नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, कात्तिक १५ गते ।अटोमेटिक अवैध विदेशी पेस्तोल र केही थान म्याग्जिनसहित इलाका प्रहरी कार्यालय कोहलपुरले नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष संदिपजंग शाह लगायत छ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती ८ः३० बजेको समयमा अवैध पेस्तोल सहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले बताउनु भयो ।
प्रहरी नायब उपरिक्षक शाहीका अनुसार नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको मारुती गाडी चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूसए लेखेको अटोमेटिक पेस्तोल एक थान, म्याग्जीन एक थान र लोड गरिएको २ थान बुलेट बरामद गरिएको हो ।
अवैध विदेशी पेस्तोल सहित पक्राउ पर्नेमा तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष शाह सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ रामबाग बस्ने दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जयबहादुर बुढा र प्रितम थापामगर रहेका छन । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले जनाउनु भएको छ ।
सो अवैध हतियार के कति उदेश्यले राखिएको थियो सो बारेमा अनुसन्धान भैरहेको जनाउँदै उनरुले किन त्यहाँ सो हतियार लिएर गएका थिए उक्र सम्बन्धमा पनि
छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तरुण दलका अध्यक्ष शाहसहित पक्राउ परेका पाँचजनाहरुसंग पनि छुट्टा छुट्टै सोधपुछ भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले बताउनु भयो ।
पछिल्लो समयमा आएर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेकै कारण धेरै अपराधिक गतिविधी रोकथाम गर्न सकिएको र गैरकानुनी काममा संलग्न धेरैलाई पक्राउ गरिएको उहाँले बताउनु भयो ।