logo
२०८१ मंसिर १० सोमवार



मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष

मुख्य समाचार |


मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष


यलु जोशी

काठमाडौँ, कात्तिक ९ गते । नेवार समुदायले आफ्नो मौलिक संवत्को नयाँ वर्ष ११४० (न्हूँः दँयाः भिन्तुना) मङ्गलबार धूमधामसाथ मनाउने भएका छन् । नेपालमा मात्र नभएर देश विदेशका नेवार समुदायले पनि यस पर्वलाई मनाउने गर्छन् । म्ह पूजा, कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नेपाल संवत् मनाउने गरिन्छ ।
नेपालमा भने काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा, पाल्पा, चित्लाङ, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायतका स्थानमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन नेवारी परम्परा र संस्कृति झल्कने भेषभूषा, बाजागाजा, नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं सम्बर्धनका कार्यक्रम गरिन्छ । यस अवसरमा शुभकामना आदानप्रदान गरी दिनभरि नाचगानका साथ गाउँ, टोल, सहर तथा सडकमा विभिन्न झाँकी एवं ¥याली निकाल्ने गरिन्छ । यसलाई नेपालभाषामा ‘न्हूँः दँयाः भिन्तुना’ भन्छन् ।
नेपाल संवत् ११४० को अवसरमा राजधानीमा पदयात्रा गरिने भएको छ । नेपाल संवत् मूल समारोह समिति ११४० ले आयोजना गर्ने पदयात्रा वसन्तपुरबाट सुरु भएर जैसीदेवल, लगन, जैसीदेवल, भीमसेनस्थान, नरदेवी, बाङ्गेमुढा, असन, मछिन्द्रबहाल, इन्द्रचोक हुँदै सोही ठाउँमा पुगेर कोण सभामा परिणत हुने भएको छ । नेपालभाषा मंका खलले गाडीबाट पनि ¥याली निकाल्ने जनाइएको छ ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले इस्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताका ऋण चुक्ता गरिदिनुभएको थियो । सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुसियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि.सं. ९३७ देखि नेपाल संवत् स्थापना भएको जनश्रुति रहेको छ । उसबेलादेखि सरकारी कामकाजको संवत्का रूपमा चलेको नेपाल संवत् राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालासम्म कायम रहेको पनि जोशीले जानकारी दिनुभयो । प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ । संस्कृतविद् तथा थिमिका स्थानीय गणेशराम लाछीका अनुसार चन्द्रमासका आधारमा कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुने गर्छ । यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक तीन वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?