logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रपति भण्डारी यङ्गोनमा  

मुख्य समाचार |


राष्ट्रपति भण्डारी यङ्गोनमा  


म्यान्मा, कात्तिक १ गते । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्माको यङ्गोन शहर आइपुग्नुभएको छ ।

उहाँ आफ्ना प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी रङ्गुन आइपुग्नुभएको हो ।    

उहाँलाई नेपित अन्तरराष्ट्रिय विमानस्थलमा म्यान्मा सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित शहरका प्रमुख म्यो आङले बिदाइ गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत हुनुहुन्छ ।

उहाँको म्यान्मा भ्रमण यही कात्तिक ३ गतेसम्म हुनेछ ।  नेपितमा रहँदा राष्ट्रपति भण्डारीको म्यान्माका राष्ट्रपति मिन्त, स्टेट काउन्सिलर आङ सान सु ची र त्यहाँका सेना प्रमुख मिन आङ ह्यलिङसँग भेटवार्ता भएको थियो ।    

राष्ट्रपति भण्डारीबाट प्राचीन शहर बगान भ्रमण   
   
म्यान्माको राजकीय भ्रमणमा यही असोज २९ गतेदेखि रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज पिन ऊ लिन शहरमा नेपालीहरुद्वारा सञ्चालित दुर्गा मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

सो मन्दिर नेपालीहरुले सन् १९६१(विसं २०१८तिर)देखि सञ्चालन गरेका हुन् । मन्दिरमा राष्ट्रपतिलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले स्वागत गरी पूजाआजा गराउनुभएको थियो ।

उहाँले त्यहाँस्थित पञ्चमुखी शिवको पनि दर्शन गरी पूजाआजा गर्नुभएको थियो । सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।    

 राष्ट्रपतिलाई त्यहाँ अखिल देशीय गोर्खा हिन्दू धार्मिक सङ्घले स्वागत गरेको थियो । राष्ट्रपति भण्डारीले आजै सो शहरको कान्दायजी पार्कस्थित वनस्पति उद्यानको पनि अवलोकन गर्नुभयो । सो उद्यानमा रहेकोे आकर्षक पुतली सङ्ग्रहालको पनि राष्ट्रपतिसहितको नेपाली प्रतिनिधिमण्डलले अवलोकन ग¥यो । नेपाली प्रतिनिधिमण्डलले माण्डले क्षेत्रमा रहेको प्राचीन बगान शहरस्थित बौद्ध मन्दिर, गुम्बा तथा विहारको अवलोकन गरेको थियो ।    

बगान माण्डले क्षेत्रमा पर्ने प्राचीन शहर हो जुन युनेस्कोको विश्व सम्पदा सूचीमा राखेको छ । नवौँदेखि १३ औँ शताब्दीसम्म यो बगान अधिराज्यको राजधानी रहेको थियो । बगानले नै विभिन्न इलाकाहरु जिती पछि आधुनिक म्यान्मा निर्माण गरेको हो ।

बगानमा ११ औँदेखि १३ औँ शताब्दीसम्म चार हजार ४४६ बौद्ध मन्दिर, चैत्य र गुम्बा बनेकामा तीन हजार ८२२ अझै रहेका छन् । धेरै पटकको भूकम्पबाट क्षतिग्रस्त भए पनि समय समयमा पुनःनिर्माण भएका छन् र अन्तरराष्ट्रिय पर्यटकको आकर्षकको केन्द्र बनेका छन् ।    

उहाँ आजै राजधानी नेपितबाट पिन ऊ लिन र बगान शहर हुँदै विशेष विमानबाट पुरानो राजधानी यङ्गोन आइपुग्नुभएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि यही कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?