logo
२०८१ मंसिर १० सोमवार



सूर्यास्त राम्रो देखिने मेघौली आफै अस्ताउँदो

मुख्य समाचार |


सूर्यास्त राम्रो देखिने मेघौली आफै अस्ताउँदो



वसन्त पराजुली

मेघौली, कात्तिक ३ गते । नेपालमै पहिलो पटक विकास भएको जङ्गल सफारीमा आधारित पर्यटन क्षेत्र चितवनको मेघौली अहिले ओझेलमा छ । ‘टाइगर टप्स’को स्थापनासँगै २०२२ सालदेखि वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भइरहेको यो क्षेत्रको प्रचार प्रसार हुन सके मेघौली पनि सौराहा जस्तै अर्को ‘पर्यटक हब’ हुन सक्ने विज्ञहरू आकलन गर्छन् ।
चितवनका पर्यटन क्षेत्रबारे अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक विश्व सुवेदी सम्भावना प्रशस्त भएर पनि मेघौली अझै आझेलमा परेको बताउनु हुन्छ ।
नारायणी र राप्तीको दोभान गोलाघाट (मेघौली) सूर्यास्तको अवलोकनका लागि नेपालमै ख्याति प्राप्त क्षेत्र मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रसँग जोडिएका आठवटा मध्यवर्ती सामुदायिक वन र यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीहरू पनि मेघौलीका विशेष आर्कषण हुन् । यहाँ बाघ, गैँडा जस्ता वन्यजन्तु सहजै अवलोकन गर्न पाइन्छ ।
राइनो पार्क, शिवालय पार्क, थारु सङ्ग्राहलय, सांस्कृतिक घर, हात्तीसार, निकुञ्ज प्रवेशद्वार पनि मेघौलीका आर्कषण हुन् । थारु होमस्टे र थारु परिकारका खाना मेघौलीको मौलिकतामा पर्छन् । यिनलाई बचाइराख्नु जरुरी रहेको सुवेदीको भनाइ छ ।
“मेघौलीको पर्यटन पनि सौराहाको जस्तै जङ्गल सफारी नै हो”, चितवन पर्यटन विकास समितिका महासचिवसमेत रहनुभएका सुवेदीले भन्नुभयो, “नारायणी र राप्ती नदीको तट क्षेत्र भएकाले पनि मेघौली पर्यटकका लागि आकर्षक क्षेत्र हो ।”
२०२२ मा चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स होटल स्थापना भएपछि मेघौलीमा जङ्गल सफारीको पर्यटन विकास भएको हो । यो देशमै पहिलो जङ्गल सफारीको पर्यटन विकास भएको क्षेत्र पनि थियो । २०२९ सालमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको हो । यसपछि मात्रै विस्तारै सौराहामा पनि पर्यटक आउनजान थाले । निकुञ्जभित्रको टाइगर टप्स होटलको विकास भए पनि निकुञ्जबाहिर त्यति होटल विकास हुन नसक्दा मेघौलीले फड्को मार्न सकेन । जसले विस्तारै सौराहाले मेघौलीलाई पर्यटनमा उछिन्यो । समान पर्यटकीय गन्तव्य भए पनि अहिले सौराहा देशकै तेस्रो गन्तव्य बन्यो भने मेघौलीको खासै विकास हुन सकेन । अझै निकुञ्जभित्रका होटलहरू सञ्चालनमा सरकारले रोक लगाएपछि मेघौलीको पर्यटनपछि पर्दै गएको जानकारहरू बताउँछन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे मेघौलीको पर्यटन विकासको सम्भावना देख्नुहुन्छ । “सौराहाको जस्तै एकै किसिमका पर्यटकले मात्रै मेघौलीको विकास हुन सक्दैन । सौराहाभन्दा केही फरकढङ्गबाट पर्यटनको विकास गर्ने हो भने मेघौली चितवनको नयाँ पर्यटकीय गन्तव्य हो”, उहाँले भन्नुभयो ।
हात्तीपोलो अहिले नेपालकै ब्रान्डेड खेल भएको छ । यो नेपालमा पहिलो पटक मेघौलीमा नै खेलाइएको थियो तर अहिले यो खेल हरेक वर्ष सौराहामा मात्रै खेलाइन्छ । पर्यटन प्रवद्र्धनको नयाँ गतिविधिमा पर्ने हात्ती पोलो खेलको जननीस्थल मेघौलीले यसलाई पनि निरन्तरता दिनसक्ने हो भने यस ठाउँले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने देखिन्छ ।
नेपाली सेनाले प्यारासुट जम्पिङको प्रशिक्षणका रूपमा पनि मेघौलीलाई लिने गरेको थियो । जुन प्यारासुट जम्पिङ हेर्नकै लागि आन्तरिक पर्यटकसमेत मेघौलीमा सिजनमा भीड लाग्थ्यो तर अहिले केही वर्षयता प्यारासुट जम्पिङ सेनाले मेघौलीमा रोकेको छ । पर्यटन प्रवद्र्धनमा यसको निरन्तरताको आवश्यकता औँल्याइएको छ ।
प्रदेश ३ सरकारले प्रदेशभित्रका १३ वटा जिल्लामा १० वटा पर्यटकीय गन्तव्य घोषणा गर्दा मेघौलीलाई विशेष प्राथमितामा राखेको बताइन्छ । राइनो पार्क बनाउन प्रदेश सरकारले नै बजेट विनियोजन गरेको हो भने सांस्कृतिक घरका लागि बजेट विनियोजन हुँदैछ । नारायणी नदीमा क्रुज सञ्चालनको तयारी भइरहेका समयमा क्रुजको बन्दरगाह गोलाघाटमै हुने भएकाले पनि मेघौलीको सम्भावना अझै बलियो छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?