logo
२०८१ मंसिर १० सोमवार



प्रधानमन्त्रीद्वारा उच्चस्तरीय भेटघाट

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा उच्चस्तरीय भेटघाट


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औँ शिखर बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वैंकैया नायडुसँग शुक्रवार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन सत्रमा भाग लिनुभएको छ । बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गर्नुभएको थियो ।
राससका अनुसार प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले नाम शिखरसम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन् । शिखर बैठकको उद्घाटन गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले गर्नुभएको थियो ।
उद्घघाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरूले सर्वसम्मतिका आधारमा आउँदो तीन वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन् ।
संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले पनि उद्घघाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो । उहाँले असंलग्न अभियानलाई आधुनिकीकरणको आवाज बन्न तथा अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएको छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि राष्ट्र संघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?