सरोज ढुङ्गेल
काठमाडौँ, कात्तिक १ गते । राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक सात सयदेखि एक हजारको सङ्ख्यामा बिरामी आउने गर्छन् । तीमध्ये ७४ प्रतिशत ट्रमा र बाँकी २६ प्रतिशत सामान्य बिरामी आउने गरेका छन् ।
ट्रमा सेन्टरमा आउने बिरामीको सङ्ख्या पनि दुर्घटनाले निर्भर गर्छ । दैनिक ५१८ देखि ७४० जना दुर्घटनामा परेर उपचारका लागि त्यहाँ आउँछन् । अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवले बिरामीको तथ्याङ्क सार्वजनिक गर्दै आव २०७२÷७३ मा चोटपटक लागेर ओपीडीमा मात्र आउने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेको बताउनुभयो । तीन वर्षको अन्तरालमा अर्थिक वर्ष २०७५÷७६ मा पुग्दा यो सङ्ख्या बढेर ७९ हजार २३९ पुगेको छ । यो सङ्ख्या आकस्मिक कक्षमा आउनेबाहेक हो ।
निर्देशक यादवले आर्थिक वर्ष २०७२÷७३ आकस्मिक उपचारमा आउने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको र आव २०७५÷७६ सम्म पुग्दा बढेर १८ हजार २६३ पुगेको बताउनुभयो । आव २०७२÷७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थिए भने अहिले बढेर चार हजार २४ छन् । आर्थिक वर्ष २०७३÷७४ मा दुर्घटना भएर मृत्यु हुनेको सङ्ख्या दुई दशमलव चार रहेकोमा २०७५÷७६ सम्म पुग्दा मृत्यु हुनेको सङ्ख्या घटेर एक दशमलव ८७ पुगेको बताउनुभयो ।
यादवका अनुसार अस्पतालमा सबैभन्दा धेरै हातखुट्टामा चोट लागेर अस्पताल आउने गरेका छन् । निर्देशक डा. यादवले ट्रमा सेन्टरमा हालसम्म पनि भौतिक पूर्वाधारयुक्त हुन नसकेको बताउँदै हालसम्म सेन्टरमा एमआईआई सेवासमेत नभएको बताउनुभयो । उहाँले वैकल्पिक व्यवस्थाका रूपमा सिटी स्क्यानसमेत नभएको भन्दै यसका लागि सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो । उहाँले ट्रमा सेन्टरमा हाल १० शøयामात्र आईसीयू रहेको जानकारी दिँदै सेन्टरमा कम्तीमा ५० आईसीयू आवश्यक रहेको बताउनुभयो । डा. यादवले सेन्टरमा हातखुट्टामा चोट लागेर आउने ६० प्रतिशत रहेको जानकारी दिँदै टाउकोमा चोट लागेर आउनेको सङ्ख्या २० प्रतिशत रहेको बताउनुभयो । बाँकी अन्य ठाउँमा चोट लागेर आउने गर्छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक दिन दुर्घटनाका कारण तीन हजार पाँच सय मानिसको मृत्यु भइरहेको छ । सङ्गठनका अनुसार वार्षिक रूपमा १२ लाख ५० हजारको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको छ । यस्तै नेपालमा सवारी दुर्घटनाका कारण प्रत्येक दिन पाँचदेखि सात जना र वार्षिक दुई हजारको हारहारीमा मुत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्र साउन र भदौ महिनामा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या महिलाको तुलनमा पुरुष बढी देखिएको बताउनुभयो । उहाँले उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये पुरुष ७६ प्रतिशत र महिला २४ प्रतिशत छन् । तथ्याङ्कअनुसार दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या १६ वर्षमुनिका नौ दशमलव २७ प्रतिशत छन् भने १७ देखि ३५ वर्षका ५३ प्रतिशत छन् । त्यस्तै ३६
वर्षमाथिका ३७ दशमलव छ
प्रतिशत छन् ।
दक्षिण अफ्रिकामा कुल मृत्युको दुर्घटनाबाटै ४० प्रतिशतको मृत्यु हुन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ बाट विश्व ट्रमा दिवस मनाउन सुरु गरेको हो । हरेक वर्ष अक्टुबर १७ मा विश्व ट्रमा दिवस मनाउने गरिन्छ । नेपालमा हरेक वर्ष जनचेतनामूलक कार्यक्रम गर्दै विश्व ट्रमा दिवस मनाउने गरिन्छ ।
एमआरआई सेवा उपलब्ध गराइने यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक रहेको एमआरआई सेवा तत्काल उपलब्ध गराउने बताउनुभयो । राज्यमन्त्री यादवले सरकारले सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्न लागेको जानकारी दिँदै त्यसका लागि आवश्यक काम पनि भइरहेको बताउनुभयो ।