नारद गौतम
काठमाडौं, असोज २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ विशेष भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक राजकीय भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्नु भएका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति भवनमा पनि भव्य स्वागत गरिएको छ ।
विशेषरूपमा सजाइएको राष्ट्रपति भवन शीतल निवासमा चीनका अति विशिष्ट पाहुना राष्ट्रपति सी पुग्नु हुँदा राष्ट्रपति भण्डारीले हार्दिक स्वागत गर्नुभयो । उच्चस्तरीय भ्रमणमा नेपाल आउनुभएका राष्ट्रपति सीसँगको औपचारिक भेटवार्तामा दुवै राष्ट्राध्यक्षबीच आपसी हित र द्विपक्षीय सहयोगका विषयमा विस्तृत कुराकानीसमेत भएको छ ।
विशिष्ट पाहुनासँगको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्री पूर्ण सम्बन्ध प्रगाढ छ र अझ विस्तार हुँदै गएको छ भन्नुभयो ।
‘नेपाल र चीन भूगोल र संस्कृतिले नजिकबाट बाँधिएका छन्, सम्बन्धको जग बलियो र अटल छ, बौद्ध दर्शनले दुवै देशलाई मार्गदर्शन गरेको छ’ भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘एक चीन नीतिप्रति नेपाल सधैं प्रतिबद्ध छ र चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिने छैन भन्ने विश्वास दोहो¥याउन चाहन्छु ।’’
विनाशकारी भूकम्पको क्षतिका लागि चीन सरकारले पु¥याएको विशेष सहयोगका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । द्विपक्षीय र बहुपक्षीय सहयोगका क्षेत्रमा नेपाल र चीन दुवै लागिपरेका छन् भन्दै राष्ट्रपति भण्डारीले नेपालको भ्रमण गर्नुभएकोमा राष्ट्रपति सीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । दुई देशका समकक्षीबीच भएको विशेष भेटवार्तापछि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्रसँग कुरा गर्दै सो जानकारी दिनुभएको हो ।
राष्ट्रपति भवनमा भएको विशेष भेटवार्तामा राष्ट्रपति भण्डारीको भनाइपछि चीनका राष्ट्रपति सीले चीन र नेपाल अत्यन्त घनिष्ट छिमेकीका रूपमा रहँदै आएका छौं र नेपालले ‘एक चीन’ नीतिप्रति राख्दै आएको अडानलाई चीन सरकार धन्यवाद दिन चाहन्छ भन्नुभयो ।
उच्चस्तरीय भेटवार्तामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापा, खानेपानी मन्त्री बिना मगरसहित नेपाल सरकार तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।