शशिधर पराजुली
विराटनगर, कात्तिक ७ गते । स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।
आफूले पाउने सुविधाको रकम/पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उहाँहरू हुनुहुन्छ, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।
स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आउनुभएको छ ।
भीम पराजुली, विराटनगर
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक वर्षको अवधिमा प्राप्त हुने आफ्नो सेवा सुविधाबापतको रकमबाट एउटा सामुदायिक विद्यालय सुधारका लागि खर्च गर्ने योजना बनाउनुभएको छ । हालसम्म दुईवटा विद्यालयमा लगानी गरेको उहाँले बताउनुभयो ।
पहिलो वर्षको आम्दानी विराटनगर–१ को सयपत्री आधारभूत विद्यालयमा खर्च गर्नुभएको थियो । उक्त रकम विद्यालयको कम्पाउन्ड वाल निर्माण, चौरमा माटो पुर्ने, चुहिने छानो फेर्ने र फलामे गेट लगाउने काम भयो ।
दोस्रो वर्षको रकमबाट जागृति आधारभूत विद्यालयमा रङ्गरोगन गर्ने काम भइरहेको छ, प्रमुख पराजुलीले भन्नुभयो ।
प्रमुख पराजुलीले दुई वर्षमा १२ लाख आठ हजार ९९२ रुपियाँ आम्दानी भएको र १२ लाख ३७ हजार २२२ रुपियाँ खर्च गरेको पनि बताउनुभयो । उहाँले लक्ष्मीनारायण गुरुकुल संस्कृत विद्यालयलाई एक लाख ११ हजार १११ रुपियाँ, धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख ११ हजार १११ रुपियाँ प्रदान गर्नुभएको छ ।
त्यस्तै विराटगनरका आगलागीपीडित सीताराम लाल दासलाई ५० हजार रुपियाँ, कर्तव्य पालनको क्रममा हत्या गरिएका सुरक्षा गार्डका परिवारलाई ५० हजार र वरिष्ठ नाटककार राम थापाको नाममा २५ हजार तथा नरसिंहनाथ मन्दिरका लागि २१ हजार रुपियाँ सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।
दिलीप बगडिया, रङ्गेली
रङ्गेली नगरपालिकाकाका प्रमुख दिलीप बगडियाले नगरपालिकाबाट प्राप्त भएको २८ महिनादेखिको सुविधाबापतको रकम छुट्टै बैङ्क खाता खोलेर राख्नुभएको छ । त्यही रकम खर्च गरेर रङ्गेली नगरपालिकालाई वाईफाई फ्री बनाउने योजनामा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
मैले नगरपालिकाबाट प्राप्त गर्ने सबै रकम छुट्टै बैङ्क खाता खोलेर जम्मा गर्दै आएको छु र अहिलेसम्म एउटा पनि चेक काटेको छैन, अहिले नगरभरि फ्री वाईफाई सेवाका लागि पूर्वाधारको काम भइरहेको छ, त्यसका लागि हुने सबै खर्च सोही रकमबाट बेहोर्छु, प्रमुख
बगडियाले भन्नुभयो ।
नगरपालिकाको नौवटा वडाका १२९ स्थानमा वाईफाई फ्री जोन बनाउने योजनाअनुसार अहिले तार र राउटर राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक मसान्तसम्म नगरपालिका पूर्ण रूपमा वाईफाई फ्री नगर बन्ने छ ।
उहाँले थप स्पष्ट पार्नुभयो, अहिलेसम्मको आम्दानीबाट तार, राउटरलगायत आवश्यक पूर्वाधारमा खर्च गर्न पुग्छ होला । त्यसपछिको आम्दानीबाट वार्षिक शुल्क भुक्तानी गर्छु । वाईफाईका लागि सरकारको कुनै रकम खर्च हुन दिन्नँ ।
उहाँले विभिन्न बैठक, सेमिनार आदिमा सहभागिता जनाउँदा प्राप्त भएको भत्ता रकम पनि सोही खातामा जम्मा गर्दै आउनुभएको छ ।
पारदर्शी र मितव्ययी प्रशासन सञ्चालन गर्दै आउनुभएका बगडियाले नगरपालिकाको प्रमुख भएपछि दुईपटक शल्यक्रिया गराइसक्नुभएको छ । भारतको दिल्लीमा भएको आन्द्रा र हर्नियाको शल्यक्रियामा उहाँले नगरपालिकाबाट स्वास्थ्य उपचारका लागि कुनै सुविधा नलिएको बताइएको छ ।
शङ्कर राई, लेटाङ
आफ्नो सेवासुविधाबाट जनताको उपचारमा खर्च गर्नेमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई अग्रस्थानमा हुनुहुन्छ । उहाँले विराटनगरमा उपचार गर्न खर्च जुटाउन नसकेका आफ्नो नगरका बिरामीको रकम तिर्नमा आफ्नो आम्दानी खर्च गरिरहेको बताउनुभएको छ ।
मैले विराट नर्सिङ होममा मात्र तीन लाख रुपियाँभन्दा बढी रकम तिरिसकेको छु, उपचार गराउन जान्छन् खर्च धेरै हुन्छ । मेरो नाममा लेखाएर हिँडिदिन्छन्, तिर्नैपर्छ, तिरिरहेको छु, राईले भन्नुभयो । यसबाहेक विद्यालय, मन्दिर र अन्य सामाजिक विकासको काममा सुविधाबापतको रकम खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।
खड्ग फागो, उर्लाबारी
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट आठ लाख ५० हजार रुपियाँ लगानी गरिदिनुभयो । उहाँले लागत साझेदारी जुटाउन नसक्ने उपभोक्तालाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गर्नुभएको छ ।
प्रमुख फागोले भन्नुभयो, अलिअलि त व्यक्तिगत काममा पनि चलाइयो होला तर धेरै रकम उपभोक्ताले लागत साझेदारी जुटाउन नसकेकाहरूलाई रकम दिएर विकासको काम अगाडि बढाउन सहयोग गर्दै आएको छु ।
उहाँले असहायहरूको शिक्षा र स्वास्थ्य उपचारमा पनि केही रकम खर्च गरेको जानकारी दिनुभयो ।