logo
२०८१ जेष्ठ ३ बिहीवार



‘ग्लोबल’ टी ट्वान्टी र नेपालले गुमाएको अवसर

टी ट्वान्टीमै पनि कप्तान पारस खडकाको नेतृत्वमा नेपालले हालसम्म २६ वटा टी ट्वान्टी म्याच खेलेकोमा मात्र ११ मा जित हासिल गर्न सकेको छ । जुन तथ्याङ्क औसतमा कमजोर नै हो ।

मुख्य समाचार |
खेलकुद |


‘ग्लोबल’ टी ट्वान्टी र नेपालले गुमाएको अवसर
ग्लोबल छनोट खेल्न यूएई पुग्को चौध राष्ट्रका कप्तान


ईश्वरचन्द्र झा
काठमाडौं, कात्र्तिक १ गते । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता २०२० मा स्थान सुनिश्चित गर्न ‘ग्लोबल’ छनोट खेलहरु आजबाट सुरु भएको छ । तर नेपालको उपस्थिति भने उक्त प्रतियोगितामा छैन् ।
प्रतियोगितामा टी ट्वान्टी वरियता क्रममा नेपालभन्दा मुनि रहेका राष्ट्रहरु समेत सहभागी हुँदा नेपालको अनुपस्थिति भने चर्चायोग्य छ । टी ट्वान्टी वरियताक्रमको ३७ औं स्थानमा रहेको नाइजेरियाले ‘ग्लोबल’ छनोटको लागि स्थान सुनिश्चित गरेर प्रतियोगितामा सहभागी छन् । वरियता क्रममा १३ औं स्थानमा रहेको नेपाल भने निराश भएर दर्शकमा सिमित हुनेछ ।
जुलाईमा टी ट्वान्टी एशिया कप प्रतियोगिताको उपाधिको होडमा सिंगापुरबाट हार बेहोर्दा नेपाल ‘ग्लोबल’ छनोटबाट बञ्चित हुन पुग्यो । प्रतियोगिताको पहिलो खेलमा कतार विरुद्ध बेहोरेको हार नै नेपालको आगामी यात्रालाई कठीन बनाएको थियो । १९२ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर विरुद्धको फाइनल खेलमा नेपाल ८२ रनको भारी अन्तरले हार बेहोरेको थियो ।
‘ग्लोबल’ छनोट प्रतियोगिताको समूह ए मा स्कटल्याण्ड, नेदरल्याण्ड्स, पपुवान्युगिनी, नामिबिया, सिंगापुर, केन्या र बरमुडा छन् । स्कटल्याण्ड विश्व वरियताको ११ औं स्थानमा छन् । पपुवान्युगिनी १७, नेदरल्याण्ड्स १८ औं, नामिबिया १९ औं, सिंगापुर २१ औं, केन्या २९ र बरमुडा ३० औं स्थानमा छन् ।
समूह बी मा यूएई, आयरल्याण्ड, ओमान, हङकङ, क्यानाडा, जर्सी र नाइजेरिया छन् । दुबईमा दुई सातासम्म चल्ने प्रतियोगितामा समूह विजेता विश्वकप क्रिकेट टी ट्वान्टी प्रतियोगिताको लागि आफ्नो स्थान सुनिश्चित गर्नेछ । समूहमा दोस्रो र तेस्रो हुने राष्ट्र प्ले अफ एक र दुईका लागि छनोट हुनेछ । उक्त प्ले अफको विजेताले अष्ट्रेलियाको यात्रा तय गर्नेछ ।
त्यसैगरी, प्ले अफमा हार बेहोर्ने दुई राष्ट्रले आ आफ्नो समूहमा चौथो स्थानमा रहने टिमसित स्पर्धा गर्नेछ । र विजेताले विश्वकपको यात्रा तय गर्नेछन् । प्रतियोगितामा सेमीफाइनल र प्ले अफ चारसम्मको गरी कुल छ राष्ट्र विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी राष्ट्रहरुमध्ये टेष्ट मान्यता प्राप्त आयरल्याण्ड मात्रै छन् । टी ट्वान्टी विश्वकपमा सहभागिताका लागि आयरल्याण्डले छनोट चरण पार गर्नुपर्ने हुन्छ ।
वर्तमानमा भने विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०१४ कै संस्मरण राख्नुपर्ने हुन्छ । बङ्गलादेशमा सम्पन्न २०१४ को विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले हालसम्म आफ्नो पहिलो र एक मात्र उपस्थिति जनाएको छ । २०१८ मा अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट खेल्ने मान्यता पाएपछि नेपालको उपलब्धी त्यसयता कमजोर देखिएको छ । टी ट्वान्टीमै पनि कप्तान पारस खडकाको नेतृत्वमा नेपालले हालसम्म २६ वटा टी ट्वान्टी म्याच खेलेकोमा मात्र ११ मा जित हासिल गर्न सकेको छ । जुन तथ्याङ्क औसतमा कमजोर नै हो ।
१४ राष्ट्र सम्मिलित प्रतियोगिताबाट छ राष्ट्रले विश्वकप क्रिकेट प्रतियोगिता २०२० को लागि स्थान सुनिश्चित गर्ने समीकरण नेपालको लागि सहज हुने थियो । तर क्रिकेटमा थोरै समय, सीमित लगानी र खेलाडीको अथक मीहिनेतले विश्व स्तरमा छाप छोड्न सफल नेपाली क्रिकेट टोलिले भने महत्वपूर्ण अवसरबाट बञ्चित हुन पुगेको छ । र सम्भवतः ‘ग्लोबल’ छनोटमा खेल्ने अवसर पाएको भए कप्तान पारस खड्काको राजिनामा टर्ने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?