logo
२०८१ मंसिर ९ आईतवार



सी जिनपिङको भ्रमण सर्वाधिक महत्त्वको हुने

मुख्य समाचार |


सी जिनपिङको भ्रमण सर्वाधिक महत्त्वको हुने



चाँदनी हमाल

काठमाडौँ, असोज १७ गते । मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्बन्धित निकायको सक्रियता तीव्र बनेको छ । चीन समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको भ्रमणलाई कूटनीतिक जगत्मा सर्वाधिक महत्त्वका साथ हेरिएको छ ।
भव्य स्वागतको तयारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भन्नुभयो, “चीन र नेपाल भरपर्दा छिमेकी मात्र हैनन्, पारस्परिक हितमा काम गर्ने मित्रराष्ट्र पनि हुन् । चीनका राष्ट्रपति नेपाल आउँदा उहाँको स्वागतमा कुनै कमी नआउने गरी व्यवस्थित र भव्य स्वागत गर्नुपर्छ । ”
नेता पाण्डेका अनुसार घनिष्ठ, ऐतिहासिक कालदेखि सहयोगी, समान दृष्टिकोण, भौगोलिक अवस्थामा जोडिएको नेपाल र चीनको सम्बन्ध प्रगाढ पार्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण सिर्जना गर्नुपर्छ । दुई देशको दुईपक्षीय सम्बन्धलाई दूरगामी ढङ्गबाट सोचेर नेपालको अर्थतन्त्र र समृद्धिलाई योगदान पु¥याउने किसिमले नेपालले तयारी गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । चीनको अखण्डता, स्वाधीनतालाई ख्याल गरी विश्वास जित्ने गरी भ्रमणलाई मर्यादित र अपनत्वपूर्ण बनाउनुपर्ने सुझाव पाण्डेको छ ।
असल मित्रता
नेपालको विकासमा चीनको योगदान ऐतिहासिक कालखण्डदेखि नै उच्च छ । नेपालले चीनको विकासमा सघाउने खालको कार्यसूची पनि यस भ्रमणमा प्रस्तुत गरी सबलता देखाउनुपर्छ । नेता पाण्डेले गोरखापत्रसँग भन्नुभयो, “नेपालका विद्यार्थी पढ्न मात्र चीन गएका छैनन्; अध्यापन, प्राध्यापनमा योगदानसमेत गरिरहेका छन् । त्यसैले अनुसन्धान र खोजमा चीनसँगै सहकार्य गरेर विश्व शक्तिसँग तालमेल मिलाउने बाटोको सुरुआत भ्रमणका क्रममा नेपालले गर्नुपर्छ । ”
योबाहेक अन्तर्राष्ट्रिय जगत्मा काम गरिरहेको संयुक्त राष्ट्रसङ्घलगायत अन्य क्षेत्रीय निकायसँग चीनको समावेशीसँगै साझा दृष्टिकोणमा सामेल गराउने पहलकदमी नेपालले गर्न सके असल मित्रको गुण देखिने भनाइ पूर्वमन्त्री पाण्डेको छ ।
पाण्डे सतर्कतासाथ भन्नुहुन्छ, “चीनका राष्ट्रपति नेपालमा हात मिलाउन मात्र आउनुभएको ठान्नुहुन्न, संसारको आँखा परेको नेपालमा कसैको आशङ्का नपर्ने गरी सबैसँग मिलेर जानसक्ने खालको सन्देश दिने वातावरण भ्रमणमार्फत दिनुपर्छ । ” कार्यसूची तय गर्दा दूरगामी सोचको, भाषाशैली शिष्ट र शालीन तथा आउँदा दिनमा प्रभावकारी रूपमा लागू हुने गरी निर्माण गरिनुपर्छ ।

लगानी प्रवद्र्धन
पूर्वमन्त्री पाण्डेका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला भौतिक उत्पादनभन्दा पनि जैविक र प्राकृतिक उत्पादनसँग नेपाल–चीन साझेदारीमा ध्यान दिनुपर्छ । नेपालमा कडादेखि नरम काठ अनि बुट्यानदेखि ठूला रूख, जैविक विविधता र प्राकृतिक स्रोत प्रशस्त छन् ।
“नेपालमा कृषिको विविध उत्पादन छन् भनेर बुझाउनुपर्छ, जसमा चीनको अनुभव लिने र यन्त्रीकरणमा सहयोग भिœयाउने मेसो मिलाउनुपर्छ”, उहाँको सुझाव छ । पाण्डेका अनुसार ऊर्जामा पनि चीनको आकर्षण बढाउने खालका परियोजनालाई महŒव दिनुपर्छ । यसमा उत्पादन र भविष्यको लामो समयको फाइदाको विश्वास दिलाएर सम्झौता गर्नुपर्छ । त्यस्तै शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा चीनमा नेपालको पहुँच वृद्धि गर्दै आफ्ना उपलब्धि साटासाट गरेर साझेदार बन्ने उपाय खोज्नुपर्छ ।
गौरवशाली विगत
राष्ट्रपति सीको नेतृत्व विकासको विगतलाई पाण्डेले गहिरो विश्लेषण गर्नुभयो । सी आरम्भदेखि नै निकै मेहनती र जिम्मेवार व्यक्ति रहेकोे ठम्याइ उहाँको छ । उहाँको दृष्टिमा चीनको राजनीतिक प्रणाली नै गजबको छ । कोही पनि राजनीतिक सदस्य एकैचोटि माथि पुगेको उदाहरण नरहेको उहाँको भनाइ छ ।
पाण्डेले थप्नुभयो, “राजनीतिक यात्रा पार्टीको सदस्यबाट सुरु हुन्छ तर सदस्यता र उमेर हेरेर हैन, क्रियाशीलता र सिर्जनशीलताका आधारमा उसको प्रवद्र्धन गर्दै लान्छ । यो बीचमा विभिन्न क्षेत्रको जिम्मेवारीमा उसले निर्वाह गरेको सफल भूमिकाको कदरअनुसार पद बढ्दै जान्छ । ”
यही मेसोमा पार्टीको सदस्यबाट अगाडि बढेका सी सहर, जिल्ला, क्षेत्र, प्रान्तका विशेष जिम्मेवारीमा खरो उत्रँदै उच्च पदमा पुग्नुभएको पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार कुनै सदस्यले पार्टीले दिएको जिम्मेवारीअनुसार आफ्नो क्षेत्रमा परिणाममुखी परिवर्तन गर्न सकेन भने सदस्यताबाट उन्मुक्ति पाउँछ । उसलाई राज्यले सामाजिक, आर्थिक क्षेत्रको काममा खटाउने गर्छ । जसको जीविकाको सम्पूर्ण जिम्मा राज्यले लिन्छ र उसलाई उत्पादनशील कार्यमा लगाउँछ । सुरुमा सदस्यता लिँदा एक पटकमा झन्डै २० लाख जनाले लिन्छन् तर सीजस्तो सफल नेतृत्व अति सीमित मात्र निस्कने गर्छ । उहाँले आफ्ना जिम्मेवारीका क्रममा सहर, जिल्लासँगै देशको सोच नै बदल्ने अग्रणी भूमिका निर्वाह गरेकाले नेपालले उहाँबाट सिक्नुपर्ने पाठ धेरै रहेको स्पष्ट पार्नुभयो ।
“सी केन्द्रमा मात्र राम्रो काम गर्ने व्यक्ति हुनुहुन्न, संसारका गतिविधिको गहन विश्लेषण गर्ने क्षमता उहाँमा छ”, पाण्डे भन्नुहुन्छ, “सी अझ निष्पक्ष ढङ्गले हेर्नसक्ने, कटुता कत्ति पनि नदेखाउने, शान्त ढङ्गले देशको पक्षमा दृढतापूर्वक लाग्ने दक्षताले भरपूर हुनुहुन्छ । ”
समृद्ध सी विचारधारा
बजारमा चर्चा चलेजस्तो चिनियाँ राष्ट्रपतिको सी विचारधारा कुनै राजनीतिक विचारधारासँग जोडिएको विषय मात्र हैन; २१औँ शताब्दीको संसारलाई हेरेर समृद्ध बनाउने, विश्वसनीय, शान्तिपूर्ण र पूर्ण विकाससहितको विश्व बनाउने विचार नै पाण्डेका अनुसार सी विचारधारा हो ।
“हरेक मानिस राजनीतिसँग जानिँदो र नजानिँदो तरिकाले जोडिएकै हुन्छ”, पाण्डेले भन्नुभयो, “राजनीतिसँग आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, शिक्षा सबै पाटो जोडिएकै हुन्छ । त्यसैले सी विचारधारा माओवाद, माक्र्सवादजस्तो विचार भनेर टिप्पणी गर्नु ठीक हैन । ” विकासका लागि माटो सम्झाउने, जीवन र जगत् सुधार गर्ने यस्ता विचार भौगोलिक स्वरूपमा सीमित हुनुहुन्न भन्ने मान्यता पाण्डे राख्नुहुन्छ ।
नेपालको कम्युनिस्ट विचारधारा र जनताको बहुदलीय जनवादबाट चीनले केही सिक्न खोजिरहेको छ । नेपालले पनि सी विचारधाराबाट फाइदा लिनुपर्छ । पाण्डेले प्रस्ट्याउनुभयो, “हतियार प्रयोग नगरी समाज परिवर्तन गर्ने ध्येय जबजले राखेजस्तै सी विचारधाराले पनि शान्तिपूर्ण विकास र समृद्धिको उद्घोष गर्छ । नेपालले ग्रहण गर्न मिल्नेजति लिँदा र बुझ्दा नेपाललाई नोक्सान केही हुन्न । ”
मत एकै हुनुपर्छ
हरेक बहुदलीय व्यवस्थामा दलका फरक मत हुनु स्वाभाविक हो । तर चीनको राष्ट्रपतिको उच्चस्तरीय भ्रमणका क्रममा नेपालका हरेक दलले एउटै मत मिलाउनु अर्को जरुरी पाटो रहेको पाण्डे सुझाउनुहुन्छ । मित्रराष्ट्रका प्रमुख आउँदा सम्मानपूर्वक र सकारात्मक रूपमा राष्ट्रहितमा योगदान हुने किसिमले पहल गर्न र बोल्न दलको नेतृत्व र जनताले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?