक्ने बताउनुभयो ।
वरिष्ठ मुटुरोग सर्जन डा. अनिल भट्टराईले आफूले वार्षिक चार–पाँचजना २० देखि २५ उमेर समूहका युवाको शल्यक्रिया गर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले मुटुरोग घट्नेभन्दा पनि बढिरहेको आफूले पाएको बताउँदै युवापुस्ताले खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । डा. भट्टराईले खासमा ४० वर्षदेखि ६० वर्षको बीचको व्यक्तिलाई मुटुरोग धेरै हुने सम्भावना रहेको तर २० देखि ४० वर्षसम्मै मुटुरोग देखिनु खानपानका कारणले भएको बताउनुभयो ।
उहाँले २० देखि ४० वर्षमै मानिसहरूले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षमाथि नियमित रूपमा मुटुको परीक्षण गराइरहनुपर्ने भन्दै शरीरमा सुगर एक सयभन्दा कम, रक्तचाप १२०÷८०, कोलस्ट्रोल एक सय मिलिग्रामसम्म हुनुपर्ने बताउनुभयो ।
विश्व मुटु महासङ्घका अनुसार विश्वमा बर्सेनि एक करोड ७५ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गर्छन् । विश्व स्वास्थ्य सङ्गठनले यही अवस्था जारी रहे सन् २०३० सम्ममा मुटुरोगबाट मर्नेको सङ्ख्या वार्षिक दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विकासोन्मुख राष्ट्रहरूमा हृदयाघातका कारण मृत्यु हुनेको सङ्ख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो सङ्ख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान छ ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले हाल नेपालमा ७५ लाख मानिस मुटुरोगी भएको अनुमान गर्नुभयो । नेपाल हृदयरोग निवारण संस्थाका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलस्ट्रोलको समस्या छ । यस्तै छ प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुको समस्या छ । डा. रेग्मीले ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने उल्लेख गर्दै ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने बताउनुभयो । चालीस प्रतिशत नेपालीले चुरोट, सुर्ती, रक्सी सेवन गर्छन् भने अधिकांश नेपालीलाई तनाव छ । रेग्मीका अनुसार मुटुरोगमा यी सबै कारक तŒव पर्छछन् ।
मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवालले विश्वका धेरै मानिस मुटुरोगबाट पीडित रहेको बताउनुभयो । उहाँले असन्तुलित खानपान, व्यायामको अभाव जस्ता कारण नेपालमा पनि मुटु रोगीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बताउनुभयो । डा. सिलवालले मुटुरोग विकासशील देशमा खतरापूर्ण बन्दै गएको भन्दै नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने झन्डै एक चौथाइ जनसङ्ख्यालाई उच्च रक्तचाप हुने खतरा रहेको बताउनुभयो । उहाँले मुटुरोगको मुख्य कारणका रूपमा उच्च रक्तचाप भएकाले रक्तचाप नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । उहाँले नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु नखाएमा मुटुरोगको जोखिम कम हुने बताउनुभयो ।
यसैबीच विश्व मुटु महासङ्घको आह्वानमा आइतबार संसारभर विश्व मुटु दिवस मनाइयो । ‘आफ्नो मुटुको आफैँ ख्याल गरौँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको हो । विश्वव्यापी रूपमा बढ्दै गएको मुटुरोगबारे जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष विश्व मुटु दिवस मनाइने गरिन्छ । नेपालमा पनि विविध कार्यक्रम गरी विश्व मुटु दिवस मनाइएको छ । नेपाललगायत विश्वका १५० भन्दा बढी देशमा मुटु दिवस मनाउने गरिन्छ । मुटुरोग परीक्षण, मुटुरोगबारे जनचेतना तथा रोकथामका उपाय, प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरेर नेपालमा पनि विश्व मुटु दिवस मनाइयो । नेपाल हृदयरोग निवारण संस्था, सेभ द हार्ट, हार्ट नेटवर्कलगायतका सङ्घसंस्थाले मुटुसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?