logo
२०८१ मंसिर ९ आईतवार



सीको नेपाल भ्रमणलाई अतुलनीय, अविश्वमरणीय : सञ्चारमन्त्री

मुख्य समाचार |


सीको नेपाल भ्रमणलाई अतुलनीय, अविश्वमरणीय : सञ्चारमन्त्री
तस्विरः सागर बस्नेत


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका पूर्वाधार विकाससम्बन्धी सम्झौताबाट मुलुकको विकासले काँचुली फेर्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट दुई देशबीच गतिशील सम्बन्ध स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमणको अरु प्रभाव विस्तारै देखापर्दै जानेछन् ।

त्यसले अवश्य नै हाम्रो मुलुकको विकास, समृद्धि, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरणमा काँचुली फर्ने गरी अगाडि बढ्ने छन् ।” नेपाल सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले राष्ट्रपति सीको नेपाल भ्रमणलाई अतुलनीय, अविश्वमरणीय र कोशेढुङ्गा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तयारी, सुरक्षा व्यवस्थापन र प्राप्त उपलब्धिका हिसावले सीको नेपाल भ्रमण असाधारण रुपमा सफल भएको छ ।” उहाँले सञ्चार केन्द्रद्वारा मंगलबार राजधानीमा आयोजित ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, उपलब्धि र कार्यान्वयनको चुनौती’ विषयक कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले दुई देशको राजनीतिक नेतृत्वको बीचमा उच्चप्रकारको विश्वास र समझदारीको वातावरण बनेको बताउनुभयो ।

उहाँले चीनबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण नेपालमा भएको स्मरण गर्दै भन्नुभयो, “गणतन्त्र, संघीयता कार्यान्वय, सुदृढ र स्थिर राजनीतिक व्यवस्था, स्थायी सरकार भएको बेलामा सी को नेपालमा भ्रमण भयो । त्यसैले यो कोणबाट पनि हेरिनु पर्छ कि यसको बहुआयामिक अर्थ रह्यो ।” उहाँले राष्ट्रपति सीको भ्रमणमा आम नागरिक, राजनीतिक दल, सर्वसाधारण नागरिक, मिडिया र नेपालको भेलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा असाधारण स्थिति देखापरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो नै हाम्रा लागि सबैभन्दा खुशी, गौरव र महत्वको विषय हो । यसले ठोस रुपमा केही छाप, सन्देश नेपालभित्र र बाहिर दिएको छ ।” उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले मानव जाति र छिमेकको विकास, निर्माणका योजना, सुख र समृद्धिको अभियानमा हामी साथसाथ रहन्छौं भन्ने सन्देश समेत दिएको बताउनुभयो ।

उहाँले भ्रमणबाट आर्थिक विकास तर्फ लक्षित दीर्घकालीन साझेदारी योजना समेत तय भएको बताउनुभयो । उहाँले थप्नुभयो, “जुन नेपाली जनताको आकांक्षा हो, सुख र समृद्धि हासिल गर्ने । त्यसमा खुलेर चिनियाँ राष्ट्रपति सीले सहयोगको हात बढाउने घोषणा गर्नुभयो ।

” प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल अब भूपरिवेष्ठितबाट भूजडिट राष्ट्रको रुपमा लैजाने’ उद्घोष गर्नुभएको स्मरण गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “त्यसका लागि चिनियाँ राष्ट्रपतिले हामीलाई हौसला प्रदान गर्नुभयो । त्यसमा आफ्नो साथ रहेको र चीन सरकारको योगदान रहने प्रतिबद्धता पनि दोहोर्याउनुभयो ।”

 उहाँले समृद्ध राष्ट्रहरुबाट छिमेकीले पाउनुपर्ने लाभको हिस्सा पनि हामीले पाएको अनुभूति भएको चर्चा गर्दै त्यसमा हामीनै निर्णायक र महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा सम्भावनाको अथाह ढोका खुल्यो । हिजोका सपना आज योजनामा बदलिएका छन् ।

यी योजना अब कार्यान्वयनको तहमा क्रमश जाने छन् ।” उहाँले प्रधानमन्त्री सीको भ्रमण क्रममा भएका सम्झौताले नेपालको पर्यटन, ऊर्जा, सञ्चार, व्यापार, यातायात, संस्कृतिमा चामत्कारिक प्रभाव देखाउँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भ्रमणले दुवै देशको हात अरु कसिलोसित मिलेको छ । चीनको नेतृत्वले अगाडि सारेको वीनवीनको सिद्धान्त व्यवहारमा स्थापित भएको छ ।” उहाँले मुलभूत रुपमा यो भ्रमण विश्वासको तहमा असाधारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथाकै उचाईको र समुद्रकै गहिराइको न्यानो र हार्दिक सम्बन्ध स्थापित भएको छ । त्यसले हामी सबै खुशी छौं । सरकार खुशी छ । नागरिक खुशी हुनुहुन्छ । चीन पनि खुशी रहेको छ ।” उहाँले यो सम्बन्धले वास्तविक रुपमा अन्तर्राष्ट्रिय स्तरको नेपालको इज्जत र प्रतिष्ठा पनि संसार सामु नयाँ विन्दुमा पुर्याएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?