गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गर्नुभएकोे छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महìवपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ ।”
उहाँले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गर्नुहुँदै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकतामा जोड दिनुभएको छ । उहाँले माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित हाम्रो आदर्श परिवार बनाउन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्ने अपेक्षासमेत सन्देशमा गर्नुभएको छ ।