प्रकृति अधिकारी
काठमाडौँ, कात्तिक ७ गते । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन ।
नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उहाँका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ । नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ । यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपियाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडाबापत बर्सेनि करिब नौ करोड रुपियाँ आर्जन भइरहेको छ । कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन ।
नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भन्नुभयो, “पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो । बल्ल छरितो सञ्चालक समिति पाएका छौँ । अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौँ । ” विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रष्टको सञ्चालक समिति अब सात सदस्यीय बनेको छ । विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रष्टका कर्मचारी बताउँछन् । गत वैशाख १७ गते नयाँ सञ्चालक समिति पाएको ट्रष्टको हालसम्म दुई वटा बैठक बसेको थाहा भएको छ ।
ट्रष्टको नियमावलीअनुसार लगानीको सबैभन्दा ठूलो क्षेत्र शिक्षालाई बनाइएको छ । विद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था खडा गरी सञ्चालन गर्ने वा गराउने, सामुदायिक शिक्षण संस्था वा सार्वजनिक संस्थालाई अनुदान दिने, उच्च अङ्कसहित प्रवेशिका परीक्षामा उत्तीर्ण आर्थिक विपन्न वा दुर्गम वा पिछडिएका क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्न छात्रवृत्ति दिने, दुर्गम वा पिछडिएका क्षेत्रका विद्यालयमा शिक्षकको तलब भत्ताको निम्ति अनुदान उपलब्ध गराउने व्यवस्था नियमावलीमा छ ।
दुर्गम वा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयको भवन निर्माण वा मर्मत सम्भारका लागि अनुदान दिने, सामुदायिक विद्यालयका शिक्षकको स्तरवृद्धिका लागि विषयगत शिक्षण विधि विषयमा तालिम सञ्चालन गर्न अनुदान दिने, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिकस्तर वृद्धि गर्न कुशल व्यवस्थापन सेवाका लागि अनुदान दिने, प्रवेशिका वा कक्षा १२ को परीक्षामा उच्च अङ्क प्राप्त गर्ने दलित वा पिछडिएका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि एकमुष्ट छात्रवृत्ति रकम उपलब्ध गराउने नियमावलीमा लेखिएको छ ।
त्यस्तै अस्पताल स्थापना, दुर्गम क्षेत्रमा औषधि बैङ्क स्थापना, वृद्धाश्रम वा घाटमा अन्तिम अवस्थाका बिरामीका लागि आश्रय स्थलको व्यवस्था गर्नेलगायतका कार्य ट्रष्टको आम्दानीबाट गरिने स्पष्टरूपमा उल्लेख गरिएको छ । ट्रष्टका सचिव ठाकुरले रकम खर्च गर्न कार्यविधि बनाइने बताउँदै भन्नुभयो, “सञ्चित रकम अझै धेरै पु¥याउन सके बढी क्षेत्रमा लगानी गर्न सकिने थियो । ” विगतमा ट्रष्टको रकम निजी लगानीका बैङ्कमा राख्ने गरिएकोमा हाल त्यसलाई झिकेर सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड र कृषि विकास बैङ्कमा राखिएको छ । ती हरेक बैङ्कमा सरदर २५ करोड रुपियाँका दरले रकम जम्मा गरिएको छ भने वार्षिक नौ दशमलव पाँच प्रतिशत ब्याज पाउने गरेको छ ।
अचल सम्पत्तिका रूपमा काठमाडौँमा चार हजार ४३८ रोपनी र भक्तपुर, नुवाकोट, धनकुटा, काभ्रे, मकवानपुर, सुर्खेत, कास्की र चितवनमा एक हजार ८०५ रोपनी जग्गा छ । गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौँ प्लाजा, लाजिम्पाटको स्ट्याण्डर्ड चार्टर्ड बैङ्क रहेको भवन, टेकुको बिजनेस पार्क, सोल्टी आउटर कम्प्लेक्स, दरबारमार्गस्थित जग्गा आदि घरजग्गा भाडामा दिइएको छ । भक्तपुर सल्लाघारी तीनकुनेको जग्गा, हेटौँडास्थित कान्ति ईश्वरी घर, पोखरास्थित रत्नमन्दिर, चितवनस्थित दियालो बङ्गला आदि घर जग्गा प्रयोगमा नल्याइएकाले तिनीहरूबाट कुनै आम्दानी हुने गरेको छैन ।