चाँदनी हमाल
काठमाडौँ, असोज २५ गते । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण शनिबारबाट सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महŒवपूर्ण रूपमा हेरिएको छ ।
नेपाल र चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ । चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रको यात्राले त्यो सम्बन्धलाई विगतदेखि वर्तमानसम्मको डोरीमा बाँधिराखेको छ । भिक्षु फाले आफ्नो यात्रा वृत्तान्तमा बुद्धभूमि नेपालमा आफूले देखेका र भोगेका विषय प्रष्ट लेख्नुभएको पाइन्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनीको भ्रमण गरेको त्यो क्षण अझै पनि अभूतपूर्व यात्रा वृत्तान्त मानिन्छ ।
भिक्षु फाका अनुसार, एसिया भ्रमणपछि चीन फर्केका बेला नानचिङमा बुद्धभद्रसँग भेट भएको थियो । दुवै मिलेर बौद्ध दर्शनका सूत्र प्रतिपादन गरे । सातौँ शताब्दीको सुरुताका नै लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग भएको थियो । चिनियाँ यात्रीको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ नागरिकको आवतजावत बढ्न थालेको पाइन्छ । त्यसैक्रममा १३ औँ शताब्दीको आधाआधीको समयमा नेपालका कलाकार अरनिकोसहितको टोलीले चीन भ्रमण गरी चीनमा नेपालको कला संस्कृतिको प्रसार गरेको सुनौलो इतिहास छ ।
प्राचीन चीनका जीन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमण नेपाल चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदनकुमार भट्टराईका अनुसार नेपाल चीनका सरकार प्रमुखबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ । दुई देशले आफ्नो सम्बन्धलाई सन् १९५५ अगस्त १ मा औपचारिकता दिए । यससँगै द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एकअर्काको समान हैसियतमा सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिन थालियो । नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले भर दिएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार, व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि नै ह्लासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रको रूपमा तिब्बत रहेपछि सन् १९५६ मा तिब्बत सन्धि नेपालसँग भयो । त्यही समयदेखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहन थालेको हो ।
उच्चस्तरीय भ्रमण
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाखमा चीनको औपचारिक भ्रमण गर्नुभयो । चीनको महŒवाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको दोस्रो सम्मेलनमा भाग लिन उहाँ चीन भ्रमणमा जानुभएको थियो ।
सोही क्रममा नेपालले बीआरआईको सदस्य बन्ने अवसर प्राप्त गरेको थियो । चीनले प्रस्तुत गरेको बीआरआईले ल्याउने अवसर संसारका लागि हो भन्ने उद्घोष त्यसबेला चीनका राष्ट्रपति सीले गर्नुभएको थियो । बीआरआई सम्मेलन चीनले अघि सारेको ३८ बुँदे घोषणापत्रको उपशीर्षकअन्तर्गत २३ औँ नम्बरमा नेपाल चीन सीमापार रेल्वेका साथै नेपाल चीन हिमालपारिपारि बहुआयामिक सम्पर्क सञ्जाल स्थापना गर्ने उल्लेख छ ।
त्यसअघि सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गर्नुभएको थियो । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा जानुभएका नेपालका प्रधानमन्त्रीले त्यही समय चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन गम्भीर छलफल भएको थियो । त्यो बेला रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौ वटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था एवं कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ ।
बीआरआई सम्मेलनको प्रतिबद्धता र थप सम्झौता अनुसार नेपालमा चिनियाँ रेल सञ्जाल निर्माणको सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदन तयार भइसकेको जनाइएको छ । नेपाल आएको उच्चस्तरीय चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन गरेको थियो ।
त्यो बेला भएको उच्चस्तरीय सम्झौतालाई व्यावहारिक रूप दिन राष्ट्रपति सीको भ्रमणले महŒवपूर्ण भूमिका खेल्ने जनाइएको छ । सन् २०१६ मा प्रधानमन्त्री ओलीको भ्रमण चीनमा भएको थियो । त्यो बेला भएको व्यापारिक नाकालगायतका विविध क्षेत्रमा चीनको सहयोग उपलब्ध हुने सम्झौता भएका थिए । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको भ्रमण गर्नुभएको थियो ।
उहाँले पनि राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नुभएको थियो । चीनमा रहँदा बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिनुभएको थियो । त्यस्तै, भारतमा सन् २०१६ मा भएको ब्रिक्स र बिमस्टेक विषयक छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसबीचमा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले पटक पटक चीनको भ्रमण गर्नुभएको थियो । एक चीन नीतिप्रति प्रतिबद्ध नेपालले चीनविरुद्ध कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने प्रतिबद्धता निरन्तर जाहेर गरेको छ र यसलाई चीनले उच्च सराहना गर्दै आएको छ ।
चीनको नेपालमा उच्चस्तरीय भ्रमण
नेपाल र चीनबीच औपचारिक सम्बन्ध गाँसिएपछि पहिलो पटक सन् १९५७ मा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाइले नेपाल भ्रमण गर्नुभयो । त्यो भ्रमण जनवरीको २५ देखि २९ सम्म भएको थियो । करिब तीन वर्षपछि सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एनलाइ र उपप्रधानमन्त्री चेन यीले संयुक्त रूपमा नेपाल भ्रमण गर्नुभयो । यो भ्रमण अप्रिल महिनाको २६ देखि २९ सम्म चलेको थियो । सन् १९७५ को फेब्रुअरी २२ देखि २६ सम्म तत्कालीन उपप्रधानमन्त्री चेन सिलियानले नेपालको भ्रमण गर्नुभयो । सन् १९७८ को फेबु्रअरी ३ देखि ६ सम्म नेता देङ सियाओपिङले नेपालको भ्रमण गर्नुभयो । सन् १९८१ को जुन ४ देखि ७ सम्म तत्कालीन प्रधानमन्त्री झाओ झियाङले नेपालको औपचारिक भ्रमण गर्नुभयो ।
सन् १९८४ को मार्च १९ देखि २३ सम्म पहिलोपल्ट चीनका राष्ट्रपति ली सियाननियानले नेपालको भ्रमण गर्नुभएको थियो । आधुनिक चीनको नेपालमा भएको यो नै उच्चस्तरीय भ्रमणको पहिलो खुड्किलो थियो । तत्पश्चात् सन् १९८७ को मे २८ देखि जुन १ सम्म चीनका उपप्रधानमन्त्री चियाओ सीले नेपालको औपचारिक भ्रमण गर्नुभयो ।
सन् १९८९ को नोभेम्बर १९ देखि २१ सम्म चीनका प्रधानमन्त्री ली पेङले नेपाल भ्रमण गर्नुभएको थियो । त्यसैगरी सन् १९८४ को जुलाई १९ देखि २० सम्म उपप्रधानमन्त्री जियान जमिनले नेपालको भ्रमण गर्नुभयो । १२ वर्षपछि सन् १९९६ मा चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्नुभयो । त्यसपछि नेपालमा चिनियाँ राष्ट्रपति स्तरको भ्रमण हुन सकेको थिएन ।
सन् २००१ मे महिनामा चीनका प्रधानमन्त्री झु रोङ्जीले नेपाल भ्रमण गर्नुभएको थियो । त्यस्तै सन् २०१२ को जनवरी १४ मा प्रधानमन्त्री बेन जियाबाओले नेपालको औपचारिक भ्रमण गर्नुभयो । त्यसपछि गत भदौ २३ र २४ गते चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणपश्चात् नै चीनका राष्ट्रपति सीको राजकीय भ्रमण हुने वातावरण बनेको हो ।
समृद्ध चीनको आर्थिक चढाव
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले जनगणतन्त्र चीनको ७० औँ राष्ट्रिय दिवस नेपालमा मनाउँदै गर्दा प्रस्तुत गरेको आँकडा अनुसार सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन करिब ३० अर्ब अमेरिकी डलरमात्र थियो । सन् २०१८ मा अत्यधिक वृद्धि हासिल गर्दै १३६ खर्ब १० अर्ब गार्हस्थ उत्पादन पुगेको छ । योसँगै चीन विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ ।
यस अवधिमा चीनको करिब ७७ करोड जनसङ्ख्या गरिबीको रेखामुनिबाट मुक्त भएका छन् । सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ५९.६ प्रतिशत पुगेको छ । त्यसअघि यो सङ्ख्या १०.६ प्रतिशत थियो । चीनका सहर गाउँमा १ लाख ३२ हजार किलोमिटर क्षेत्रमा रेलमार्गमार्फत रेलसेवा प्रदान गरिएको छ ।
चिनियाँ राजदूतका अनुसार विदेशी मुद्रा सञ्चिति सबैभन्दा धेरै भएको मुलुक चीन बनेको छ । सञ्चार सञ्जाल, मोबाइल, आधुनिक आणविक शक्ति, क्वान्टम साइन्स तथा सुपर कम्प्युटरको निर्माता चीन बनेको छ । प्रविधिमा निकै फड्को मारेको चीन सात दशकमा विश्वशान्ति, विकास, अन्तर्राष्ट्रिय सुशासनमा समेत अब्बल रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा सी विचारधाराको प्रभाव बढेको जनाइएको छ ।
सात दशकअघि १८ देशसँगमात्र कूटनीतिक सम्बन्ध रहेको चीनले हाल १८० देशसँग कूटनीतिक सम्बन्ध विकास गरिसकेको छ । त्यसमध्ये ११० देशसँग चीन विकासको साझेदार बनेको छ । विश्व शान्ति स्थापनाका लागि शान्ति सेना पठाउने राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्यमध्ये चीन अग्रस्थानमा छ । चीनले १६० देशलाई चार अर्ब चिनियाँ युयान सहयोग गरेको छ । चीनले ७० वर्षयता ती देशका करिब पाँच हजारभन्दा बढी परियोजनामा छ लाखभन्दा बढी कामदार विदेशमा अनुभवका लागि पठाएको जनाएको छ । विश्वका ४० भन्दा बढी अल्पविकसित मुलुकमा सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा अगाडि आएको छ ।
सन् २०१३ मा चीनले आफ्नो महŒवाकाङ्क्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स सुरु गरेको छ । जसमा १६० देश एवं अन्तर्राष्ट्रिय निकायसँग साझेदारी गरिसकेको छ । यस परियोजनाअन्तर्गत चीनसँग अन्य देशका निकायसँग ६४ अर्ब डलर बढीका परियोजनामा सम्झौता भइसकेको छ । राजदूत होउले भन्नुभयो, “हामी चीनबाट सर्वोच्च नेतृत्वको नेपाल भ्रमणको प्रतीक्षामा छौँ, मलाई विश्वास छ, यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नवीन ऐतिहासिक सुरुआत गर्नेछ । ” उहाँका अनुसार नेपाल चीनबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएसँगै मित्रवत् सम्बन्ध कायम छ । हिमाल र नदीले जोडेको सम्बन्ध पञ्चशीलका आधारमा अग्रसर रहेको उहाँको भनाइ छ । चीनको क्षमताले भ्याएसम्म नेपालको विकासमा सहयोग गर्ने चीनको नीति रहेको उहाँले प्रष्ट पार्नुभएको थियो ।