logo
२०८१ मंसिर १० सोमवार



व्यावसायिक वातावरणमा सुधार, नेपाल एकैपटक १६ स्थानमाथि

मुख्य समाचार |


व्यावसायिक वातावरणमा सुधार, नेपाल एकैपटक १६ स्थानमाथि


विश्वास रेग्मी

काठमाडौँ, कात्तिक ८ गते । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।
सन् २०१९ को सुरुआतमा नेपाल ११०औँ स्थानमा थियो । अर्थतन्त्रका केही महìवपूर्ण सूचकमा भएको सुधारले नेपाल पहिलोपटक सय देशको सूचीभित्र समावेश भएको हो । डुइङ बिजनेसको तथ्य पत्ता लगाउन विश्व बैङ्कले विभिन्न १० वटा सूचकलाई आधार मानेर त्यसैअनुसार छुट्टाछुट्टै रूपमा देशको स्थिति निर्धारण गरेको छ ।
१० सूचकमध्ये ऋण प्राप्ति र अन्तरदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।
त्यस्तै निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको छ । औसतमा ११८ दिनमा बल्ल निर्माणको अनुमति पाउने प्रतिवेदनमा उल्लेख छ । विद्युत्को नियमित आपूर्ति भइरहे पनि व्यवसाय सञ्चालनका लागि विद्युत् प्राप्तिको अवस्थामा भने नेपाल १३५औँ स्थानमा छ । विद्युत् प्राप्तिका लागि ४९ दिन लाग्ने उल्लेख छ ।
सम्पत्ति दर्तामा नेपालले ९७औँ स्थान प्राप्त गरेको छ । यसको प्रक्रिया भने जम्मा छ दिन लाग्ने देखिन्छ । कर भुक्तानीमा भने नेपालको अवस्था कमजोर देखिन्छ । प्रतिवेदनअनुसार नेपाल यसमा सबैभन्दा खराब अवस्थामा अर्थात् १७५औँ स्थानमा छ । कर भुक्तानीमा वर्षमा ३७७ घन्टा लाग्ने उल्लेख छ ।
त्यस्तै कुल नाफा र योगदान दर नाफाको ४१.८ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ । सम्झौता कार्यान्वयनमा पनि अवस्था खास राम्रो छैन । यो सूचकमा नेपाल १५१औँ स्थानमा छ । त्यस्तै सम्झौता कार्यान्वयनका लागि ९१० दिन लाग्ने उल्लेख छ ।
व्यवसाय सञ्चालनको वातावरणमा नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा परेको छ । यो सूचीको सबैभन्दा अगाडि भारत छ । जो समग्र सूचीमा ६३औँ स्थानमा परेको छ । ८९औँ स्थानमा रहेको भुटान दक्षिण एसियामा दोस्रो स्थानमा छ । भुटानपछि नेपाल रहेको छ । नेपालपछि रहेको श्रीलङ्का समग्रमा ९९औँ स्थानमा छ । त्यसपछि पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश र अन्तिममा अफगानिस्तान रहेको छ ।
व्यावसायिक वातावरण सुधारमा उत्कृष्ट प्रयास गरेका देशमध्ये अजरबैजान, बहराइन, बङ्गलादेश, चीन, जिबौटी, भारत, जोर्डन, केन्या, कोसोभो, कुवेत, किर्गिस्तान, म्यानमार, नाइजेरिया, पाकिस्तान, कतार, साउदी अरेबिया, ताजकिस्तान, टोगो, उज्वेकिस्तान र जिम्बाव्बे छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?