सुरेशकुमार यादव
काठमाडौँ, कात्तिक ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आउनुभएको छ । उहाँले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई आआफ्ना क्षेत्रमा गएर सरकारले गरेको कामका बारेमा जानकारी गराउन, भइरहेको कामको अनुगमन गर्न पटकपटक निर्देशन दिनुभएको छ ।
असार १६ गते नयाँ बानेश्वरस्थित संसद्भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहे पनि सरकारले गरेका काम जनताका बीचमा पुग्न नसकेको भन्दै सरकारको कामलाई प्रभावकारी रूपमा प्रचार गर्न सांसद, नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने बताउनुभएको थियो ।
गएको भदौ १९ गते पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलले पनि पार्टीका नेता तथा कार्यकर्तालाई सरकारका काम जनतामा पु¥याउन निर्देशन दिइएको थियो । विभिन्न समयमा बसेको सचिवालय बैठकमा पनि सरकारले गरेको कामको प्रचारप्रसार ठीक ढङ्गले नभएको गुनासो प्रधानमन्त्री ओलीबाट हुनेको गरेको छ । पार्टीले नेता तथा कार्यकर्तालाई अभियान नै चलाएर निर्देशन दिए पनि किन काम भइरहेको छैन ? स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेल भन्नुहुन्छ, “साङ्गठनिक संरचना निर्माणले पूर्णता नपाएका कारण केही ढिलाइ भएको हो तर ठूलाठूला आमसभा अभियान नभए पनि सानासाना गतिविधिहरू सुरु भएका छन्, केही प्रतिक्रिया पनि आएका छन् । ’’ उहाँले चाडपर्व सकिएपछि अभियानले तीव्रता पाउने बताउनुभयो ।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले पनि साङ्गठनिक काम नसकिएका कारण अभियान सञ्चालनमा ढिलाइ भएको प्रतिक्रिया दिनुभयो । साङ्गठनिक काम सकिनेबित्तिकै यस्तो अभियान सुरु गर्ने उहाँले बताउनुभयो ।
प्रदेश २ मा पार्टीको आन्तरिक विवादका कारण सबै कामकाज ठप्प छ । प्रदेश २ का अध्यक्ष प्रभु साहले भन्नुभयो, “प्रदेश कमिटीलाई सुसङ्गठित बनाई चाँडै योजना बनाएर अभियान चलाउँछौँ । ” सरकारले गरेको कामका बारेमा मन्त्रीहरूले नै आआफ्ना क्षेत्रमा गएर प्रचार गरिरहेको बताउँदै उहाँले प्रदेश कमिटीमा भएको विवाद समाधान गरेर जनताको बीचमा अभियान लैजाने बताउनुभयो ।
प्रदेश ३ का अध्यक्ष नारायण दाहालले अभियानकै रूपमा राय सङ्कलन, अनुगमन नभए पनि जनतासँगको सामान्य भलाकुसारीमा सरकारका बारेमा प्रतिक्रियाहरू लिइरहेको बताउँदै सरकारले केही गर्न खोजेको जस्तो देखिएको प्रतिक्रियाहरू आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार दीर्घकालीन योजनाका साथ अगाडि बढिरहेको छ तर जनतालाई तत्कालै परिणाम चाहिएको छ । त्यही भएर सरकारले केही गरेको छैन भन्ने भ्रमहरू पाइन्छ । ”
गण्डकी प्रदेशका हितराज पाण्डेले भने पार्टीले पठाएको सर्कुलरअनुसार आफ्नो प्रदेशमा काम भइरहेको दाबी गर्नुभयो । “प्रदेश, जिल्ला, स्थानीय, वडा तहसम्म प्रशिक्षण सम्पन्न गरिसकेका छौँ; अब जनतामा जाने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “कतिपय ठाउँमा जनतासँग साक्षात्कार गरेका छौँ, नेकपा नेतृत्वको सरकारले गरेको कामका बारेमा सुझाव पनि लिएका छौँ । ” सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले आफ्नो प्रदेशले सरकारको कामकारबाहीबारे प्रचारप्रसार गरिरहेको दाबी गर्नुभयो ।