सरोज आचार्य/यलु जोशी
काठमाडौँ, कत्तिक १० गते । योपटक तिथिको घटबढले तिहारका पर्वहरू एकआपसमा केही खप्टिएका छन् भने भाइटीका पनि विशेष प्रकारको छ । त्यसै भएर नेवार समुदायको साविक भाइटीका भोलिपल्ट असोज १३ गते परेको छ ।
शनिबार नै चतुर पक्षी कागको पूजा गरेपछि तिहार सुरु भयो । कात्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको दीपावलीसाथ आराधना गरेर आइतबार लक्ष्मीपूजा गरिँदैछ । साँझ घाम अस्ताएको दुई घन्टा २४ मिनेट समयको हाराहारीको स्थिरलग्नमा व्यापारीले लक्ष्मीपूजा गर्दा लक्ष्मी सो स्थानमा स्थिर रहन्छिन् भन्ने छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार स्थिर लग्न आइतबार साँझ ६ः३० देखि ८ः३० बजेसम्म रहेको छ । यो बेला वृषलग्न पनि परेकाले लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर रहने योग रहेको उहाँ बताउनुहुन्छ । घरको कुनाकन्दरा, अटालिका, बुइँगल कोठा सफा गरेर भकारी सफा गरी लक्ष्मी पूजा गर्ने प्रचलन यहाँ छ । विशाल बजारको महालक्ष्मी, लगनखेलको महालक्ष्मी स्थानलगायत मुलुकका सबै लक्ष्मी मन्दिरमा यो दिन पूजा अर्चना हुन्छ ।
यसै दिन बिहान ११ः५५ बजेसम्म चतुर्दशी तिथि रहेकाले यो समयअगावै झिसमिसेमा यमराजको द्वारपालका रूपमा पूज्य कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । नरक चतुर्दशी भनिने यो बेला अपमार्गको जरासहितको बोटलाई टाउकोमा तीन फन्का घुमाएर नदी तलाउमा नरक बगाउने प्रचलन पनि छ ।
नरकासुर नामक राक्षसको बध श्रीकृष्णले गरेको दिनका रूपमा नरक चतुर्दशी मनाइएको ज्योतिषी शशी भारद्वाज (पशुपति) बताउनुहुन्छ । यो समयपछि साँझ औँसी सुरु भएकाले औँसीको रात लक्ष्मीको पूजा गर्ने र दीपावलीसमेत गर्दा उत्तम हुने उहाँ बताउनुहुन्छ ।
तराईमा काली चौदशको नाममा छोटी दीपावली भन्दै महाकालीको पूजा गर्ने प्रचलन पनि रहेको छ । जनैपूिर्णमाको दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्दा मृत्युपछि सोझै वैतरणी नदी पार हुन्छ भनेर यस दिन डोरो फुकाउने चलन छ ।
सोमबार बिहान ९ः४३ बजेसम्म औँसी रहेको छ । योपटक यसैबेला गाइगोरु पूजा गर्ने र मङ्गलबार ७ः५१ मा प्रतिपदा लागेकाले गोवर्धन पूजा यसै समयभित्र गर्न उपयुक्त हुन्छ । यसपछि द्वितीया तिथि लाग्ने भएकाले बिहान ११ः५५ बजे भाइटीकाको साइत जुरेको छ । नेवार समुदायमा किजापूजा अर्थात् भाइटीका भने यो वर्ष कात्तिक १३ गते मनाइने भएकाले नेपाल सरकारले सो दिन सार्वजनिक बिदा दिएको छ ।
देशमा मात्र नभए विदेशमा समेत तिहारको उमङ्गले छोइसकेको छ । झिलिमिली बत्तीले सबैको घरमा प्रवेश पाइसकेको छ । तिहारकै रौनकमा राजधानीको नयाँ सडकभित्र छिर्नेबित्तिकै बेग्लै अनुभूति हुन्छ । जताततै बत्तीको झिलिमिली विभिन्न प्रकारको फूलहरूले सजिएका पसलहरू लाग्छ, यही नै स्वर्ग छ ।
‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने देव वाणी आत्मसात् गर्दै घरघरमा दीपावली, दीपमाला, दीपमालिका गरी उज्यालो पर्वको उत्सव भरेर समाजलाई सरसफाइ, आस्तिकता, सहभावका ऊर्जा प्रदान गर्ने यो पावन पर्वको विशेष महìव छ, त्यसैले तिहारलाई बत्तीको पर्व पनि भन्ने चलन छ ।
तिहारमा किनमेल पनि निकै हुन्छ । प्रायः मरमसलालगायत सामग्री राखिने असनका पसल यतिखेर ओखर, कटुस, काजु, किसमिस, मिठाई र मिश्रीले भरिभराउ छ । सेलरोटी, रोटी, फिनी, अनर्सा, खुर्मालगायत मिष्ठान्न परिकार तयार पारिन्छ । यति धेरै गतिविधि हुने भएकाले पनि तिहारमा विभिन्न सामग्री आवश्यक हुन्छ ।